देउवा-शेखर संवाद सुरू, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल – Nepal Press

देउवा-शेखर संवाद सुरू, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइबारे चासो राखेका छन् ।

गत पुसमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका नेता कोइरालाले कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनमा किन ढिलाइ भयो भनी सभापति देउवालाई सोधेका हुन् । जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै भ्रातृ संस्थाहरूको तदर्थ समिति ल्याउने बताएका छन् ।

दुवै नेताबीच लामो समयपछि संवाद भएको हो । महाधिवेशनपछि देउवाले शेखरसँग औपचारिक छलफलसमेत गरेका छैनन् । शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको सन्दर्भमा शेखर आफैंले देउवालाई टेलिफोन गरी समसामयिक विषयमा छलफल गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका आन्तरिक निर्णयहरूमा सबैलाई समेटेर जान आफू प्रतिबद्ध रहेको बताएका छन् ।

दुई नेताबीच केन्द्रीय समितिको बैठकका अन्य एजेण्डाबारे पनि छलफल भएको बताइन्छ । सभापति देउवा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पक्षमा छन् । कोइरालाले भने कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने अथवा तालमेलबारे निर्णय लिन स्थानीय समितिलाई नै अधिकार दिनुपर्ने बताउँदै आएका छन् ।

केन्द्रीय समितिको आगामि बैठकबाट तालमेलको पक्षमा सर्वसम्मत निर्णय लिन सभापति देउवाले पनि आन्तरिक छलफल अगाडि बढाएका छन् । देउवा र शेखरबीच केन्द्रीय समिति बैठक अगावै भेटेरै थप विषयमा छलफल गर्ने सहमति पनि बनेको बताइन्छ ।

केन्द्रीय समितिको बैठकबाट संसदीय समितिसमेत बनाइँदैछ । शेखरले पार्टीको विधानअनुसार हुने निर्णयमा आफ्नो साथ रहने बताउँदै आएका छन् । महाधिवेशनपछि उनले पार्टीको विधान र कार्यकर्तालाई न्याय हुनेगरी निर्णय भएमा आफूलाई भागबण्डा नचाहिने बताएका थिए । केन्द्रीय समिति बैठकअघि देउवा र शेखरबीचको संवादहीनता टुट्नुलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर