आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग: खर्चिलो तर प्रभावकारी – Nepal Press

आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग: खर्चिलो तर प्रभावकारी

पानी नभएको ठाउँमा समस्या

काठमाडौं । तनहुँको दमौलीस्थित एक हार्डवेयर गोदाममा आगलागी भयो । बिहान १० बजेदेखि लागेको आगो निभाउन दमकल बोलाइएको थियो तर दमकलले पनि निभाउन सकेन ।

झण्डै २ घण्टपछि आगो निभाउनको लागि काठमाडौंबाट गएको सिम्रिक एअरको हेलिकप्टरले दमौलीको मादी नदीबाट नै बकेटमा पानी ओसारेर आगो निभाउन सफल भयो ।

हेलिकप्टरबाट पानी ओसारेर आगो निभाइएको यो पहिलोपटक भने होइन ।

२०७७ पुस १४ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको थियो ।

स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर पाँच पटक खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बच्यो ।

विशेष प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो ।

सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको पाथीभरामा पहिलोपटक हो ।

यस्तै २०७७ चैत २९ गते काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगो नियन्त्रण गर्न हेलिकप्टरबाट पानी खसालिएको थियो । सुन्दरीजलबाट पानी ओसारेर सिम्रिक एअरको हेलिकप्टरले आगो निभाएको थियो ।

यसैगरी २०७८ साउन २३ गते काठमाडौंको बालाजु औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको थियो । दमकलले पनि आगो निभाउन नसकेपछि आगो निभाउन हेलिकप्टरबाट पानी खन्याएको थियो । सिम्रिक एअरको हेलिकप्टरले एक निजी विद्यालयको स्वीमिङपुलबाट पानी ओसारेर आगो नियन्त्रणमा लिएको थियो ।

तनहुँ, काठमाडौं र ताप्लेजुङमा भएको आगलागी हेर्ने हो भने आगलागी भएको ठाउँसम्म दमकल पुग्न नसक्ने, स्थानीय स्रोत साधनलेपनि आगलागी नियन्त्रण गर्न नसक्दा आगलागी झनै फैलिएर ठूलो क्षति भएको थियो ।

आइतबार मात्रै काठमाडौंकै ढुंगेधाराको तरकारी बजारमा आगलागी भएको थियो । त्यहाँ दमकलको सहायताबाट आयो नियन्त्रणमा लिइएको भएपनि ठूलो क्षति भएको थियो । वर्षो आगलागीको घटनाहरु बढिरहेका छन् । गत वर्ष मात्रै चार गुणाले आगलागीको घटना बढेको थियो । बस्ती तथा जंगलमा आगलागी भएको छ भने सजिलै नियन्त्रणमा आउँदैन ।

दमकल अभावले समयमै आगलागी नियन्त्रण गर्न नसक्दा आगलागीले थप क्षति पुर्याइरहेको छ ।

जंगल वा ठूलो क्षेत्रमा फैलिएको आगो, साघुँरो गल्लीमा लाग्ने आगलागी, दमकल पुग्न नसक्ने ठाउँमा आगो नियन्त्रण गर्न कि त आकाशबाट पानी परेमा वा हेलिकप्टरबाट पानी ओसारेर आगलागी नियन्त्रण गर्नुको विकल्प छैन ।

अहिले ठूला आगलागीहरु र दमकलबाट निभाउन नसकिने आगलागी नियन्त्रण गर्न एक मात्र भर हेलिकप्टर छ । तर हेलिकप्टरबाट पानी ओसारेर आगलागी नियन्त्रण गर्न भने निकै खर्चिलो छ ।

दमौलीमा लागेको आगो निभाउन हेलिकप्टरको भाडा गृहमन्त्रालयले भुक्तानी गर्ने भनेर पत्र पठाएको सिम्रिक एअरका मार्केटिङ प्रमुख योगेश सापकोटाले बताए ।

उनले नेपालप्रेससँग भने, ‘उहाँहरुले पैसा हामी दिन्छौं भनेर पत्र पठाउनुभएको छ । दिनुहुन्छ होला ।’

सिम्रिक एअरले यसअघि आफनै खर्चले पाथीभरा, शिवपुरी र बालाजुमा लागेको आगो निभाएको थियो ।

प्रमुख सापकोटाले भने, ‘योभन्दा अगाडि त सबै हामीले च्यारिटी त हामीले हाम्रै खर्चमा नै गरिराखेको थियो । खर्च थुप्रै लाग्छ । तर आगलागीको कुरामा भने हामीले पैसा कमाउने भन्दा पनि ज्यान बचाउने हो ।’

प्रभावकारी तर खर्चिलो

आगलागी नियन्त्रणका लागि हेलिकप्टर पठाउने विषयमा गृहमन्त्रालयले हेर्छ । हेलिकप्टरबाट आगो निभाउन छिटो भएपनि खर्चिलो छ ।

आगलागी नियन्त्रण गर्न प्रतिघण्टा ३५ सयदेखि ४ हजार डलर अर्थात साढे ४ लाखको हाराहारीमा खर्च हुने सिम्रिक एअरको मार्केटिङ प्रमुख सापकोटा बताउँछन् ।

हेलिकप्टरले कति पटक पानी ओसार्यो भन्दा पनि कति घण्टा लाग्यो भन्ने हिसाब हुन्छ र त्यहीअनुसार खर्च निकालिने हुने उनी बताउँछन् ।
उनले भने, ‘हेलिकप्टर कति बेरसम्म उड्छ त्यही अनुसारको खर्च हुन्छ । बकेटले जति धेरै उचाइमा गयो त्यति नै थोरै पानी बोक्छ ।’
एक पटकमा बकेटले १ हजार लिटर पानी बोक्न सक्ने क्षमता हुन्छ ।

सिम्रिकबाहेक अरुसँग छैन आगो निभाउने हेलिकप्टर

अहिले साना ठूला आगलागीमा दमकल प्रयोग गरिरहेको भए पनि सबै ठाउँमा दमकलबाट आगो निभाउन सम्भव छैन । आगलागी एउटै विकल्प भनेको हेलिकप्टर नै हो । आगो निभाउन हेलिकप्टर प्रयोग हुन थालेको पनि धेरै समय भएको छैन ।

आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग कमै मात्रामा हुने भएकाले पनि होला नेपालमा ११ वटा हेलिकप्टर कम्पनी मध्ये एउटा हेलिकप्टर कम्पनी मात्रै आगलागी नियन्त्रणका लागि काम गर्छ । हालसम्म सिम्रिक एअरको हेलिकप्टरले मात्रै यसरी आगलागी भएको बेला पानी ओसार्ने गरेको छ ।

सरकारले सहकार्य गरेर सिम्रिकको यो सेवा नेपालभरि नै स्ट्यान्डबाइ राख्नुपर्ने आवश्यकता देखिएको सिम्रिक एअरको मार्केकिङ प्रमुख सापकोटा बताउँछन् ।

हेलिकप्टरले नदी खोला, स्वीमिङपुल पोखरीबाट पानी ल्याएर आगो निभाउने गरेको छ ।

उनले भने, ‘पोखरी, स्वीमिङ पुलबाट मात्र नभएर खोलामा पानी भए हामी खोलाबाट सिधै ल्याउँछौं । बगिराखेको खोलाबाट पनि पानी निकालेर ल्याउन सक्छ ।’

त्यसको लागि आवश्यक तालिमप्राप्त जनशक्ति राखेको उनले बताए । सिम्रिक एअरले सबै पाइलटहरुलाई तालिम पनि दिएको छ ।

‘विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौं’, उनले भने, ‘यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै छ ।’

पानी नभएको ठाउँमा कठिनः विपद् प्राधिकरण

पानी नभएको ठाउँमा हेलिकप्टरबाट आगो निभाउन सम्भव नहुने विज्ञहरु बताउँछन् । त्यसका लागि अर्को विकल्प सोच्नुपर्ने राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्मा बताउँछन् ।

आगो निभाउन हेलिकप्टर उत्तम विकल्प भए पनि सबै स्थानमा सम्भव नहुने राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ । आगलागी नियन्त्रणमा हेलिकप्टरको प्रयोग खर्चिलो र झन्झटिलो हुने गरेको छ ।

आगलागी नियन्त्रणका लागि हेलिकप्टर अन्तिम उपाय भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए ।

उनले नेपालप्रेससँग भने, ‘हेलिकप्टर त अरु कुनै विकल्प नहुँदाखेरि केही गरेर आगलागी नियन्त्रणमा लिन नसक्दा मात्रै हो । यो त अन्तिम उपाय मात्रै हो । हेलिकप्टरबाट आगो निभाउने भन्ने कुरा हाम्रो देशको क्षमताले धान्दैधान्दैन ।’

गाम्भीर्यता हेरेर मात्रै आगलागी नियन्त्रणमा हेलिकप्टर प्रयोग गरिने उनको भनाइ छ ।

गाउँघर नै सखाप हुन सक्ने, बस्तीमा नै पस्ने खतरा भयो भने आगो जे गरेर भएपनि नियन्त्रणमा लिनुपर्ने हुन सक्छ । तत्कालीन त्यहाँ एउटा विकल्प भनेको हेलिकप्टर मात्रै रहेका उनी बताउँछन् ।

उनी भन्छन, ‘तत्कालमा हामीसँग दमकल मात्रै हो । दमकलले पनि नियन्त्रण गर्न नसक्दाको अवस्थामा हेलिकप्टर प्रयोग गरिएको छ । यो हेलिकप्टरले दीर्घकालीन समाधान त हुँदै होइन ।’

अहिले शहरी क्षेत्रमा आगलागी नियन्त्रण गर्ने विकल्प भनेको दमकल नै हो । दमकल कै व्यवस्थापन गर्नुपर्छ भनेर स्थानीय तहसँग पनि भनिराखेको उनले बताए । आगलागी नियन्त्रणका लागि आगामी वर्षहरु योजना बन्ने उनले बताए ।

‘बस्ती र सांस्कृति धरोहर नजिकै ठूलो डढेलो लाग्यो भने आपतकालीन रुपमा हेलिकप्टरको प्रयोग हुनसक्छ तर जताततै हेलिकप्टरबाट आगो निभाउन सम्भव छैन’, प्राधिकरणका प्रवक्ता भट्टराईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *