भूमिकालाई अमेरिकाले दियो साहसी महिलाको अवार्ड


काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिलाको रुपमा ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई अवार्ड प्रदान गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसवर्ष २०२२ को पुरस्कार भूमिकालाई दिएको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
समुदायमा हक अधिकारको लागि गरेको अथक मेहेनतले यो पुरस्कारबाट भूमिका सम्मानित भएकी हुन् ।
भूमिका श्रेष्ठले सन् २००७ देखि नेपालमा तेस्रो लिङ्गीहरुको अधिकार र सामाजिक न्यायको वकालत गरिरहेकी छिन्। ट्रान्सजेन्डर विरुद्धको सामाजिक कलंक र ऐतिहासिक पूर्वाग्रहको बाबजुद श्रेष्ठले लैङ्गिक अल्पसंख्यक मान्यताको आन्दोलनको नेतृत्व गरेकी छन् ।
उनले २०२१ मा सफलता पूर्वक आफ्नो नागरिकता महिलामा परिवर्तन गरिन्। कोभिड–१९ को महामारीको समयमा श्रेष्ठले नेपाल सरकारसँग लेस्बियन, गे, बायसेक्शुअल, ट्रान्सजेन्डर, क्वियर र इन्टरसेक्स समुदायका आवश्यकताहरू नीतिगत स्तरमा पूरा भएको सुनिश्चित गर्न वकालत समेत गरेकी छन् ।
महिला दिवसको अवसरमा अमेरिकी राज्य विभागका राज्य सचिव एन्टोनी जे ब्लिन्केनले भर्चुअलमार्फत वार्षिक इन्टरनेशनल वुमन अफ करेज अवार्ड आयोजना गरेका हुन् । आज विश्वभरका बाह्र जना सहासी महिलाहरूलाई सम्मान गरेको दूतावासले जनाएको छ ।
नेपालीले यो प्रतिष्ठित अवार्ड जितेको यो दोस्रो पटक हो ।