गुल्मीमा एमालेविरुद्धको गठबन्धनमा कुरा मिलेन, बन्यो पाँच सदस्यीय संयन्त्र – Nepal Press

गुल्मीमा एमालेविरुद्धको गठबन्धनमा कुरा मिलेन, बन्यो पाँच सदस्यीय संयन्त्र

रुपन्देही । स्थानीय तहको निर्वाचनमा गठबन्धनको तयारीका लागि गुल्मीमा सत्तारुढ गठबन्धन दलहरुबीच बसेको बैठकमा दलहरुबीच सहमति जुट्न सकेन । नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा बसेको बैठकले जिल्लाका १२ वटै पालिकामा ‘एमालेलाई क्लिनसीप पार्ने’ रणनीति तथा भागवण्डा मिलाउने बारेमा छलफल भएपनि सहमति जुट्न नसकेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा बसेको बैठक आसन्न निर्वाचनलाई केन्द्रित गरी पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गर्ने निर्णय गरेको पार्टीका जिल्ला सचिव भगतसिंह खड्काले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेता सम्मिलित केन्द्रीय संयन्त्रको बैठकले गरेको निर्देशनअनुसार जिल्ला तहमा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरिएको सचिव खड्काले बताए । उनका अनुसार केन्द्रीय संयन्त्रको निर्देशन अनुसार नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीको संयोजकत्वमा पाँच सदस्यीय संयन्त्र गठन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसी, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला इन्चार्ज गणेश खनाल, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरबहादुर गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना रहेका छन् ।

जिल्ला संयन्त्रका बैठकहरु निरन्तर सञ्चालन गरी गठबन्धन रणनीति बनाउने, भागवण्डा मिलाउने मात्रै औपचारिक सहमति गरेका छन् । बैठकमा सत्तारुढ गठबन्धन दलका जिल्लास्थित नेताहरुको सहभागिता रहेको र भागवण्डाका विषयमा समेत छलफल भएपनि मुख्य पालिकामै नमिलेको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर