कांग्रेसले नमाने अन्य चार दलबीच तालमेल गर्ने मुडमा माओवादी, नेकपा एसलाई अझै कांग्रेसकै आश – Nepal Press
स्थानीय चुनाव

कांग्रेसले नमाने अन्य चार दलबीच तालमेल गर्ने मुडमा माओवादी, नेकपा एसलाई अझै कांग्रेसकै आश

कैलाली । सोमबार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिखारीसँग तुलना गरे ।

केही दिनअघि प्रचण्ड समेतका नेतालाई लक्षित गर्दै ‘चमेराहरू चुनावमा कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्दै छन्’ भन्ने अभिव्यक्ति दिएका गुरुङले स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले कहिले कचौरा लिएर बालकोट त कहिले बालुवाटार पुग्ने गरेको बताएका थिए ।

उनले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिने बताउँदै आइरहेका छन् । केन्द्रका नेताहरु मात्रै होइनन्, प्रदेश र स्थानीयस्तरका नेताहरु पनि आगामी निर्वाचनमा कांग्रेस एक्लै होमिनुपर्ने बताउँछन् । उनीहरूले कसैसँग पनि गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिन नेतृत्वलाई समेत दबाब दिँदै आइरहेका छन् ।

कांग्रेसले अहिलेसम्म निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन । तर, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनलाई निर्वाचनसम्म लैजान केही सकारात्मक रहेको उनीनिकट नेताहरु बताउँछन् । तर, संस्थापन इतरपक्ष चुनावी तालमेलको पक्षमा छैन । डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले निरन्तर चुनावी तालमेल गर्न नहुने मत राख्दै आएका छन् ।

देउवानिकटका केही नेताहरुले पनि गठबन्धन गर्न नहुने भन्दै देउवालाई एक्लै लड्न सुझाव दिइरहेका छन् । केही दिन पहिले ‘घर घर जाऔँ– कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत डोटी पुगेका कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले माओवादी र एकीकृत समाजवादीमा दम्भ बढेको भन्दै गठबन्धन गर्न नहुने बताएका थिए । उनले कांग्रेस कार्यकर्ता रुखबाहेक अन्य चुनाव चिह्नमा भोट हाल्न तयार नभएको समेत बताएका थिए ।

काँग्रेस कैलालीका उपसभापति भीम बडुवाल पनि गठबन्धन उपयुक्त नभएको बताउँछन् । ‘अहिले काँग्रेस एक्लै जित्ने अवस्थामा छ । किन गठबन्धन आवश्यक पर्यो ?’ उनले आइतबार पत्रकारहरूसँगको छलफलमा भने, ‘अहिले गठबन्धन गर्नु उपयुक्त छैन ।’

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै कांग्रेसमा गठबन्धन गर्ने वा नगर्ने भन्ने छलफल सुरु भएको हो । कांग्रेसले अहिले तल्लो तहसम्म रहेका नेता तथा कार्यकर्ताहरूको सुझावका आधारमा गठबन्धन गर्ने वा नगर्ने निर्णय गर्ने जनाएको छ ।

‘घर घर जाऔँ– काँग्रेस जिताऔँ’ अभियानका क्रममा अहिले नेताहरूले आन्तरिक रूपमा गठबन्धन गर्न वा नगर्ने गठबन्धन गरे कसरी गर्ने जस्ता विषयमा पनि नेता कार्यकर्ताको सुझाव लिइरहेका छन् । ती सबै सुझावको आधारमा कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने कांग्रेस प्रवक्ता प्रकाश शरण महतले बताए ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ११ गते शुक्रबार बस्दैछ । बैठकमा गठबन्धनका विषयमा छलफल हुने कांग्रेस सह–महामन्त्री बद्री पाण्डेयले जानकारी दिए । बैठकमा संसदीय समिति गठनको एजेन्डा राखिएको छ । चुनावी गठबन्धनको एजेन्डा भने तयार गरिएको छैन । तर, एजेन्डा नभए पनि त्यस विषयमा छलफल हुने पाण्डेयको भनाइ छ ।

‘भोलिको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनको एजेन्डा छैन तर, त्यो विषयमा छलफल हुन्छ’ उनले भने ‘निर्णय केही नहुन सक्छ तर छलफल भने हुन्छ ।’

माओवादी र नेकपा एसलाई गठबन्धनको आश

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा कांग्रेसमा जति विवाद, बहस र छलफल गठबन्धनका अन्य दलहरूमा भएको छैन । गठबन्धनमा रहेका अन्य दलहरू पनि अहिले कांग्रेसको निर्णय कुरेर बसेका छन् । कांग्रेसबाहेकका अन्य दलहरू अहिले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै आइरहेका छन् । तर, कांग्रेसको निर्णयपछि उनीहरू पनि निर्णय गर्ने मनसायमा छन् ।

पछिल्लो समय कांग्रेसमा संस्थापनइतर समूहको अभिव्यक्तिबाट माओवादी नेताहरु भने चिढिएका छन् । कांग्रेसका केही नेताहरु गठबन्धन तोडियोस् भन्ने चाहेको माओवादी नेताहरूको बुझाइ छ । स्वयम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत कांग्रेसका केही नेताहरूलाई अतिवादी भन्दै गठबन्धन जारी राख्न नचाहेको बताएका थिए । उनले पोखरामा स्थानीय तहको चुनावमा गठबन्धनको वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका थिए । अहिले कांग्रेसमा गठबन्धन गर्न नहुने दबाब आइरहे पनि त्यो आधिकारिक कुरा नभएको माओवादी नेताहरु बताउँछन् ।

‘कांग्रेसमा केही नेताहरु गठबन्धन हुन हुँदैन भन्दै आइरहनु भएको छ तर, त्यो पार्टीको निर्णय होइन’ माओवादी नेता लिलामणि पोख्रेलले भने, ‘कांग्रेसले आधिकारिक निर्णय गरेपछि हामीले पनि के गर्ने भन्नेबारे निर्णय गर्छौ ।’

उनले कांग्रेसलाई सरकारमा माओवादीले ल्याएको भन्दै अहिले गठबन्धन तोड्न खोज्ने प्रवृत्ति बढेको बताए ।

‘नेपाली कांग्रेसलाई हामीले सडकबाट सरकारमा ल्याएको हो’, उनले भने ‘अहिले कांग्रेसमा गठबन्धन हुन दिन हुँदैन भन्ने प्रवृत्ति बढ्दै गइरहेको छ ।’ उनले अगामी निर्वाचनसम्म पनि यो गठबन्धन कायम राख्ने भन्ने विषयमा सुरुबाटै सहमति भएको दाबी गरेका छन् ।

उनले वैशाखमा मात्रै गठबन्धन हुने र नहुने टुंगो लाग्ने बताए । कांग्रेस गठबन्धनमा नरहे पनि अन्य चार दलबीच चुनावी गठबन्धन हुनसक्ने उनको बुझाइ छ ।

गठबन्धनको पक्षमा नेकपा एस

आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी गठबन्धनको पक्षमा छ । तर, गठबन्धनका दलहरूबीच भने कसरी गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा सामूहिक छलफल प्रारम्भ भएको छैन । उनीहरू आ–आफ्नो दल भित्र यस विषयमा छलफल चलाइरहेको एकीकृत समाजवादी पार्टीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए ।

‘अहिले गठबन्धनमा रहेका दलहरू भित्र गठबन्धन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेका छ’ उनले भने , ‘केही समयपछि गठबन्धनको बैठक बसेर यस विषयमा निर्णय हुन्छ । ’

उनले वडा स्तरसम्मै गठबन्धन हुनुपर्ने बताउँदै आइरहेका छन् । ‘गठबन्धन हुन्छ । चैत अन्तिमसम्ममा यसको निर्णय हुन्छ’, उनले भने ‘हामीले वडा स्तरसम्मै गठबन्धन गरौँ भनिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर