शिवराजमा ‘कान्छी थारु’ शिवकुमारीकाे दावेदारी, कसलाई देला एमालेले टिकट ? – Nepal Press

शिवराजमा ‘कान्छी थारु’ शिवकुमारीकाे दावेदारी, कसलाई देला एमालेले टिकट ?

रुपन्देही । स्थानीय निर्वाचन नजिकिएसँगै कपिलवस्तुको क्षेत्र नं ३ मा पर्ने शिवराज नगरपालिकामा चुनावी सरगर्मी बढेकाे छ । ०७४ सालको निर्वाचनमा  उपमेयरमा निर्वाचित कान्छी युवतीकाे रूपमा चर्चामा  आएकी शिवकुमारी थारु अहिले मेयरकाे आकांक्षी बनेकी छन् ।
कांग्रेसको बलियो संगठन रहेको यो क्षेत्रमा मेयर र उपमेयरसहित एमाले विजयी भएको थियो । २४ वर्षकाे उमेरमा उपमेयर निर्वाचित शिवकुमारी अहिले २८ वर्ष पुगेकी छन् । थारु समुदायको बाहुल्य रहेको यो क्षेत्रमा दावेदारी उनीभन्दा अगाडि राजनीति गरेकालाई चुनौती बनेको छ ।
छोटो समयमा पार्टीमा राम्रो पकड बनाएकी चौधरी पार्टी अध्यक्ष केपी ओलीसँग निकट रहेकोले टिकट ल्याउन सक्ने अनुमान धेरैको छ । ओली प्रधानमन्त्री रहेको बेला भियतनाम, कम्बोडिया लगायतका देशमा वैदेशिक भ्रमण दलमा उनी थिइन् ।
उनी भन्छिन्, ‘म पार्टीको निर्णय जे हुन्छ त्यही मानेर जान्छु, आकांक्षा मेयरमा राखेको छु, काम गरेर देखाउन सक्छु भन्ने प्रमाण ५ वर्षमा यहाँका जनताले बुझेका छन् ।’
शिवराजमै अहिलेका प्रदेश सांसद अर्जुनकुमार केसीलाई एमाले नेताहरूले मेयर पदमा अगाडि सारेका छन् । अन्य व्यक्तिले निर्वाचन जित्न नसक्ने भन्दै पार्टीलाई जिताउने हो भने प्रदेश सभाबाट राजीनामा दिएर नगरप्रमुख पदमा लड्नुपर्ने केसीका समर्थकहरूको तर्क छ ।  अहिलेसम्म केसीले खुलेरै उम्मेदवारी दिने नबताए पनि पार्टीले निर्णय गरेमा पछि नहट्ने सोचमा छन् ।
‘पार्टीबाट एक समूह बाहिर गएको छ, केही असर चुनावमा देखिन्छ, अर्जुन केसीलाई मेयरमा उठाए सजिलै जित्न सकिन्छ भनेर हामीले दबाब दिँदै आएका छौँ’, एक जिल्ला कमिटी सदस्यले नेपाल प्रेसलाई बताए ।
केसीले भने, ‘पार्टीले गर्ने निर्णय मान्न तयार छु, म जे काम खटाए पनि इच्छुक छु तर यही पद चाहिन्छ भनेर मैले भनेको छैन, धेरै साथीहरूले यसका लागि दबाब दिनुभएको छ, जित्नका लागि पनि मेयरमा तपाई जानुपर्छ भनेर भनिरहनुभएको छ ।’
पार्टीबाट निर्णय भएमा नगरपालिकाबाट अहिलेकै मेयर नेत्रराज अधिकारी पनि दोहोरिने इच्छा राखेका छन् । तर त्यसको सम्भावना कम रहेको एमाले नेताहरूकै भनाइ छ । एमालेबाट उनीहरूसहित व्यापार संघको जिल्ला अध्यक्ष रहेका महादेव पोखरेल प्रमुख दाबेदारको रूपमा अगाडि आएका छन् । पार्टी नेताहरूको निरन्तर सम्पर्कमा रहेका पोखरेललाई उम्मेदवारी बनाए व्यापारी क्षेत्रका मत तान्न सक्ने आंकलन उनी पक्षका नेताहरूको तर्क छ ।
कांग्रेस, एमाले र जसपा बलियो रहेको यो पालिकामा अघिल्लो वर्ष कांग्रेसभित्रकै अन्तर्विरोधले एमालेले जित्न सकेको हो । यो पटक पनि कांग्रेसबाट धेरै जना आकांक्षी भिडेको र आफ्नो संगठन थप बलियो भएकाले एमालेले जित्ने दाबी गरेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यो पालिकामा केही समयअघि एमाले प्रवेश गरेका मङ्गलप्रसाद गुप्ताको क्षेत्र पर्ने भएकाले उनीसहित ठूलो समूह एमालेमा आएकाले विभाजनको क्षतिपूर्ति सबै ढाकेको एमालेको दाबी छ ।
जसपाबाट यसअघि नै मेयरको उम्मेदवार बनेका कृष्णकुमार चौधरी उम्मेदवार बन्ने आंकलन छ । उनी यसअघि मेयर शिवराज सुवेदीसँग १५ सयले एमालेसँग दोस्रो भएका थिए । जसपाबाटै रहिश शाह पनि आकांक्षी रहेका छन् ।
अघिल्लो पटक आन्तरिक किचलोले तेस्रो भएको नेपाली कांग्रेसमा अहिले पनि आकांक्षी धेरै छन् ।
नगर प्रमुख पदमा काँग्रेसका छ जनाले आकाक्षा देखाएका छन् । गत निर्वाचनमा उम्मेदवार बनेकादेखि केही नयाँ अनुहार पनि उम्मेदवारको लाइनमा छन् । काँग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल मेयरको आकाक्षी देखिएका छन् ।
जिल्लाको सबै पालिकामा उम्मेदवार मिलाउन मुख्य भूमिकामा रहने खनाल आफैले मेयरमा इच्छा राखेकाले पार्टीभित्रबाट उनी बलियो उम्मेदवार मानिन्छन् ।
त्यस्तै गत निर्वाचनमा राप्रपावाट मेयरका उम्मेदवार र काँग्रेसवाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका अजय थापाले खुलेरै मेयरको उम्मेदवारी घोषणा गरेका छन् । युवाहरूबीच लोकप्रिय बनेका थापाले निर्वाचन लक्षित भेटघाट गर्न थालेका छन् ।
गत निर्वाचनमा उपमेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका हरि पोख्रेल पनि यस पटकको निर्वाचनमा मेयरको आकांक्षी बनेका छन् । आन्तरिक रूपमा नेताहरूलाई भेटघाटमा व्यस्त रहेका पोख्रेल टिकट पाउने बताएका छन् ।
कांग्रेस जिल्ला सचिव प्रेम बहादुर रायमाझी पनि आकाक्षीको लाइनमा छन् । रायमाझी गत निर्वाचनमा नेपाली कांग्रेसवाट मेयर पदका उम्मेदवार थिए । नेपाली कांग्रेसका नेता ईश्वरी पाण्डेले पनि मेयरको टिकट पाउने आशामा छन् । चन्द्रौटाका इमानदार व्यवसायीको रूपमा चिनिएका पाण्डे पार्टीले टिकट दिएको खण्डमा उम्मेदवार बन्ने बताए ।
उनी पछिल्लो समय नेताहरूको तथा गाउँ गाउँ पुगेर राजनीतिक छलफलमा व्यस्त छन् । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेको जम्सेद अलि मियाँले पनि इच्छा प्रकट गरेका छन् । मियाँले खुलेर केही नबोले पनि अन्ततः आफूले टिकट पाउने दाबी गरिरहेका छन् । तर यस पटक पार्टीबाट टिकट नपाए स्वतन्त्र उम्मेदवार नबन्ने उनको भनाइ छ ।
शिवराज नगरपालिकामा गत स्थानीय निर्वाचनमा एमालेले ६ हजार १५५, संघीय समाजवादीले ४ हजार ७६२, राप्रपाले २ हजार ६७१ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर