कहिले रोकिन्छ पत्रकार महिलामाथिको यौनहिंसा ? – Nepal Press

कहिले रोकिन्छ पत्रकार महिलामाथिको यौनहिंसा ?

चितवन । चितवनबाट पत्रकारिता क्षेत्रमा क्रियाशील महिलाहरूले सहकर्मीहरूबाटै यौन हिंसा भोग्नुपरेको बताएका छन् ।

जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत उनीहरूले आफूलाई सिनियर भन्ने पत्रकारहरूबाटै यौन हिंसा हुने गरेको बताएका हुन् ।

‘पत्रकार महिलाको आर्थिक अवस्था कमजोर छ भन्ने थाहा पाएपछि मोबाइलमा पैसा हालिदिने, सहयोग गर्ने नाममा सिनियर भनिएका दाजुहरूबाटै दुर्व्यवहार हुने गरेको छ’ पत्रकार पूजा परियारले भनिन्, ‘हामीमाथि कुदृष्टि राख्ने दाजुहरूलाई कसरी सार्वजनिक स्थलमा सम्मान गर्ने ?’

सोही कार्यक्रममा पत्रकार रविना पौडेलले भर्खरै पत्रकारितामा लागेका बहिनीहरूलाई मोटरसाइकलमा लिफ्ट दिने, समाचार लेख्न सिकाउने नाममा सहकर्मीहरूबाटै पनि यौनजन्य दुर्व्यवहार हुने गरेको बताइन् ।

‘कतिपय पत्रकार साथीहरू आफ्नो समस्या कोसँग भन्दा न्याय पाइँन्छ भन्ने पनि थाहा नपाएको अवस्था छ’ पत्रकार पौडेलले भनिन्, ‘समस्या भनिहाले फेरि काम गरिरहेको ठाउँबाटै पनि निकालिनुपर्ने हो कि भन्ने चिन्ताले पनि साथीहरूले समस्या सुनाउन पनि सकेका छैनन् ।’

प्रेस चौतारी नेपाल चितवन शाखाले जिल्लामा क्रियाशील पत्रकार महिलाहरूसँग अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले दुर्व्यवहारसँगै पत्रकार महिलालाई पारिश्रमिकमा समेत विभेद रहेको गुनासो गरेका थिए ।

काम लगाइदिने नाममा सञ्चार संस्थाहरूले नियुक्तिपत्र नै नदिने र नियुक्तिपत्र दिए पनि लेखिएअनुसारको सेवा सुविधा नदिने गरेको उनीहरूले गुनासो गरेका थिए । नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार जिल्लामा ६६ जना महिलाले पत्रकार महासंघको सदस्यता लिएका छन् । २०४७ सालदेखि जिल्लामा तत्कालीन पत्रकार संघ गठन भएपनि हालसम्म पत्रकार महासंघको अध्यक्ष महिला भएका छैनन् ।

तर, दलीय भागबण्डामा नपरेकै कारण १० वर्षभन्दा बढी पत्रकारितामा बिताएका महिलाहरूले पत्रकार महासंघको सदस्यता पनि नपाएको उनीहरूले बताएका थिए । पत्रकार महासंघले भनेअनुसारको कागजात पटक-पटक कार्यालयमा बुझाउँदा पनि आफूले सदस्यता नपाएको पत्रकार दीपा गौतमले बताइन् । के कागजात नपुगेको भनेर कहिल्यै सोधखोज भएन उनले भनिन्, कागजात पूरा हुँदा पनि महासंघको सदस्यता भने पाइएको छैन ।

प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य प्रतिमा सिलवालले पत्रकार महिलाले पत्रकारितामा रहेको विभिन्न खाले चुनौतीको कारण पेशालाई स्थायित्व नदिने पत्रकारितामै रहेकाले पनि वैकल्पिक पेशा खोज्ने गरेको बताइन् । उनले पनि आफ्नो पेशागत जीवनका यौनजन्य हिंसा भोग्नुपरेको र पटक पटक प्रतिकार गर्दै अघि बढेको बताइन् ।

सिलवालले कार्यपत्र पेस गर्दै पत्रकार महिलाहरुलाई हिंसाजन्य व्यवहार मात्रै होइन पत्रकारकै पेशागत संगठनका नेतृत्वमा पनि स्वीकार नगर्ने प्रवृत्तिका कारण अझै पनि पेशागत साथै पत्रकारिताको नेतृत्वमा महिलाको अवस्था कम रहेको उल्लेख गरेकी थिइन् ।

चितवनमा चार वटा दैनिक पत्रिका नियमित प्रकाशित हुन्छ । तिमध्ये एउटामा मात्रै महिला प्रकाशक छन् । १५ वटा साप्ताहिक पत्रिकामध्ये ३ वटामा प्रकाशक तथा सम्पादक तहमा महिला छन् । भने २० वटा रेडियो नियमित प्रसारणमा छन् । तीमध्ये २ वटामा मात्रै महिला सञ्चालक छन् । जिल्लाको पाँचवटा स्थानीय टेलिभिजनमा एकजना महिला सञ्चालक छन् भने ५० वटा अनलाइन समाचार पोर्टलमा ७ जना महिला सञ्चालक छन् ।

कार्यक्रममा वागमती प्रदेश सांसद रीना गुरुङले पत्रकार महिलाहरूमाथि अझै पनि यौन दुर्व्यवहार भोग्नुपर्ने अवस्थामा गम्भीर छलफल गर्नुपर्ने बताइन् । पत्रकार महिलाहरुमाथि हुने यौन दुर्व्यवहार नियन्त्रण गरी उनीहरूलाई पत्रकारितामा टिकाउन आफूले पहल गर्ने पनि उनको भनाइ थियो ।

सोही कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालले हिंसा तथा दुर्व्यवहार नसहन अनुरोध गरिन् । साथै पत्रकारितामा नयाँ पुराना सबै महिलालाई चुनौती रहेको भन्दै उनले पत्रकार महासंघले पत्रकार महिलाका समस्या सम्बोधन गर्न पहल गर्ने बताइन् ।

कार्यक्रममा पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाल, प्रेस सेन्टरकी केन्द्रीय सदस्य शान्ता अधिकारी, मिडिया नेपाल चितवनका अध्यक्ष समीक्षा पुरी लगायतले आफ्नो भनाइ राखेका थिए । सो कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर