बेवारिसे बन्दै नेपाल वायुसेवा निगमको जग्गा – Nepal Press

बेवारिसे बन्दै नेपाल वायुसेवा निगमको जग्गा

सुदूरपश्चिम । नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ । जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो ।

जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ भने वरिपरि लगाइएको पर्खालसमेत ठाउँठाउँमा भत्किएको छ । झण्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन ।

सरकारी कार्यालय भएर पनि नेपाल वायुसेवाको जग्गा बेवारिसे बनेको र धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्ने जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आएका रसीतुल्लाले बताए ।
धनगढीमा सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय झण्डै पाँच वर्षअघि बन्द गरिएको थियो । धनगढी विमानस्थलबाट वायुसेवा निगमले आफ्नो जहाज उडाउन नसकेपछि धनगढीको कार्यालय पनि बन्द गरेको थियो ।

निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरालगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ । योसँगै धनगढी विमानस्थलमै निगमको कार्यालय सञ्चालन गरिएको छ । धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको निगमका एक कर्मचारीले बताए ।

यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गर्नुभएका स्थानीयवासी रमणचन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रियासँगै लापर्बाहीका कारण भाडामा लिन नसकिएको बताए ।

पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टीसमेत थुपार्ने गरिएको छ । जग्गा नजिकै रहेको खोलामा धनगढी उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न थालेपछि वातावरण थप दुर्गन्धित बनेको स्थानीयको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर