‘माफी नमागेसम्म माओवादीसँग एमालेको वार्ता, तालमेल र एकताको कुनै सम्भावना छैन’ – Nepal Press
विष्णु पौडेलसँग नेपाल टक

‘माफी नमागेसम्म माओवादीसँग एमालेको वार्ता, तालमेल र एकताको कुनै सम्भावना छैन’

एमालेको त्रास देखाएर कांग्रेससँग बार्गेनिङ गर्दैछन्, तर हामी कुनै दलसँग तालमेल गर्दैनौं

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाँच वर्षअघि आश्चर्यजनक रुपमा नेकपा एमाले र माओवादीबीच भएको गठबन्धन तथा पार्टी एकताका एक मुख्य सूत्रधार हुन् । पार्टीका शीर्ष नेताले समेत थाहा नपाइ दुई पार्टीका अध्यक्ष मिलाउने भूमिकामा उनी थिए ।

नेकपा एकतापछि तीन वर्ष महासचिव बनेका पौडेल अहिले एमालेको उपाध्यक्ष छन् । पछिल्लोपटक चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन भ्रमणमा गएका बेला माओवादी नेताहरुसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको हल्ला पनि चल्यो ।

अझ एक कदम अघि बढेर माओवादी नेताहरुले एमालेसँग पनि छलफल भइरहेको र कांग्रेसले हेप्न खोजे एमालेसँग तालमेल हुने बताउन थालेपछि पौडेल अचम्ममा परे । प्रायः मिडियामा आउन नचाहने पौडेलले नेपाल प्रेससँगको कुराकानीमा प्रष्ट भने- माओवादीसँग संवाद, तालमेल, गठबन्धन वा एकता कुनै पनि सम्भावना छैन ।

एमालेसँग वार्ता भइरहेको झुठो कुरा गरेर माओवादीले कांग्रेससँग बार्गेनिङ गरिरहेको पौडेलको विश्लेषण छ । प्रस्तुत छ, एमाले उपाध्यक्ष पौडेलसँग नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा ।

सत्ता गठबन्धनले संस्थागत रुपमै तलैदेखि माथिसम्म गठबन्धन गर्ने निर्णय गरेपछि एमाले डराएको हो ?

यो सत्तारुढ गठबन्धन बालुवाको हलुवा जस्तो हो । यसकाे कुनै खास अर्थ छैन । यस्ता गठबन्धन एमालेले धेरैचोटि देखिसक्यो । यस्ता धेरै गठबन्धन एमालेले व्यहोरिसकेको हो । गठबन्धन व्यहाेरेर, गठबन्धनलाई परास्त गरेर आफ्नो श्रेष्ठता सावित गर्ने पार्टीको नाम नेकपा एमाले हो । त्यसकारण एमालेका लागि यस्ता गठबन्धनको अर्थ छैन ।

तपाईले गठबन्धन ब्यहोरिसकेको कुरा त गर्नुभयो । हिजो बुटवल, हेटौंडा जस्ता केही स्थानीय तहमा कांग्रेस माओवादी गठबन्धन पराजित भएको मानक र अहिले सरकारमा भएका पाँच दल एक ठाउँ हुँदाको अवस्था एउटै हो र ?

एमालेविरुद्धको गठबन्धन नयाँ होइन । यो गठबन्धनले नेकपा एमालेको श्रेष्ठतालाई चुनौती दिन सक्दैन । गठबन्धनले स्वीकार गरेको यथार्थ के हो भने समकालीन नेपाली राजनीतिमा सर्वाधिक शक्तिशाली राजनीतिक पार्टी एमाले हो । एमालेलाई एक्लै परास्त गर्न सकिन्नँ । मिलेर परास्त गर्न पनि त्यति सजिलो छैन । त्यसकारण एमालेसँग एक्लै जुध्न सकिन्न भन्ने विश्लेषणका साथमा गठबन्धन चाहियो भन्ने उहाँहरुको अभिव्यक्ति छ ।

स्वयं प्रधानमन्त्रीले भनिरहनु भएको छ- एमाले कमजोर छैन, एमाले बलियो छ । एमालेलाई कमजोर ठान्नु हुँदैन । एमालेका विरुद्धमा गठबन्धन भन्ने उहाँहरुले जुन कुरा गरिरहनुभएको छ । यसबाट एमालेको हैसियत के हो भन्ने बताउँछ ।

अब जहाँसम्म पाँच दलको कुरा छ,औंलामा गन्नका लागि त तपाईले गन्दै जानुस् न कति दल गन्न मन लाग्छ । एउटा आफ्नो स्वतन्त्र ढंगले लडेर देशका ७५३ पालिकामध्ये एउटामा चुनाव जित्न सक्ने हैसियत नभएकाहरुलाई तपाईले दलको रुपमा गणना गरेर जति दल भने पनि हुन्छ नि ।

त्यसकारण यो गठबन्धन एमालेसँग तर्सिएर बनेको हो । यो गठबन्धनले एमालेलाई चुनौती दिन सक्दैन । एमालेको विजय यात्रालाई रोक्न सक्दैन ।

हिजोभन्दा फरक त छ नि, संसदको दोस्रो तेस्रो र चौथो अनि पाँचौ दल एमालेविरुद्ध मिल्दैछन् । होइन ? त्यो जनमतलाई के सोच्नुभएको छ ?

यो जनमत चाहिँ तपाईले हिजोको निर्वाचनको नतिजाका आधारमा मूल्यांकन गर्न मिल्दैन । आजको जनमत के हो ? आजको जनमत कुन रुपमा मुखरित भइरहेको छ ? आज जनताले कतातर्फ निर्णय दिने तयारी गरेका छन् ? यो मुख्य कुरा हो । हिजो एमालेको नाममा आएको जनमत खण्डित गरेर हिँडेकाहरुले आज त्यो जनमत बोक्न सक्दैनन् ।

आज मेचीदेखि महाकालीसम्म, पूर्वदेखि पश्चिमसम्म तराईदेखि हिमालसम्म एमालेको पक्षमा असाधारण लहर छ । असाधारण उत्साह र जनममर्थन छ । विभिन्न राजनीतिक दलका नेताहरु प्रवेश गर्नुभएको छ । प्रतिनिधिसभाका सदस्य, प्रदेशसभाका सदस्य,स्थानीय तहका जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरिरहनुभएको छ ।

यसले के देखाउँछ भने एमालेको पक्षमा देश उर्लिएको छ । हामी हिजोको परिणाम होइन, भोलि हुन चुनावको परिणाम देखिरहेका छौं । वैशाख ३० हुने निर्वाचनमा जनताले आजको चेतनाको हिसाबले मत दिनेछन् ।

कांग्रेसका शीर्ष नेता एमालेलाई साइजमा राख्न, केपी ओलीलाई ठेगानमा लगाउन गठबन्धन भन्दैछन्, माओवादीले पनि त्यही भन्दैछ । साइजमा राख्ने भनेर मिल्दा त तपाईहरुलाई अप्ठेरो पर्ला नि ?

हामीले गठबन्धनको संख्यालाई हेरिरहेका छैनौं, समग्र गठबन्धनको हैसियतलाई हेर्ने हो । उहाँहरुले एमालेलाई साइजमा राख्ने होइन,आफ्नो साइज सम्हाले हुन्छ । एमालेलाई देखाउने होइन, आफ्नै अवस्था हेर्ने तयारी गरे हुन्छ । जतिसुकै ताकत लगाएर एमालेलाई रोक्न खोजे पनि, देखाउन खोजे पनि एमालेको श्रेष्ठता उहाँहरुले खण्डित गर्न सक्नुहुन्न ।

आउने चुनावमा नेकपा एमाले एक्लैले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका जLत हासिल गर्ने तयारीका साथ हामी सरिक हुँदैछौं । हामी एक्लै ७० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि जित्ने लक्ष्यका साथ अघि बढेका छौं । कदाचित त्यो लक्ष्य हासिल गर्न सकिएन भने पनि ६० प्रतिशत हामीले कुनै पनि हालतमा सुरक्षित गर्छौं ।

गठबन्धन हुँदा पनि कि नहुँदाको अवस्थामा हो यो लक्ष्य ?

गठबन्धन हुँदा पनि हो । गठबन्धन हुँदा र नहुँदा हामीलाई तात्विक भिन्नता छैन । गठबन्धन हामीले देखिसकेका छौं, व्यहोरिसकेका छौं । एमालेविरुद्धको गठबन्धन पहिलोपटक हुँदैछैन । अघिल्लो निर्वाचनमा एमालेविरुद्ध गठबन्धन भएकै हो, प्रतिपक्षमा रहेको एमालेविरुद्ध कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर उनीहरु पराजित भए । त्यसैले गठबन्धनको त्रास एमालेलाई नदेखाए हुन्छ ।

सत्ता गठबन्धन बाहिरका दलसँग गठबन्धन गर्न नपाइने भनेर शीर्ष बैठकले निर्णय गरेको छ । तर माओवादीले भन्दैछ कि, राति राति एमालेसँग पनि वार्ता भइरहेको छ, यसलाई कसरी बुझ्ने ?

एउटा कुरा म नेपाल प्रेसमार्फत प्रष्ट पार्न चाहान्छु, आउने निर्वाचनमा नेकपा एमालेले कसैसँग गठबन्धन गर्दैन । फाइनल कुरा यही हो हाम्रो । माओवादीसँग त एमालेले तालमेल वा गठबन्धन गर्दै गर्दैन । कांग्रेससँग गठबन्धन गर्दैन । सत्तारुढ कुनै पनि दलसँग गठबन्धन हुँदैन, एमाले आउने निर्वाचनमा एक्लै जान्छ ।

सरकारमा रहेका दलहरुसँग गठबन्धन गर्ने कुरा चाहिँ कल्पनाभन्दा बाहिरको हो । सरकारमा बसेका कुनै पनि दलसँग हाम्रो तालमेल र गठबन्धन हुँदैन ।

रह्यो माओवादीले एमालेसँग वार्ता भइरहेको छ भनेर कांग्रेससँग बार्गेनिङ गरिरहेको कुरा । यो चाहिँ एमाले देखाएर कांग्रेससँग आफ्नो शेयर भ्यालु बढाउन खोज्नुभएको होला । म तपाईमार्फत प्रष्ट पार्न चाहान्छु, नेकपा एमाले र माओवादी केन्द्रका कुनै पनि तहका नेता र कार्यकर्ताका बीचमा घोषित वा अघोषित अर्थात प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि हिसाबले वार्ता भएको छैन ।

एमालेले माओवादीसँग वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन अहिले । केका निम्ति वार्ता गर्ने ? वामपन्थी शक्तिको सरकार गिराएर दक्षिणपन्थी शक्तिको सरकार बनाउन हिँडेको माओवादीसँग केका निम्ति वार्ता गर्ने ? दक्षिणपन्थी गठबन्धनको साझेदार माओवादीसँग एमालेले वार्ता गर्दैन । एमालेका कुनै पनि नेता वा कार्यकर्ताले माओवादीसँग वार्ता गर्दैनन् ।

कुरा त यतिसम्म पनि आयो कि, तपाईहरुबीच चीनमा पनि वार्ता भयो, खासमा तपाई आफैं चीनमा हुनुहुन्थ्यो । के भएको हो ?

त्यो हास्यास्पद कुरा हो । हामीसँग चीनमा कुनै पनि माअ‍ोवादीका नेताहरुसँग कुनै देखभेट वा कुराकानी भएन र त्यो हुन सम्भव पनि थिएन । हामी विदेशी मुलुकमा गएर वार्ता गर्ने कुरामा सहमत हुन सक्दैनौ‌। यस्ता आकाशे खेतीको अर्थ छैन ।

दोस्रो कुरा माओवादीसँग मिल्न सकिने अहिले कुनै सैद्धान्तिक, राजनीतिक र व्यवहारिक आधार वा कारण केही पनि छैनन् । माओवादी दक्षिणपन्थी गठबन्धनको एउटा हिस्सेदार हो । नेकपा एमाले अग्रगामी, प्रगतिशील धारको नेता हो । त्यसैले एमाले र माओवादीबीच अहिले संवाद, सहमति र सहकार्यको कुनै सम्भावना छैन ।

देउवाले बोलेको भिडिओ पनि हेर्नुभयो होला, प्रचण्ड हार्ने चुनाव लड्दैनन्, हामीले लिएनौं भने एमालेसँग मिल्छन् । अझ मलाई प्रधानमन्त्री बनाउने शक्तिलाई अलपत्र पार्दिनँ पनि भन्नुभयो नि ?

ठिक छ त, उहाँले आफूलाई साथ दिनेहरुलाई अलपत्र नपार्नुहोस् । हामीले अलपत्र पार्नुस् भनेका छैनौं । उहाँलाई प्रम बनाउन साथ दिने को को छन् उनीहरुलाई संरक्षण गर्नुस् ।

जहाँसम्म नेकपा एमालेको विश्वास हो, एमाले आजका मितिमा माओवादीसँग सैद्धान्तिक, व्यवहारिक र राजनीतिक तीनवटै कारणले सहकार्य गर्न सक्दैन र त्यो सम्भव छैन । एमाले र माओवादीबीच एकता र सहकार्य सम्भव छैन, चुनावमा तालमेल पनि सम्भव छैन । यतिबेला एमालेले माओवादीसँग वार्ताको आवश्यकता पनि देखेको छैन ।

कांग्रेसलाई त्यही त्रास छ, तपाई सम्भावना छैन भन्नु हुन्छ । कसरी ?

ठिक छ त्रास त कांग्रेसले व्यहोर्ने हो । एमाले देखाएर माओवादीले कांग्रेसबाट केही झार्न खोजेको छ भने झारे हुन्छ । तर एमालेले कुनै पनि मूल्यमा माओवादीसँग यो चुनावमा तालमेल, सहकार्य वा गठबन्धन गर्दैन । किनकि हामीले दक्षिणपन्थी शक्तिको चाकर शक्तिसँग तालमेल गर्दैनौं ।

माओवादीले त वार्ता पनि भइरहेको छ र तर केपी ओलीले संसद विघटन गरेर प्रतिगमन गरेकाे अपराध कबुल नगरेसम्म गाह्रो छ पनि भनिरहेको छ नि ?

प्रतिगमन भनेको के हो ? कम्युनिस्ट पार्टीको सरकार गिराएर दक्षिणपन्थी गठबन्धन बनाउनु प्रतिगमन हो कि,जनादेश खण्डित भएपछि ताजा जनादेशमा जाउँ, जनताका माझमा जाउँ भन्नु प्रतिगमन हुन्छ ? जनताको माझमा जानु प्रतिगमन हो ? हामी वैशाख ३० गते निर्वाचन गर्दैछौं, के त्यो प्रतिगमन हो ? आउने मंसिरभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ला, त्यो प्रतिगमन हो ? यो प्रतिगमन शब्दको पनि हुर्मत लिने काम उहाँहरुले गरिरहनुभएको छ ।

जहाँसम्म केपी ओलीले गल्ती स्वीकार गर्ने कुरा छ,त्यो हास्यास्पद हो । नेकपा एमालेको अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको माझमा ताजा जनादेशका निम्ति जाने निर्णय गरेर कुनै गल्तL गर्नुभएको थिएन । यो कुरा स्थापित भइसकेको थियो । माफी त नेकपाको सरकार गिराएर, नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाएर दक्षिणपन्थी गठबन्धन बनाउने प्रचण्डले र माओवादी नेतृत्वले माग्नुपर्छ । त्यसपछि मात्र वार्ता हुनसक्छ ।

माओवादी र एमालेबीच यसबीचमा एउटा औपचारिक वार्ता भयो,ओलीले १९ पन्ने अभियोगपत्र फिर्तालगायतका शर्त राखेर अपमान गर्नुभयो भन्ने कुरा पनि आयो नि ?

त्यो चाहिँ ठिकै कुरा हो । त्यसबेला वार्ता भएकै हो । त्यतिबेला हाम्रो अध्यक्षले प्रष्टसँग भन्नुभएको हो, नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजनमा लग्ने षडयन्त्रपूर्ण १९ बुँदे आरोपपत्र जुन थियो त्यो प्रतिशोधपूर्ण अपराधिक आरोपपत्र फिर्ता लिनुस् ।

दोस्रो कुरा सभामुखले आफ्नो पदीय अधिकारको दुरुपयोग गर्नुभएको छ । संसदीय दलका सदस्य, जो दलको अनुशासनमा बस्दैनन् उनीहरुलाई निष्कासन गरेपछि १४ जनालाई उहाँले संरक्षण गर्नुभएको छ । कि त तिनीहरुलाई हटाउनुपर्छ । होइन भने उहाँ हट्नुपर्छ वा सभामुखलाई हटाउनुपर्छ भनेकै हो ।

त्यसपछि उहाँले के सोच्नु भएको थियो, तर हाम्रो कुरा त्यही हो ।

तर प्रचण्डले त अहिले पनि बालकोट कुनै पनि बेला जानसक्छु भनिरहनुभएको छ नि ?

माओवादीले कांग्रेसलाई त्रास देखाएर, एमालेसँग मिल्न सक्छौं भनेर कांग्रेससँग बार्गेनिङ गर्छ भने हामीलाई केको टाउका दुःखाइ ? एमालेसँग मिल्छौं भनेर, एमालेसँग वार्ता गर्दैछौं भनेर उहाँहरुले कांग्रेसलाई तर्साउनु हुन्छ भने हामीले केही भन्न सक्दैनौं ।

म तपाईलाई चारवटा कुरा भन्छु-

१ः माओवादीसँग यसबीचमा एमालेको वार्ता भएको छैन र वार्ता कुनै सम्भावना पनि छैन ।

२ः निर्वाचनमा तालमेल वा गठबन्धनको कुनै सम्भावना छैन

३ः माओवादीसँग तालमेल वा एकता अहिले कल्पना गर्न सकिन्नF

४ः एमाले एक्लै चुनाव लड्छ, कसैसँग तालमेल गर्दैन । माओवादीसँग त गर्दै गर्दैन ।

तर एमालेकै बैठकमा पनि वामगठबन्धन र पार्टी एकताको प्रस्ताव त कतिपय नेताले ल्याए नि ?

त्यो व्यक्तिगत कुरा हो, त्यसले एमालेको धारणा प्रतिनिधित्व गर्दैन ।


प्रतिक्रिया

One thought on “‘माफी नमागेसम्म माओवादीसँग एमालेको वार्ता, तालमेल र एकताको कुनै सम्भावना छैन’

  1. सैद्धान्तिक अडान प्रति जनताको चासो रहन्छ । प्राय: निर्बाचनमा जनताले पछार्ने काम यहि चासोले गरेको हुन्छ । कुन दल सैद्धान्तिक धरातलमा छ र कुन पेण्डुलम बनिसक्यो मूल्यांकन गरेर परिणाम दिने शक्ति भनेको जनतानै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर