स्थानीय तह निर्वाचनः घोडाघोडीमा एमालेको किल्ला भत्काउने अन्य दलको तयारी – Nepal Press

स्थानीय तह निर्वाचनः घोडाघोडीमा एमालेको किल्ला भत्काउने अन्य दलको तयारी

कुन दलबाट को-को छन् मेयरका दाबेदार ?

कैलाली । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै अहिले स्थानीय तहका दलहरूको जोडघटाउ सुरु भएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा यसअघि एमालेले सात स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो । अहिले तीमध्ये दुई स्थानीय तहका उपप्रमुख एकीकृत समाजवादीमा छन् । एक स्थानीय तहकी उपप्रमुख एकीकृत समाजवादीमा सनाखत गरेर माओवादीमा प्रवेश गरेकी छन् ।

काँग्रेसले चार स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले दुई स्थानीय तहका प्रमुख र उपप्रमुख जितेको थियो । कैलालीका केही स्थानीय तहमा अन्तिम समयसम्म पहिलो स्थानमा रहेको माओवादी उपविजेतामा सीमित रहेको थियो ।

सबै वडामा पहिलो भएर अन्तिम एक वडाका कारण निर्वाचन जित्नबाट बन्चित भएको मध्येको एक स्थानीय तह कैलालीको घोडाघोडी नगरपालिका । १२ वडाहरू रहेको कैलालीको घोडाघोडी नगरपालिकामा ११ वडासम्मको मत गणनामा माओवादीका उम्मेदवार प्रमुख र उपप्रमुख दुवै पदमा अघि थिए ।

प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण चौधरी करिब ८ सय बढी मतले अघि थिए । उपप्रमुखमा पनि झन्डै त्यतिकै हाराहारीमा माओवादीकै उम्मेदवार ममता चलाउने अगाडि थिइन् । तर, अन्तिममा एक नम्बर वडाको मत गणना हुँदा माओवादीका चौधरी र चलाउनेलाई पछि मार्दै प्रमुखमा एमालेका ममताप्रसाद चौधरी र उपप्रमुखमा एमालेकै प्रेम कुमारी थापा विजयी भइन् ।

अहिले थापा एकीकृत समाजवादीमा छिन् ।

१२ वडामध्ये वडा नम्बर १, ४, ५, ७, ९ र १० मा एमाले विजयी भयो । अहिले वडा नम्बर ४, ७ र १० का वडाध्यक्ष एकीकृत समावादीमा छन् । १२ वडामध्ये कांग्रेसले २ र ८ , माओवादीले ३, ६ र १२ तथा लोकतान्त्रिक फोरमले ११ नम्बर वडा जितेको थियो ।

आगामी निर्वाचनमा पनि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख र प्रमुखमा एमाले, माओवादी , कांग्रेस मात्रै होइन, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जित्ने दाबी गरेको छ ।

मेयरमा एमालेबाट तीनजनको दाबी

एमालेबाट घोडाघोडी नगरपालिकामा वर्तमान नगरप्रमुख ममत प्रसाद चौधरी उम्मेदवार बन्ने सम्भावना बढी देखिएको छ । चौधरी एमाले कैलाली जिल्ला उपसचिवसमेत हुन् । त्यस्तै एमालेबाट प्रदेश कमिटी सदस्य विष्णु चौधरी र घोडाघोडी नगर अध्यक्ष बक्तबहादुर शाही पनि प्रमुखमा आकांक्षी हुन् ।

घोडाघोडीमा एमाले पहिलेको भन्दा बलियो भएको दाबी गर्दै नगर अध्यक्ष शाहीले भने, ‘पार्टीले टिकट दिएका प्रमुख र उपप्रमुख दुवै हामी जिताउँछौँ । ’

एमाले विभाजनको असर घोडाघोडीमा त्यति धेरै नपरेको उनी दाबी गर्छन् । ‘केही साथीहरू टुक्रिएर जानु भएको छ । त्यो भन्दा कयौँ धेरै साथीहरू नेकपाको निरन्तरता भन्दै एमालेमा रहनु भएको छ’ उनले भने ‘हामी यस अघि पराजित भएका स्थानीय तहमा पनि हामी यस पटक विजयी हुन्छौँ । ’

यसअघि एमाले पराजित भएको घोडाघोडीका वडा नम्बर १२, ११ र २ नम्बरमा पनि पार्टीले जित्ने उनको दाबी छ । उनी भन्छन्, ‘हामीले पहिले जितेका वडाहरूमा त हामी यस पटक पनि जित्छौँ । पहिले पराजित भएका वडाहरूमा पनि निर्वाचन जित्ने गरी हामीले तयारी थालेका छौँ । ’

नेपाली काँग्रेसमा आधा दर्जनको दाबी

गत निर्वाचनमा घोडाघोडी नगरपालिका तेस्रो शक्तिको रूपमा देखिएको नेपाली काँग्रेस यसपटक भने पहिलो शक्ति बन्ने होडमा छ । अहिले घोडाघोडीमा नेपाली काँग्रेसबाट आधा दर्जन बढी नेताहरू प्रमुखको लबिङमा छन् ।

यसअघि प्रमुखमा पराजित भएकी रिता चौधरी फेरि मेयरमा उठ्ने सम्भावना छ । त्यस्तै उपमेयरमा पराजित भएका हेम बम पनि मेयरका आकांक्षी हुन् । त्यसबाहेक लक्ष्मी राज जोशी, हरि मल्ल, बम बहादुर सिंह, विमल प्रकाश जोशी, जियालाल आचार्य र सम्झना खत्री पनि मेयरका आकांक्षी हुन् ।

केही समयअघि मात्रै नेपाली काँग्रेसका जिल्ला उपसभापतिमा निर्वाचित भीम बडुवाल पनि घोडाघोडी नगरवासी हुन् । उनी अहिलेसम्म संघीय निर्वाचन लड्ने मनसायमा छन् । तर उक्त क्षेत्र पूर्वमन्त्री रामजनम चौधरी समेत रहेको हुँदा बडुवालले पनि मेयरमा दाबी गर्नसक्ने बताइएको छ । बडुवालले मेयरमा दाबी गरे काँग्रेसबाट सबै भन्दा बलिया उम्मेदवार बडुवाल हुने आँकलन गरिएको छ ।

माओवादीका कस्ता छन् उम्मेदवार ?

गत निर्वाचनमा दोस्रो भएको माओवादीका तर्फबाट तत्कालीन अवस्थमा पराजित भएका प्रमुखका उम्मेदवार लक्ष्मण चौधरी ‘सुयोग’,उप प्रमुखमा पराजित दुर्गा चलाउने ‘ममता’ले प्रमुखमा दाबी गर्ने चर्चा छ । ती बाहेक नैन बहादुर चौधरी, सुखी राम चौधरी, पुष्कल बम, लक्ष्मी प्रसाद भट्टराई, र खगेन्द्र हमाल पनि मेयरका आकांक्षी हुन् ।

‘हामी अन्तिम अवस्थामा यहाँ पराजित भएका थियौँ । अहिले घोडाघोडीमा पहिलेको भन्दा राम्रो संगठन विस्तार भएको छ’ माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्डले भने, ‘एक्लै लडे पनि घोडाघोडीमा हामी जित्छौँ । ’

एकीकृत समाजवादीमा पनि दाबेदार धेरै

एमालेबाट विभाजन भएको एकीकृत समाजवादीका तर्फबाट पनि घोडाघोडीमा मेयरमा करिब आधा दर्जन उम्मेदवार देखिएका छन् । एकीकृत समाजवादीका जिल्ला सचिव खड्का रावत एकीकृत समाजवादीको तर्फबाट टिकट पाउने बलिया उम्मेदवार हुन् । घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेम कुमारी थापाको पनि मेयरमा चर्चा छ । ती बाहेक मेघ साउँद, खेम जोशी, पूर्ण राज जोशी र पनि सम्भावित उम्मेदवार हुन् ।

घोडाघोडीमा मात्रै एक उपप्रमुख सहित ३ जना वडाध्यक्ष एकीकृत समाजवादीमा सनाखत गरेको भन्दै पार्टीले निर्वाचनमा जित्ने नेकपा एसका नेताहरूको दाबी छ ।

कस्तो छ राप्रपाको अवस्था ?

मुख्य राजनैतिक दल एमाले माओवादी काँग्रेस एकीकृत समाजवादी बाहेक घोडाघोडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पछिल्लो समय आक्रामक रूपले संगठन बिस्तारलाई तीव्रता दिएको छ ।

अहिले घोडाघोडी नगरपालिकाकाको प्रमुखमा भर्खरै एमालेबाट राप्रपा प्रवेश गरेका नीरज मल्लको नाम चर्चामा छ । उनी दरख सुखड खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । एमालेका नेता विष्णु चौधरी लगायतका उम्मेदवारलाई हराएर खानेपानीको अध्यक्ष भएका मल्ल केही समयअघि भएको एमाले जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा पराजित भएका थिए । त्यसको केही समयपछि उनी राप्रपा प्रवेश गरेका हुन् । उनले टिकट पाए जित्ने राप्रपाको दाबी छ ।

राप्रपाका क्षेत्रीय उपाध्यक्ष सुनिल केसीले पछिल्लो समय तीव्र रूपले संगठन विस्तार भइरहेको र नागरिकको समेत विश्वास जित्न थालेको भन्दै घोडाघोडीको प्रमुखमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

‘पहिलेको भन्दा हामी अझै सशक्त भएका छौँ । घोडाघोडीको प्रमुखमा हामी जित्छौँ । केही वडाहरूमा पनि हाम्रो जित्ने सम्भावना बढी छ’ उनले भने ‘अहिले राष्ट्रियताको विषयमा जनताले राप्रपालाई माया गरिरहनु भएको छ ।’

गठबन्धन भए वा नभए के हुन्छ ?

घोडाघोडीमा अहिलेसम्म एमाले एक्लै निर्वाचनमा होमिने योजनामा छ । काँग्रेसबाहेकका दुई दल भने गठबन्धनको भरमा छन् ।

‘हामी एक्लै निर्वाचनमा होमिन्छौँ र जित्छौैँ एमाले कैलालीका उपसचिव समेत रहेका घोडाघोडीका नगरप्रमुख ममता प्रसाद चौधरीले भने, ‘हामी पहिलेभन्दा अझै बलियो भएका छौँ ।’

सत्तारुढ गठबन्धन भित्र रहेको नेपाली काँग्रेस घोडाघोडीमा गठबन्धन गर्न नहुने अडानमा छ ।

‘हामी एक्लै पनि जित्ने अवस्थामा छौँ’ नेपाली काँग्रेसका उपसभापति समेत रहेका घोडाघोडीका नेता भीम बडुवालले आइतबार पत्रकार भेटघाटमा भनेका थिए ‘हामीलाई गठबन्धनको आवश्यकता छैन । ’

बडुवालले भनेको जस्तै सत्तारुढ गठबन्धन भित्रै स्थानीय तहमा गठबन्धन नगर्ने सहमति भएका घोडाघोडीमा काँग्रेसलाई जित्न सहज भने छैन । बलियो अवस्थामा रहेको एमाले विभाजन भएको फाइदा उठाउँदै काँग्रेसले जित्ने दाबी गरे पनि काँग्रेसको उक्त दाबीमा माओवादी केन्द्र भने बाधक बन्ने देखिन्छ ।

यसअघिको निर्वाचनमा दोस्रो अवस्थामा रहेको माओवादी तेस्रो अवस्थामा रहेको काँग्रेस र एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीबीच गठबन्धन भए घोडाघोडीमा गठबन्धनका उम्मेदवार बलियो बन्ने सम्भावना छ ।

तर, तीनै दलले प्रमुखमा दाबी गरेका छन् । एक्लाएक्लै जित्ने दाबी गरिरहेको बेला तीनवटै दलका आकांक्षी उम्मेदवारलाई व्यवस्थापन गर्न भने गठबन्धनमा सकस छ । यता त्यही सकस र असन्तुष्टि समेत लिएर नेकपाको निरन्तरता स्वरूप ठूलो संख्यमा रहेका पूर्वमाओवादीहरूको मतबाट पनि निर्वाचन जित्ने एमालेको रणनीति छ ।


प्रतिक्रिया

One thought on “स्थानीय तह निर्वाचनः घोडाघोडीमा एमालेको किल्ला भत्काउने अन्य दलको तयारी

  1. स्वतन्त्र उमेदवार काेहि छैनन घाेनपा मा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर