आज केके गर्दैछन्, चिनियाँ विदेशमन्त्री यी ? – Nepal Press

आज केके गर्दैछन्, चिनियाँ विदेशमन्त्री यी ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी शुक्रबार १९ जनाको प्रतिनिधिमण्डलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

तीनदिवसीय भ्रमणका लागि नेपालमा रहेका चिनियाँ विदेशमन्त्री यीले दुईदेशबीचमा महत्वपूर्ण द्विपक्षिय सम्झौता र शिष्टाचार भेटघाट गर्ने कार्यक्रमहरू रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिजो दिउँसो ४ बजे नेपाल आइपुगेका विदेशमन्त्री वाङले नेपालमा कुनैपनि औपचारिक कार्यक्रमहरू गरेनन् । सिधै बत्तीसपुतलीस्थित होटल द्वारिका पुगेर बास बसेका थिए ।

आजपनि दिउँसो ३ बजेपछि मात्रै औपचारिक कार्यक्रमहरू सुरु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।

उनी बिहानै ‘हाइकिङ’ निस्केका छन् । दिउँसो लञ्चपछि नेपाली समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि दुबै समकक्षीहरूको उपस्थितीमा दुई देशका प्रतिनिधिमण्डस्तरीय छलफल गर्ने कार्यक्रम छ । जसमा चिनियाँ टोलीका तर्फबाट विदेशमन्त्री वाङसहित २० जना र नेपालका तर्फबाट परराष्ट्रमन्त्री खड्कासहितको १६ जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र, गृह, अर्थ, भौतिक पूर्वाधार, उर्जा, पर्यटन, सिँचाइ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य मन्त्रालयलगायतका सचिवहरूको सहभागिता रहनेछ भने चिनियाँ पक्षका तर्फबाट राजदूत होउ यान्छी, विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहने जनाइएको छ ।

दुइदेशबीचमा केही महत्वपूर्ण सम्झौताहरू गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले जानकारी दिइन् ।विदेशमन्त्री वाङले साँझ ६ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । त्यसक्रममा पोखरामा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

विमानस्थल नेपाललाई हस्तान्तरण गर्नेछन् । यो विमानस्थल २२ अर्ब चीन सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो । चिनियाँ कम्पनी सिएएमसीईलाई निर्माणको जिम्मा छ ।

विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री खड्काद्वारा समकक्षीको सम्मानमा आयोजना गर्न लागिएको रात्रीभोजमा सहभागी हुनेछन् । भोलि सबैभन्दा पहिला चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर