रुपन्देहीमा आठ महिनामा ९ सय ९२ क्षयरोगी, २८ जनाको मृत्यु – Nepal Press

रुपन्देहीमा आठ महिनामा ९ सय ९२ क्षयरोगी, २८ जनाको मृत्यु

भैरहवा । रुपन्देही क्षयरोगीको उच्च जोखिम जिल्लाको रुपमा पाइएको छ । खुला सीमानाका र सीमापारीबाट पनि क्षयरोगका बिरामी उपचारका लागि नेपाल आउने गरेको कारण जिल्लाको तथ्यांक बढी देखिने गरेको हो ।

अन्य जिल्लाभन्दा जिल्लामा विरामीको संख्या पनि बढी रहको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या समेत नघटेको कार्यालयकाे तथ्याङ्कमा उल्लेख रहेकाे छ ।

चालु आर्थिक वर्षको ८ महिनामा रुपन्देहीमा मात्रै ९ सय ९२ जना नयाँ क्षयरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन मसान्तसम्म फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका छन् । गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी भेटिएको कार्यलयले जनाएको छ ।

बुटवल उपमहानगरमा २ सय ३४ जना, तिलोत्तमा नगरपालिकामा १ सय ३७ जना, सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग स्रोत व्यक्ति हुमप्रसाद खनालले बताए ।

त्यस्तै ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चवारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेको कार्यालयमा तथ्याङ्क रहेको उनको भनाइ छ ।

रुपन्देहीमा गत वर्ष क्षयरोगबाट २१ जनाको ज्यान गएको थियो भने चालु वर्षको समयावधिमा मात्रै २८ जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ । उपचार गराउने तर बीचमै छाड्ने, भारतीय नेपालमा आएर उपचार गराउने, नियमित रुपमा औषधिसमेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए । ६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने भएपनि  क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती रहेको  उनकाे भनाइ छ । नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ ।

सरकारले सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखे पनि खुला सीमाका कारण भारतसित जोडिएर रहेका तराईका जिल्लामा चुनौती देखिएको छ । क्षयरोगको उपचारको लागी रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानका लागि ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर