बहुमत नजुटेपछि विप्लव निर्वाचनमा जाने प्रस्ताबाट पछि हटे, पार्टी विभाजन हुनबाट जोगियो – Nepal Press

बहुमत नजुटेपछि विप्लव निर्वाचनमा जाने प्रस्ताबाट पछि हटे, पार्टी विभाजन हुनबाट जोगियो

स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई भने नरोक्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उक्त प्रस्तावबाट पछि हटेका छन् । पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कपिलबस्तुमा नौ दिनदेखि जारी बैठकमा निर्वाचनमा सहभागी हुने प्रस्तावमा बहुमत जुटाउन महासचिव विप्लवले दुई दिनसम्म केन्द्रीय सदस्यसँग वान टू वान छलफल गरेका थिए । तर, निर्वाचनमा सहभागी हुने प्रस्तावमा पक्षमा बहुमत जुटाउन नसकेपछि विप्लवपछि हट्दै मध्यमार्गी बाटो अपनाएका छन् ।

आइबार दिउँसो बसेको बैठकमा विप्लवले जवाफ दिँदै पार्टी चुनावमा नजाने, जनमत संग्रहको नारालाई लिएर जनतामा जाने तर स्थानीय स्तरमा नेता कार्यकर्तालाई स्वातन्त्र उम्मेदवारी दिन भने नरोक्ने जवाफ दिएका थिए । ‘महासचिव कमरेडले बैठकमा बहुमतको कदर गर्दै मध्यमार्गी प्रस्ताव ल्याउनुभयो । हामीले अब पार्टी चुनावमा सहभागी नहुने भएको छ । चुनाव उपयोग गर्ने बुँदालाई हटाएर राजनीतिक प्रस्ताव पारित गरेका छौं ।’ एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

पार्टी विभाजनलाई रोक्न यो उपाय सही भएपनि न बहिस्कार न उपयोगको नीतिले झन अन्यौलता ल्याउने उनले बताए । ‘शसक्त बहिस्कार पनि नगर्ने र उपयोग पनि नगर्ने तर उम्मेदवारी दिनेलाई स्वतन्त्रता दिनाले पार्टीमा अन्यौलता र अराजकता ल्याउन सक्छ तर पार्टी विभाजन हुनबाट जोगिएको छ ।’ नेपाल प्रेससँग कुरा गर्दै ती केन्द्रीय सदस्यले भने ।

चुनाव बहिस्कारको योजना महासचिव विप्लव र प्रवक्ता प्रकाण्डकै कारण आउन नसकेको अर्का एक केन्द्रीय सदस्यले बताए । उनले सचिवलय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले चुनाव बहिस्कार गरेर जाउँ भन्दा पनि महासचिव र प्रवक्ता तयार नभएपछि मध्यमार्गी बाटो अपनाइएको बताए ।

पार्टीलाई विभाजनबाट बचाउन भन्दै सचिवालय सदस्य बास्तोलाले यो मध्यमार्गी प्रस्ताव अगाडि सारेको एक नेताले जानकारी दिए । अब नेकपाका केही नेता चुनावको बेला जनमत संग्रहको पक्षमा सामना परिवारसहित सांस्कृतिक कार्यक्रम गर्ने र केही नेता भने उम्मेदवार बन्नेछन् ।

महासचिव विप्लव आफ्नो अडानबाट पछि हटेपछि तत्कालको लागि विप्लव नेकपा विभाजन हुनबाट जोगिएको छ । बैठक भने जारी छ । भोलिबाट सांगठानिक विषयमा प्रवेश गर्ने एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर