एमाले अध्यक्ष ओली इलाम जाँदै, जनसभालाई ओली र नेम्वाङले संवोधन गर्ने – Nepal Press

एमाले अध्यक्ष ओली इलाम जाँदै, जनसभालाई ओली र नेम्वाङले संवोधन गर्ने

काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)बाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको एमाले इलामका अध्यक्ष महेश बस्नेतले बताए । खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको उनको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भने,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ । नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।  जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर