स्थानीय चुनाव: दैलेखमा एमालेलाई सकस, कांग्रेस उत्साही – Nepal Press

स्थानीय चुनाव: दैलेखमा एमालेलाई सकस, कांग्रेस उत्साही

सुर्खेत । एमालेको पकड मानिने दैलेखमा नेपाली कांग्रेसले अन्य दलको साथ लिएर भए पनि चुनाव जित्ने रणनीति बनाएको छ । आगामी वैशाख तीस गते हुने स्थानीय तह निर्वाचनमा एमाले बिरासत जोगाउने तयारीमा छ भने कांग्रेस विगतको भन्दा बढी ठाउँमा जित्ने दाउमा छ ।

११ स्थानीय तह रहेको दैलेखमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले ११ मध्ये सात ओटा पालिका जितेको थियो भने बाँकी कांग्रेसले जितेको थियो ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुईमा रहेका आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकामा एमालेले जीतेको थियो भने दुल्लु नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर एकको गुराँस गाउँपालिका, नौमुले गाउँपालिका र डुंगेश्वर गाउँपालिकामा कांग्रेसले जीत निकाल्दा एमालेले महावु गाउँपालिका, भगवतीमाई गाउँपालिका र नारायण नगरपालिकामा विजय हात पारेको थियो । तर यस क्षेत्रमा भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीलगायत एकीकृत समाजवादीमा लागेपछि यहाँको राजनीति तरंगित बनेको छ । दुई पालिका प्रमुख नै नेकपा एसमा लागेपछि कांग्रेस भने एक्लै जित्न सकिने भन्दै हौसिएको छ ।

अहिले ११ पालिकामध्ये पाँचमा एमालेको नेतृत्व छ भने चारमा नेपाली कांग्रेसको नेतृत्व छ । यहाँ तेस्रो शक्तिको रुपमा नेकपा एस देखा परेको छ । नेकपा एसले दुई पालिकामा नेतृत्व गरिरहेको छ । नेकपा माओवादीले एउटा वडा अध्यक्षसमेत जित्न सकेन ।

‘हामी गत निर्वाचनमा धेरै ठाउँमा झिनो मतान्तरले पराजित भएका थियौं’ दैलेख नेपाली कांग्रेसका सभापति मणिराम रेग्मी भन्छन्, ‘एमाले विभाजनले यसपालि हामीलाई फाइदा हुन्छ ।’

तर एमाले भने दैलेखमा खासै समस्या नहुने बताउँछ । ‘विगतभन्दा हामी थप सुदृढ भएका छौं । पार्टी एकतामा समाहित भएर जिल्लाभर हजारौं नेता कार्यकर्ता आइसकेका छन् । जनताको जनलहर एमालेकै पक्षमा छ’, एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा भन्छन्, ‘गठबन्धनभन्दा महागठबन्धन बनाएर चुनाव लड्न आए पनि एमाले एक्लै लड्न र चुनाव जित्न सक्षम छ ।’
यता, नेकपा एस कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा भने समाजवादीले एक्लै लडे पनि जीत निकाल्ने दाबी गर्छन् । ‘सकेसम्म गठबन्धन बनाएर जाऔं भन्ने हाम्रो प्रस्ताव हो । यदि उहाँहरुले मान्नु भएन भने पनि दैलेखमा समाजवादीले एक्लै झण्डा हल्लाएर चुनाव जित्न सक्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर