विवेकशीलमा जन्मियो अर्को असन्तुष्ट समूह, अध्यक्ष मिश्रविरुद्ध आयोगमा पत्र ! – Nepal Press

विवेकशीलमा जन्मियो अर्को असन्तुष्ट समूह, अध्यक्ष मिश्रविरुद्ध आयोगमा पत्र !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको चर्चासँगै विवेकशील साझा पार्टीभित्र चरम विवाद उत्पन्न भएको छ । यसअघिको विवादमा अध्यक्ष रवीन्द्र मिश्रलाई साथ दिएका नेताहरू नै अहिले उनीसँग असन्तुष्ट बनेका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा असन्तुष्ट समूह अध्यक्ष मिश्रमाथि खनिएको थियो । उक्त समूहले राजावादी पार्टीसँग एकता प्रयासका विषयमा जानकारी माग्दा मिश्रले पन्छाउन खोजेको आरोप लगाएको छ । विवादका बीच अध्यक्ष मिश्रले पार्टीका तीन बुँदे निर्णय सुनाए । पार्टीका २६ जना केन्द्रीय सदस्यमाथि कारबाही, प्रदेश संयोजकहरूको हेरफेर र स्थानीय चुनावको तयारीसम्बन्धी निर्णय सुनाएपश्चात् केही केन्द्रीय सदस्यहरूले विरोध गरेका थिए । तर, बैठक समापन गरेर मिश्र हिँडे ।

त्यसपश्चात् असन्तुष्ट समूहको बैठक बसेको थियो । बैठकले अध्यक्ष मिश्रलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त स्पष्टीकरणको जवाफ नआए अध्यक्षलाई नै पदबाट हटाउने चेतावनी असन्तुष्ट समूहका नेताहरूले दिएका छन् ।

असन्तुष्ट समूहका तर्फबाट ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘असक्षम पार्टी अध्यक्ष रवीन्द्र मिश्र विवेकशील साझा पार्टीलाई निरन्तरता दिने पक्षमा छैनन् । उनी पार्टीको आत्मालाई लत्त्याएर विशुद्ध निजी स्वार्थका लागि विवेकशील साझामा प्राप्त राजनीतिक पुँजी राजावादी आन्दोलनमा बुझाउन प्रयत्नशील छन् ।’

‘निरंशुक अध्यक्ष’ भन्दै रवीन्द्र मिश्रलाई कारबाहीको वैधानिक प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । असन्तुष्ट समूहको तर्फबाट मिश्रमाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा पनि पत्राचार गरिएको छ । उक्त पत्रमा बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर रहेको नेता अधिकारीले दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीका १६३ जना केन्द्रीय सदस्यहरूमध्ये ९६ जनाले हस्ताक्षर गर्नुभएको छ । अध्यक्षलाई अपदस्थ गर्न हामीसँग पर्याप्त सङ्ख्या छ ।’

पार्टी प्रवक्ता शरदराज पाठक भने पार्टीको बहुमत सङ्ख्या नेतृत्वसँगै रहेको बताउँछन् । केही व्यक्तिहरूले पार्टीभित्र हुल हुज्जत गरेर सुसंस्कृत राजनीतिलाई बिथोल्न खोजेको उनको आरोप छ ।

पाठकले भने, ‘उहाँहरूले बहुमतको हस्ताक्षर रहेको भनेर भ्रम फैलाउन खोज्नुभएको छ । त्यो नितान्त असत्य हो । विधि, विधान र पद्धति नमानेर हुल हुज्जत र बाहुबलको आधारमा केन्द्रीय समितिमा निर्णय गराउने प्रयास विफल भएपछि केही व्यक्तिले अवैधानिक र अराजक गतिविधि गरेका छन् । तर, पार्टीमा यसको खास असर छैन ।’

विवादका बीच आज पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर पत्रकार सम्मेलन आयोजना गर्दा तनाव उत्पन्न भएको थियो । पार्टी संस्थापनले आयोजना गरेको पत्रकार सम्मेलनकै समय पारेर असन्तुष्ट समूहले पनि पत्रकार सम्मेलन राखेको थियो । यस क्रममा दुवै पक्षले एक–अर्कालाई अराजकता देखाएको आरोप लगाएका छन् ।

पाठकले भने, ‘दुई दिनअघि केन्द्रीय समिति बैठकमा पनि अध्यक्षलाई पाखुरा सुर्किएर आफू अनुकूल निर्णय गराउन नियोजित क्रियाकलाप भयो । आज पनि मुढेबल र डर त्रास देखाएर पार्टीको सुसंस्कृत चरित्रलाई विकृत तुल्याइएको छ । केही अपरिचितहरूको पनि संलग्नता देखिएको छ । यो अत्यन्त दुखदायी हो ।’

असन्तुष्टका नेता अधिकारीले भने संस्थापन पक्षबाटै गुण्डागर्दी गर्न खोजिएको आरोप लगाए ।

उनले भने, ‘हामीले विज्ञप्ति पढिरहेका बेला टेबुलमाथि चढेर खोस्ने र ब्यानर च्यात्ने काम भयो । अध्यक्षबाटै परिचालित व्यक्तिहरूले यसरी गुण्डागर्दी गरेका छन् । हामी अब चुप बस्दैनौँ ।’

दुई पक्षबीच तनाव भएपछि आज कार्यालयमा आयोजना गरिएको प्रदेश संयोजक र इन्चार्जलाई शुभकामना दिने कार्यक्रम पनि बिथोलिएको थियो ।

असन्तुष्ट समूहले आफूहरूसँग बहुमत रहेको दाबी गरे पनि उनीहरूसँग ठ्याक्कै कति सङ्ख्या छ भन्ने यकिन छैन । असन्तुष्ट समूहको नेतृत्व गरेका भिमप्रसाद अधिकारी केन्द्रीय सदस्य हुन् । यस्तै, संगठन विभाग प्रमुख निर्देश सिलवाल, गहेहेन्द्र दाहाल, विराजभक्त श्रेष्ठ, अनिल भेटवाल, सुमित्रा गुरुङ, एसपी शाह सारथी, प्रदीप थापा, सञ्जीवबल्लभ भट्टराई, समुद्रै केसी लगायतका नेताहरू असन्तुष्ट समूहतर्फ खुलेका छन् ।

नेता अधिकारीले मिश्र नसच्चिएको खण्डमा उनलाई हटाएर आफूहरूबिचबाट अर्को अध्यक्ष बनाउने दाबी गरे ।

उनले भने, ‘हामीसँग बहुमत रहेकाले पार्टी फुटाउने कुरै आउँदैन । हामीबीचबाटै सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गर्नेछौँ ।’

राप्रपासँग एकताको विषयसँगै प्रदेश प्रमुखहरूको हेरफेरमा पनि अध्यक्षले एकलौटी गर्न खोजेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर