इटहरीमा बदलिएको परिस्थिति कुन दलको पक्षमा ? – Nepal Press
स्थानीय चुनाव

इटहरीमा बदलिएको परिस्थिति कुन दलको पक्षमा ?

इटहरी । नेपाल सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोकेको छ । जसअनुसार राजनीतिक दलहरुले चुनावी प्रचार पनि तीव्र पारेका छन् । देशका ठूला दलले केही समयअघि महाधिवेशन सम्पन्न गरेर उत्साहका साथ निर्वाचनमा होमिएका छन् ।

देशका अन्य स्थानीय तहमा जस्तै इटहरी उपमहानगरपालिकामा पनि चुनावी रौनक बढेको छ । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी प्रचार व्यापक गरिरहेका छन् भने माओवादीको गतिविधि कम छ ।

यहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा १५ जना उम्मेदवार मैदानमा थिए, जसमा ११ जना राजनीतिक दलका थिए पनि चारजना स्वातन्त्र थिए ।

अघिल्लो निर्वाचनमा मेयर पदको निम्ति खसेको मतमा सदर मत ५२, ५२२ थियो । जसमा तत्कालीन नेकपा(एमाले)का उम्मेदवार द्वारिकलाल चौधरी विजयी भएका थिए । उनले २२,६८९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाईले १९, ९८५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी तेस्रो ठूलो मत राप्रपाका रोहितकुमार कार्कीले प्राप्त गरेका थिए । उनले ३, ७१५ मत प्राप्त गरेका थिए । नेपालको पछिल्लो राजनैतिक परिवर्तनको मुख्य शक्तिको रुपमा रहेको नेकपा माओवादीकी उम्मेदवार हरिमाया जिमीले ३, ३६४ मत प्राप्त गरेकी थिइन् । जुन जमानत फिर्ता गर्नका निम्ति चाहिने मतभन्दा कम थियो । त्यसैगरी पाँचौ ठूलो मत भने विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदवार अरुण चौधरीले ल्याएका थिए । उनले १,४३७ मत पाएका थिए।

अन्य ११ उम्मेदवार कसैले पनि ५०० मत कटाउन सकेका थिएनन् ।

पार्टीबाट उम्मेदवार बनेर सबैभन्दा कम मत पाएका थिए चुरे भावर लोकतान्त्रिकका रामप्रसाद रेग्मीले । उनले ८ ल्याएका थिए । सबैभन्दा कम मत भने स्वतन्त्र उम्मेदवार वीरबहादुर काफ्लेले ६ मत ल्याएका थिए ।

निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्यांकअनुसार इटहरीमा १, ०४,८९१ मतदाता छन् ।

विगतको भन्दा अहिलेको स्थिति फरक छ । पहिला विजेता बनेको नेकपा (एमाले)मा विभाजन आएको छ । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेको छ ।

विजय गच्छदारको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा समाहित भएको छ । नेपाली कांग्रेसबाट इटहरीको १० वटा वडा समेटेको सुनसरी क्षेत्र नम्बर ३ का सांसद हुन्, गच्छदार ।

त्यसैगरी इटहरीको तेस्रो ठूलो दल राप्रपाका मेयरका उम्मेदवार रोहितकुमार कार्की नेकपा (एमाले)मा प्रवेश गरेका छन् । तत्कालीन खनार गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च कार्की खनार क्षेत्रमा अत्यन्त प्रभावशाली मानिन्छन् ।

त्यस्तै त्यतिबेला माओवादीबाट उपमेयरका उम्मेदवार बनेका भीमप्रसाद सुवेदी (सागर) पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले आफ्नो दलको मेयरको उम्मेदवारभन्दा १, ५१० बढी अर्थात् ४, ८७४ मत प्राप्त गरेका थिए ।

त्यस्तै माओवादीबाटै संघीय सांसदका उम्मेदवार हिमाल सुवेदी पनि नेकपा (एमाले)मा प्रवेश गरेका छन् भने नेकपा (एमाले) का प्रभावशाली नेता राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशवकुमार विष्ट नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

पहिला माओवादीले इटहरीमा एक नगर सदस्यभन्दा बढी जिताउन सकेन । र पछिल्लो समय माओवादी झन् कमजोर भएको छ ।

नेकपा एकीकृत समाजवादीले एमालेबाट जितेका कुनै पनि जनप्रतिनिधिलाई लैजान सकेन । मनोनित कार्यपालिका सदस्य गौरीमान परियार मात्रै एकीकृत समाजवादीमा लागेका छन् ।

इटहरी नेपालको राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्नसक्ने उपमहानगरपालिका हो । सबै राजनीतिक दलको केन्द्रमा यहाँका नेता पुगेका छन् । नेकपा (एमाले)मा चारजना केन्द्रीय सदस्य– इन्दु गौतम, लक्ष्मी गौतम, अमृता सुब्बा, तयुब हुसैन इटहरीकै हुन् ।

नेपाली कांग्रेसको केन्द्रमा यहाँका कल्पना चौधरी, राजीव ढुंगाना छन् । त्यसैगरी राप्रपाका पूर्वमन्त्री रामकुमार सुब्बा र नेकपा एसका केन्द्रीय नेता केशव कुमार विष्ट पनि इटहरीकै हुन् । नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमारी चौधरी र निर्मल बरालले इटहरीकै प्रतिनिधित्व गर्छन् ।

अहिलेको अवस्थामा सत्ताघटक दलबीच चुनावी तालमेल भयो भने पनि मेयरको टिकट कांग्रेसले नै पाउने निश्चितप्रायः छ । यो अवस्थामा यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच नै कडा टक्कर हुने देखिन्छ ।

२०४८ सालदेखि जितिरहेको एमालेले इटहरीमा आफ्नो विरासत जोगाउन अनेक प्रयास गरिरहेको छ भने ‘एमालेको किल्ला’ ढाल्न नेपाली कांग्रेसले पनि आफ्नो गतिविधि बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर