उपत्यकामा थुप्रियो फोहोर, राजनीतिक चलखेल भएको मेयर शाक्यको आरोप (भिडिओ) – Nepal Press

उपत्यकामा थुप्रियो फोहोर, राजनीतिक चलखेल भएको मेयर शाक्यको आरोप (भिडिओ)

काठमाडौं । फिनेल नछर्की सटर खोल्न सक्दैनन् पुरानो बानेश्नरस्थित ‘वाउ मोमो एण्ड बर्गर हाउस’ का सञ्चालक मनोज श्रेष्ठ । सटर खोल्नुअघि फिनेल छर्किएन भने उनीभन्दा अघि झिंगा होटलभित्र छिर्छन् ।

हप्ता दिन भयो, उनको व्यापार घटेको छ । पसल आउने बाटै छेउमा फोहोर थुपारिएकाले नियमित ग्राहकसमेत त्यो बाटो भएर आउनै छाडेका छन् । फोहोर कुहिएर डुङडुङ गनाएपछि उनले त्यहाँ भन्किएका झिंगा आफनो पसलमा नआउन् भनेर दिनहुँ फिनेलको झोल छर्कन्छन् । त्यति नगरे त उनको दिनभरीको व्यापार नै ठप्प हुन्छ ।

उनी भन्छन्, ‘अहिले त फोहोरकै कारण व्यापार घटिरहेको छ । अझै कतिदिन घाटा खाएर बस्नुपर्ने हो ।’

पुरानो बानेश्वर चोकमा फोहोरकै थुप्रो अगाडि साग र तरकारी बेचिरहेकी छिन्,गोमा विष्ट । पहिलेदेखि तरकारी बेचिरहेको ठाउँमा अहिले फोहोर थुप्रिएपछि उनलाई बसिनसक्नु भएको छ । तर, पनि अन्त जाने ठाउँ छैन ।

उनले गुनासो गरिन्, ‘अन्त तरकारी बेच्न ठाउँ छैन । बेचिराखेको ठाउँमा फोहोरको थुप्रो छ । बाँच्न त पर्यो । त्यसैले गन्ध सहेरै बसेको छु । तर, फोहोरका कारण ग्राहक नै आउँदैनन् ।’

रामेश्वरम स्वीट्सहाउसका सञ्चालक मात्रिका प्रसाईको समस्या पनि उस्तै छ । पसल अगाडि थुपारिएको फोहोरले हैजा ल्याउने सम्भावना बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनले भने, ‘यसको जिम्मा नगरपालिकाले लिनुपर्ने हो । तर, किन लापरबाही गरेको हो दवाव दिनुपर्ने बेला भयो ।’

उनी थप्छन्, ‘१५ दिन जति भइसक्यो फोहोर थुप्रेको, तर उहाँहरुलाई वास्ता छैन । संक्रमण फैलने खतरा छ ।’

हरेक दिन विहान काठमाडौं महानगरपालिकाका कर्मचारीले सडक बढार्छन् । तर फोहोर उठाएर लैजान कोही नआएपछि उनीहरु पनि त्यहीँ छेउमा थुपारेर आप्mनो ड्युटी पुरा गर्छन् ।

नयाँ बानेश्वरका फोहोरमैला व्यवस्थापन इन्चार्ज छिरिङ शेर्पाले बञ्चडेडाँडामा फोहोर फाल्न नपाएसम्म समस्या हुने बताए ।

उनले भने, ‘पहिला–पहिला उठाइराखिएको छ । ल्याण्डफिल साइट घरी बन्द हुने घरी त्यहीँको बासिन्दाले बन्द गरिदिने भइराखेको छ ।’

फागुन १ गते बाट उपत्यकाको फोहोर उठ्न बन्द भएको थियो । पछि फागुन १४ गते खुलेको थियो ।

फेरि फागुन २५ गतेबाट पुरै बन्द गरेको छ । आइतबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारमा बोलाएर अब बञ्चडेडाँडाको सेट एकमा फोहोर फाल्न मिल्ने भनेर जानकारी दिएको उनले बताए ।

उनले भने, ‘कहिलेदेखि मिल्छ हामीलाई एकीन थाहा छैन । बञ्चडेडाँडा गएन भने त यसपालिको वर्खा विजोक नै हुन्छ । हिउँदैमै यस्तो समस्या भइराखेको छ ।’

पछिल्लो दुई सातायता उपत्यकाका चोकचोकबाट फोहोर उठ्न सकेको छैन । सडक किनारमा थुपारिएका फोहोरमाथि नै गाडी कुदाएर फोहोरले नै आधा सडक ढाकिसकेको छ । सिसडोलको ल्याण्डफिल भरिएको वर्षौं भइसक्यो । त्यसको विकल्पमा बन्दै गरेको बञ्चडेडाँडाको ल्याण्डफिल साइटमा जस लिने होडले अझै खुल्ला हुन सकेको छैन । फोहोर बञ्चडेडाँडामा फाल्न सुरु गरे जस मेयरलाई जाने भन्दै अझै शहरी विकास मन्त्रालयले खुला गराउन नचाहेको काठमाडौं महानगरपालिकाको आरोप छ ।

चुनावको एजेण्डा बन्दै काठमाडौंको फोहोर

भौतिक पूर्वाधार मन्त्रालयले २०७० देखि बनाइरहेको पासाङल्हामु राजमार्गको बाटो समयमै नबनेको कारण सिसडोलका स्थानीयहरुले महानगरसँग रिस पोख्न आन्दोलन गरिरहेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

मेयर शाक्य भन्छन्, ‘उहाँहरुसँग सल्लाह गर्दा तपाईहरुको केही दोष छैन, बनाउनुपर्ने ठेकेदारले नबनाएका कारण सरकारलाई पटकपटक ध्यानार्कषण गराउँदा पनि नसुनेकाले फोहोर रोकेको भन्नुभयो ।’

सिसडोलबासीले बाटो बन्द गरिदिएपछि फोहोर त्यहाँ पु¥याउन नसकको उनले स्वीकारे । बाटो बनाउने काम आप्mनो कार्यक्षेत्रभन्दा बाहिर पर्ने उनको भनाइ छ । तर स्थानीयहरुसँग बाटो बनाइदिने महानगरले आश्वासन दिएपछि मात्रै स्थानीयले बाटो खुलाएका थिए । र फोहोर नियमित रुपमा उठाउन थालिएको थियो । अहिले फेरि बाटो बन्द गरिदिएका छन् स्थानीयले ।

सिसडोल पुग्न तारकेश्वर नगरपालिका हुदै धादिङ र नुवाकोटको सिमानामा जानुपर्छ । संघीय सरकारले सहयोग नगर्ने हो भने काठमाडौं महानगरपालिकाले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने मेयर शाक्यले स्पष्ट पारे ।

उनले भने, ‘संविधानमा व्यवस्था गरे अनुसार तिमीहरुले नै आफैं फोहोर व्यवस्थापन गर भन्छ, तर महानगरभित्र त्यस्तो बनाउने ठाउँ छैन । त्यसका लागि नजिकै रहेका अन्य नगरपालिकाको सहयोग लिएर काम गर्न आवश्यक छ ।’

काठमाडौं महानगरले उपत्यकाका १८ वटै नगरपालिकाको फोहोर व्यवस्थापनमा सहयोग गरिराखेको छ । सिसडोलमा बाटो रोकिएदिए काठमाडौं महानगरको मात्रै फोहोर रोकिने नभई काभ्रे, नुवाकोट, धादिङ लगायत उपत्यकाको १८ वटै नगरपािलकाको फोहोर रोकिने अवस्था छ ।

संघीय सरकार मात्र नभई प्रदेश सरकारलाई समेत आफूहरुले सहयोग गरिराखेको तर गाली भने महानगरले खाइरहेको शाक्यले बताए ।

उनी भन्छन्, ‘संघीय सरकार र प्रदेश सरकारको इज्जत हामीले जोगाइदिएका छौं । यदि हामीले पनि अरुतिर दोष पन्छाएको भए द्वन्द्व हुन्थ्यो ।’

चुनावपछि मात्रै गराउन चलखेल : मेयर शाक्य

फोहोर फाल्नको लागि बञ्चडेडाँडामा शहरी पूर्वाधार विकास मन्त्रालयले २०६२ सालदेखि काम अगाडि बढाइराखेको छ । पहिलो फेजको काम सकिएर दोस्रो फेजको काम भइराखेको मेयर शाक्यले बताए । त्यहाँका स्थानीयबासीले सिसडोलको जस्तै अव्यवस्थित बन्ने डरले फोहोर फाल्ने ठाउँ वरिपरिको जग्गा अधिग्रहण गरे मात्रै बञ्चडेडाँडामा फोहोर फाल्न दिने बताएका थिए ।

स्थानीयको मागलाई सम्बोधन गरेर उक्त फाइल काठमाडौं महानगरले सरकारलाई बुझाइसकेको छ । ल्याण्डफिल्डको जिम्मा निजी क्षेत्रलाई दिने भनेको १२ वर्ष भइसक्यो । सरकारको विभिन्न निकाय हुदै लगानी बोर्डलाई जिम्मा दिएको थियो । लगानी बोर्डले हेरेपछि उक्त फाइल महानगरलाई पठाइदिएको थियो । अहिले महानगरले लगानी बोर्ड र सरकारसँग गरेर फाइल अगाडि बढाइसकेको शाक्य बताउँछन् ।

उनी भन्छन्, ‘क्याविनेटबाट ती काम गरिदिए हामी तयारी अवस्थामा रहेका छौं ।’ ती काम नगराउन चलखेल गरेको उनको आरोप छ ।

उनले भने, ‘मेरो कार्यकालमा नगराउने खेल खेलिदै भन्ने सुनेको छु । यो फोहोरको व्यवस्थाको जस मेयरलाई दिन हुदैन भनेर दुई महिना ढिलो गरौं भन्ने हो । फोहोर व्यवस्थापनमा सफल भयो भने सबै काम शुरु हुने त होइन डर उहाँहरुलाई छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर