‘सीजी टेलिकम लञ्च गर्न बार्सिलोना धाएको’ निर्वाण चौधरीको दावीमा गोकुलको यस्तो जवाफ – Nepal Press

‘सीजी टेलिकम लञ्च गर्न बार्सिलोना धाएको’ निर्वाण चौधरीको दावीमा गोकुलको यस्तो जवाफ

काठमाडौं । सीजी टेलिकमलाई आधारभूत टेलिफोन सेवा र मोबाइल फ्रिक्वेन्सीको लाइसेन्स दिलाउन एक दशकदेखि प्रयासरत छन् अर्बपति विनोद चौधरी । तर, उनको प्रयास सार्थक हुन सकेको छैन ।

सीजीको लाइसेन्स विवाद अहिले फेरि सतहमा आएको छ । सरकारले चोर बाटोबाट लाइसेन्स दिन विभिन्न चलखेल गरिरहेको समाचारसँगै आरोप प्रत्यारोप सुरु भएको छ । यस क्रममा विनोद चौधरीका छोरा निर्वाण चौधरीले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाप्रति निशाना साँधेका छन् ।

उनले सीजीलाई लाइसेन्स दिने क्याविनेटको निर्णयपछि बास्कोटा सीजी टेलिकम लञ्चका लागि बार्सिलोना धाएको भन्दै ट्विट गरे ।

चौधरीले थपेका छन्, ‘पछि उहाँलाई कसले के प्रभाव पार्‍यो कुन्नि त्यो कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नुभएको छ भन्ने त दुनियाँलाई जगजाहेर छ नि ।’

चौधरीले यस्तो गम्भीर आरोप लगाएपछि बास्कोटा चुप बसिरहने सम्भावना थिएन । यसै पनि उनी सामाजिक सञ्जालमा सक्रिय नेता हुन् । उनले तत्काल निर्वाणलाई जवाफ फर्काएका छन् । आफू संयोगले मात्रै बार्सिलोनाको उक्त कार्यक्रममा पुगेको बास्कोटाको भनाइ छ ।

उनले लेखेका छन्, ‘मेला भर्न गाको बाटोमै भेट भको । विश्व मोबाइल कंग्रेसमा । हेक्का रहोस सत्य एउटा मात्रै हुन्छ । चोर बाटोबाट दिने निर्णय प्रचण्ड क्याबिनेटले जाँदाजाँदै गरेको हो, हामीले होइन ।’

२०७४ सालमा प्रचण्ड नेतृत्वको सरकारले नेपाल राजपत्रमा संशोधन गर्दै सीजीलाई लाइसेन्स दिने निर्णय गरेको थियो । तर, विवादका कारण उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन । सोही निर्णयका आधारमा पछि एमाले सरकारको पालामा चौधरीले लाइसेन्सका लागि ताकेता गरेका थिए । तर, बास्कोटा बाधक बने ।

बास्कोटाले मापदण्ड नपुगेकाले सीजीलाई लाइसेन्स दिन नसकिने भन्दै अडान लिएपछि चौधरीको प्रयास खेर गएको थियो । यही विषयले चिसिएको बास्कोटा–चौधरी सम्बन्ध अहिले पनि सुध्रिन नसकेको देखिएको छ ।


प्रतिक्रिया

2 thoughts on “‘सीजी टेलिकम लञ्च गर्न बार्सिलोना धाएको’ निर्वाण चौधरीको दावीमा गोकुलको यस्तो जवाफ

  1. गाेकुल ईमान्दार नेता हुन् । उनलाई लगाईएकाे ७० कराेडकाे आराेप झुठ हाे । वहाँले भनेकै भए पनि आफूले लिन हाेईन दलालहरूकाे आशय बुझ्न हुनुपर्छ । उनलाई फसाउने यिनै दलाल हुन् । कमिशन खान भए त त्यहि कम्पनिलाई ठेक्का दिएर ७० कराेड खाईहाल्थे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *