११ अन्तर्राष्ट्रिय विमान कम्पनीको रोजाइमा गौतमबुद्ध विमानस्थल – Nepal Press

११ अन्तर्राष्ट्रिय विमान कम्पनीको रोजाइमा गौतमबुद्ध विमानस्थल

रुपन्देही । रुपन्देहीको भैरहवा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा अवको डेढ महिनामा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भएको यो विमानस्थलको परीक्षण उडान भइसकेको छ । यो वर्षको बुद्ध पूर्णिमा परेको जेठ २ गते यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी तयारी भएको विमानस्थल आयोजनाको भनाइ छ । पर्यटन मन्त्रालयले पनि यहींअनुसारको आवश्यक तयारीका लागि मातहतका निकायलाई निर्देशन दिएको छ भने मन्त्री प्रेम आलेले विमानस्थलमै आएर बुद्ध पूर्णिमामा जसरी पनि उडान गर्ने घोषणा गरिसकेका छन् ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाइ कम्पनीहरुलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलंकन एयरवेज, ओमानको सलाम एयवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।

विशेषगरी नेपाली श्रमिकका गन्तव्य मुलुकका हवाइ कम्पनीको चासो बढी छ । तर कुन कुन कम्पनीले उडान सुरु गर्छन् भन्ने अहिलेसम्म यकिन छैन । विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।

यो विमानस्थलबाट आफ्नो उडान भर्नका लागि विभिन्न देशका विमान कम्पनीहरुले चासो देखाएका छन् । पर्यटन मन्त्रालयले यो विमानस्थलबाट आफ्नो व्यवसायिक उडानका लागि विभिन्न उडान कम्पनीहरुलाई पत्र पठाएको उनीहरुले पर्यटन मन्त्रालय तथा आयोजनालाई आफूहरु उडानका लागि इच्छुक रहेको संस्थागत जानकारी गराइसकेका छन् ।

मन्त्री आलेको यो घोषण गरेपनि त्यसअघि आन्तरिक व्यवस्थापनसँगै भारतसँग संयुक्त हवाई मार्ग र वैकल्पिक मार्ग लगायतका विषयमा भने सहमति जुटाउन बाँकी छ ।

विमानस्थलमा परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमले गर्नेछ । वैशाख ९ गतेदेखि पूर्णरुपमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सीधै उडान गर्नका लागि अनुमति मागेको हो । यो बीचमा केही प्राविधिक समस्या नथपिए कुवेतको जजिरा एअरवेजले पहिलोपटक हप्ताको सातै दिन उडान भर्नेछ । उक्त विमान कम्पनीले हाल काठमाण्डौ–कुवेत दैनिक उडान गर्दै आएको छ ।

गौतम बुद्ध विमानस्थलबाट सीधै बुद्धिस्ट मुलुकसँग हवाइ उडान सम्बन्ध स्थापित भएपछि भारतीय ट्राभल्स एजेन्सीसँग निर्भर रहनुपर्ने नेपाली पर्यटन व्यवसायीको बाध्यता हट्ने अपेक्षा उनीहरुको छ ।

अन्य कम्पनीहरूले पनि चाँडै त्यस्तै प्रस्ताव गर्ने प्राधिकरणको अपेक्षा रहेको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । प्रवक्ता कर्णका अनुसार काठमाडौंमा विमानस्थलमा विमान ल्याण्ड गर्न नसक्ने अवस्थामा अव भैरहवामा ल्याण्ड हुनेछन् । भैरहवाका लागि विमान प्रवेश बिन्दु हालका लागि सिमरा मात्रै हो । महेन्द्रनगर, नेपालगन्ज र भैरहवा वैकल्पिक मार्गका लागि नेपालले प्रस्ताव गरेपनि भारतले हालसम्म अनुमति दिएको छैन ।

योसँगै विमानस्थलमा आइपर्ने अन्य समस्या समाधान गर्न भारतसँग संयुक्त हवाई क्षेत्र प्रयोगमा सहमति कायम गर्न विज्ञको सुझाव छ । यसमा कूटनीतिक पहल भएको छैन । प्राधिकरणका प्रवक्ता कर्णले नेपाल र भारतका बीचमा आपसी वार्ता गरेर सहमति कायम गर्नुपर्ने बताए ।

विमानस्थलको आन्तरिक काम भने तीव्ररुपमा भैरहेको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन, सुरक्षा युनिट, आयल निगम, भन्सार स्थापना गर्ने काम भैरहेको विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

भैरहवा विमानस्थलबाट यात्रा सस्तो पर्ने र लुम्बिनी आउने पर्यटक बढ्ने सरकारको अपेक्षा छ । लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ । विमानस्थलको सफल रूपमा सञ्चालनका लागि सरकारीस्तरबाट भारत, चीनलगायत विशेष गरी बुद्धिस्ट मुलुकसँग वार्ता गरी योजना र कूटनीतिक पहल गर्नुपर्ने पर्यटन व्यवसायी माधव नेपालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर