वीरगञ्जमा एमाले प्रवेशको उछिनापाछिन र विमल श्रीवास्तव फ्याक्टर – Nepal Press
स्थानीय चुनाव

वीरगञ्जमा एमाले प्रवेशको उछिनापाछिन र विमल श्रीवास्तव फ्याक्टर

पाँचौं स्थानको एमालेलाई पहिलो बन्ने मौका, तर पार्टी प्रवेशमा भएन समन्वय

वीरगञ्ज । २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा पहिलो र तेस्रो भएका दुईजना नेताले आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट लड्ने ईच्छा जाहेर गरे ।

पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा रहेका मेयर विजयकुमार सरावगी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा रहेका राजेशमान सिंहले एमालेबाट मेयरमा लड्ने इच्छा जाहेर गरेका थिए ।

सिंहले माघ २९ गते एउटा सार्वजनिक कार्यक्रममै वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन लड्न चाहेको घोषणा गरेका थिए । त्यसपछि एमालेले उनलाई पार्टी प्रवेशको तयारी गरिरहेको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट मेयरमा उम्मेदवार रहेका सिंहले १२ हजार एकसय ६५ मत प्राप्त गरेका थिए । जुन मेयर पदका उम्मेदवारमध्ये तेस्रो ठूलो मत थियो ।

उनले यसरी ईच्छा राखेपछि मेयरमै निर्वाचित सरावगीले छलाङ मारेर एमालेसँग नाता जोडे । स्थानीय नेताहरूको सम्पर्कबाट फागुन २७ गते एमाले अध्यक्ष ओलीले उनलाई पार्टी प्रवेश गराए । यद्यपि उनले त्यसअघि कांग्रेसमा जान चाहेको समेत चर्चा चलेको थियो । जहाँ उनले स्थान नपाउने भएपछि एमाले रोजेको उनले स्वीकार पनि गरिसकेका छन् ।

मेयर सरावगी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचन लडेर १९ हजार ३ सय ९३ मत प्राप्त गरेका थिए ।

मेयर सरावगीलाई एमालेले प्रवेश गराएपछि सिंहले सरावगीले छाडेको जसपा प्रवेश गरे । एमालेले सरावगीलाई पार्टी प्रवेश गराएपछि रिसाएका उनी चैत ७ गते जसपा प्रवेश गरेका हुन् ।

एमाले आक्रामक

वीरगञ्ज नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको स्थान पाँचौ थियो । एमालेबाट मेयरका प्रत्यासी रहेका बसरुद्धीन अन्सारीले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका थिए ।

यसरी गत निर्वाचनमा पाँचौ स्थानमा रहेको एमाले विगतको निर्वाचनमा लोकप्रिय देखिएका नेतालाई भित्र्याएर उम्मेदवार बनाउन कस्सिएपछि वीरगञ्ज महानगरपालिकाको चुनावी माहौल तरंगित भएको छ ।

मधेसवादी दलहरूले आफ्नो ‘आधारक्षेत्र’ ठानेको क्षेत्रमै एमाले आक्रमक रुपमा उत्रिएपछि उनीहरूलाई सकस परेको छ नै २०७४ को स्थानीय तह निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेसलाई समेत त्यहाँको प्रतिस्पर्धामा सोच्न बाध्य पारेको छ ।

संविधान जारी भएपश्चात भएको मधेस आन्दोलनका मागबारे एमाले अध्यक्ष ओलीले उपेक्षा गरेको आरोप लाग्ने गरेको थियो । यद्यपि पछिल्लो पटक प्रधानमन्त्री हुँदा उनले नागरिकता सम्बन्धी अध्यादेश ल्याएर त्यसलाई केही मत्थर पार्ने प्रयास गरेका छन् ।

२०७४ को निर्वाचनताका मधेसमा विपक्षी दलहरू विशेषगरी मधेसवादी दलहरूले एमालेलाई मधेसी मागविरुद्ध लागेको भन्दै ‘अपजस’को भारी बोकाउने प्रयास गरेका थिए ।

त्यही कारण पछिल्लो समय एमाले र अध्यक्ष ओलीले मधेसमा आफूलाई आक्रामक रुपमा प्रस्तुत गरिरहेको विश्लेषण हुने गरेको छ । त्यही रणनीतिअनुसार नै उनले वीरगञ्ज महानगरको निर्वाचनलाई लक्षित गरिरहेको जानकार स्रोत बताउछ ।

‘वीरगञ्ज मधेस प्रदेशको एकमात्र महानगर मात्रै होइन, मधेस आन्दोलनको नेतृत्वदायी ठाउँ पनि हो । जहाँको मतले समग्र मधेसको मतलाई प्रतिनिधित्व गर्छ,’ मधेश मामिलाका विज्ञ डा. विजय मिश्र भन्छन् ‘त्यसैले ओली स्थानीय तह निर्वाचनमा वीरगञ्जको मत क्यास गरेर आगामी निर्वाचनसम्म मधेसमा अगाडि बढ्न चाहन्छन् ।’

मधेसवादी दलकै लोकप्रिय नेतालाई भित्र्याएर उम्मेदवार बनाउँदा एमालेलाई ‘मधेस मुद्दा’समेत आफैसँग रहेको दर्शाउन सहज हुने जानकारहरू तर्क गर्छन् ।

एमाले प्रवेशमा उछिनापाछिन

पाँच वर्षअघि ‘एमाले हौं’ भनेर खुलेर हिँड्न नसक्ने वीरगन्जमा आज मधेस आन्दोलनको अग्रभागमा रहेका नेताहरु नै एमाले प्रवेशका लागि उछिनापाछिन गरिरहेका छन् । सरावगीले राजेशमानलाई ओभरटेक गरेपछि पर्सेली एमाले नै दुई धारमा विभाजित भएका छन् ।

वीरगञ्ज महानगर कमिटीले सरावगीभन्दा राजेशमानलाई महत्व दिएको थियो । राजेशमानसँग २९ वटै वडामा व्यक्तिगत सञ्जाल रहेको र उनी बाहुबली स्वभावका समेत रहेकाले उनी एमालेमा प्रवेश गर्दा महानगर जित्नमात्र होइन संसदीय चुनावमा अरु उम्मेदवारलाई समेत जित्न भोट थपिने तर्क धेरै नेताको थियो ।

तर विशेषगरी जिल्ला अध्यक्ष प्रभु हजरालगायत केही नेताले सरावगीसँग साँठगाँठ गरेको अरोप छ । प्रभु हजरा ७ वर्षदेखि एमाले र बीचमा नेकपाको समेत अध्यक्ष छन् । अझ उनी यस्तो भाग्यशाली एमाले बनेका छन्, जो जिल्ला अध्ययक्ष तथा इन्चार्ज दुवै भूमिकामा छन् ।

जिल्ला अधिवेशन शुरु भएर पनि नेतृत्व चयनमा विवाद भएपछि स्थगनको अवस्थामा छ । उनी चुनावसम्म यस्तै अवस्थामा राखेर टिकटमा आफू हाबी हुन चाहन्छन् । विजय सरावगी बहालवाला मेयर भएकाले उनीमाथि अनेक प्रश्न छन् । त्यसैले पनि स्थानीय एमालेले राजेशमानलाई भित्र्याउन चाहेका थिए ।

सरावगीसँग भन्दा राजेशमानसँग वडाध्यक्ष धेरै थिए । सरावगीले ९ जना वडाध्यक्ष आफूसँगै एमाले प्रवेश गराउने भने पनि त्यसमा असफल भए । उनी एमालेबाट मेयरमा जिते पनि उनको कारण पार्टीले अरु क्षेत्रमा कुनै फाइदा नपाउने दावी स्थानीय एमालेको छ । राजेशमानलाई गुमाउँदा एमालेले आफ्नो सम्भावित बलियो शक्तिमात्र गुमाएको छैन, विभाजित जसपालाई समेत एकजुट बनाइदिएको विश्लेषण छ ।

किनकि राजेशमान एमालेमा प्रवेश गरेका भए जसपाका अध्यक्ष रामनरेश यादव समूह समेत एमाले प्रवेशको तयारीमा थियो । त्यहाँ लामो समयदेखि समानान्तर कमिटी चलिरहेका थिए । सरावगीको एमाले प्रवेश र राजेशमानको जसपा प्रवेशसँगै पर्सामा जसपा पुनः बलियो बनेको स्थानीय राजनीतिक विश्लेषकहरु बताउँछन् ।

वीरगन्ज महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु ठूलै संख्यामा एमाले प्रवेश गरेका छन् । तर सरावगीले एमालेबाट मेयरको टिकट लिएर जित्ने हो भने उनले स्थानीय पार्टी कमिटीसँग सघन सम्बन्ध बनाउनुपर्ने देखिन्छ । किनकी उनीसँग व्यक्तिगत भोट जति भए पनि जित्ने आधार एमालेको संगठन नै हो ।

यसपटक राजेशमानलाई एमाले प्रवेशबाट रोक्न र सरावगीलाई एमालेमा हुत्याउन लोसपाका नेता तथा पर्साका सांसद विमल श्रीवास्तव फ्याक्टरले काम गरेको ‘ओपन सेक्रेट’ छ । सरावगीले मोति दुगडको नाम लिए पनि उनलाई एमालेमा लैजाने र मेयरमा जिताउने ठेक्का श्रीवास्तवले लिएको चर्चा वीरगन्जमा छ ।

श्रीवास्तव स्वयं पनि आउने चुनावमा एमालेबाटै लड्ने सम्भावना छ । सरावगीलाई लिएर अ‍ोलीसमक्ष जाने र जिताउने जिम्मा लिने उनै हुन् । पूर्वमन्त्री श्रीवास्तव अहिले ओलीसँग सघन सम्पर्कमा छन् र प्राविधिक कारणले मात्र उनी लोसपामा रहेका छन् ।

श्रीवास्तव मात्र होइनन्, मधेस प्रदेशका संघीय र प्रदेशसभामा रहेका हालका केही सांसद आउने चुनावमा एमालेबाट लड्ने तयारी छ । वीरगन्जमा श्रीवास्तव पनि एकजना लोकप्रिय नेता हुन् । अघिल्लो चुनावमा उनले मेयरमा जसपाबाट टिकट नपाएपछि विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट उठेर ८ हजार ७०१ मतका साथ एमालेभन्दा माथि चौथो स्थानमा थिए ।

श्रीवास्तवले वीरगन्ज महानगरपालिकाभित्र अहिले पनि व्यक्तिगतरुपमै पाँच हजार माथि भोट होल्ड गर्ने दाबी कतिपयको छ । त्यसैले उनले सरावगी जिताउने जिम्मा ओलीसमक्ष लिएका हुनसक्छन् । जबकि वीरगन्जका एमाले नेताहरु राजेशमान भित्र्याउन चाहन्थे । तर यहीं कारण पटकपटक राजेशमानको पार्टी प्रवेश कार्यक्रम रोकिँदै चैत ८ गते कार्यक्रम हुनै लाग्दा सरावगीले उछिने । बालकोट पुगेर खादा लाइसकेका राजेशमान जसपामा गए ।

त्यसो त पर्सामा पछिल्लो समय प्रभावशाली र लोकप्रिय फिगरहरु नै एमालेमा प्रवेश गरिरहेका छन् । केही समयअघि ओली आफैं गएर जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियालाई एमाले प्रवेश गराएका थिए । त्यस्तै लोसपाका प्रभावशाली नेता शिव पटेल, माओवादीका जिल्ला ईन्चार्जलगायत ठूलै समूह एमाले प्रवेश गरेको छ ।

अन्य दलको आ–आफ्नै दाउ

एमाले आक्रमक बन्दा अघिल्लो निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेस भने ‘पर्ख र हेर’को अवस्थामा छ । २०७४ मा कांग्रेसका अजयकुमार द्विवेदी १७ हजार एक सय ९७ सहित दोस्रो भएका थिए ।

त्यसमा विजयकुमार गच्छदारको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग एकता भएपछि थपिएको मत पनि जाडिने कांग्रेसको तर्क छ । त्यतिबेला लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेका विमलकुमार श्रीवास्तवले ८ हजार ७ सय एक मत ल्याएका थिए । जुन चौथो स्थान थियो ।

कांग्रेसभित्र अहिले ८ जनाले मेयरमा दाबी गरिरहेका छन् । यद्यपि उम्मेदवारीबारे औपचारिक छलफल सुरु नभएको कांग्रेस जिल्ला कार्यसमिति पर्साका सभापति जनार्दन सिंह क्षत्रीले बताए ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्र महानगरपालिकामा छैटौं स्थानमा थियो । सो पार्टीबाट उम्मेदवार बनेका रहवर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए । माओवादी केन्द्रले यसपटक पनि उनैलाई उम्मेदवार बनाउनेगरी तयारी थालेको छ ।

ठूला र राष्ट्रियस्तरमा प्रभुत्व जमाएका एमाले–कांग्रेसजस्ता दलहरू धमाधम नेता तान्दै लग्दा मधेस आन्दोलनको विरासतको दाबी गरिरहेका जसपा र लोसपा उनीहरूको आधार क्षेत्रमै संकटमा देखिएका छन् । यस्तोमा उनीहरू अझैंपनि वीरगञ्ज हत्याउनेगरी रणनीति बनाइरहेका छन् ।

मेयर सरावगीले पार्टी छाडेर एमाले प्रवेश गरेपछि जसपाले लोसपाबाट एमाले जाने ईच्छा देखाएका सिंहलाई भित्र्याएको छ । जसपाले सिंहलाई मेयरमा उम्मेदवार बनाउने लगभग निश्चित रहेको पार्टी स्रोत बताउँछ । जसबाट जसपाको मत संरक्षित गर्दै लोसपाको मत पनि तान्न सकिने उसको रणनीत छ ।

अर्कातिर लोसपामा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा नै मेयरमा प्रतिस्पर्धा गर्ने मूडमा छन् । उनले पार्टीले आफूलाई आश्वासन दिएको अभिव्यक्ति दिँदै आएका छन् ।
यता फरक मुद्दामा राजनीतिक स्वर उठाइरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यस पटक वीरगञ्जमा उम्मेदवार उठाउने तयारी गरिरहेको छ ।

स्थानीय जानकारहरूका अनुसार यसपटक वीरगञ्ज महानगरपालिकामा कांग्रेस, एमाले र जसपाकैबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर