श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली टोलीको घोषणा, एकदिवशीयमा पनि सन्दीपको कप्तानी


काठमाडौं । आईसिसी विश्वकप लिग-२ अन्तर्गत यूएई र पपुआ न्युगिनी सम्मिलित शृंखलाको तयारीका लागि श्रीलंकामा हुने अभ्यास खेलमा सहभागी हुने १६ सदस्यीय नेपाली टोलीको बिहीबार घोषणा भएको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीका सदस्यहरुमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादब, सागर ढकाल, पवन सर्राफ, करन केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम सार्की रहेका छन्।
नेपालले श्रीलंकाको प्रथम श्रेणी प्रतियोगिता खेल्ने टोलीसँग चार वटा अभ्यास खेल खेल्ने छ। नेपाली टोली मार्च १४ तारिखमा श्रीलंकाबाट यूएई प्रस्थान गर्ने छ। यूएईमा हुने त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोली १४ सदस्यीय रहने छ। अभ्यास खेलका लागि सन्दीपलाई कप्तानी दिइएकाले उक्त शृंखलामा पनि सन्दीपले नै नेपाली टोलीको कप्तानी गर्ने देखिएको छ।
यसअघि टी-२० राष्ट्रिय टोलीको कप्तानी गरिसकेका सन्दीपले एकदिवशीयमा पनि कप्तानी गर्न लागेका हुन। अनुशासन कारबाहीस्वरुप ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान बनाइएको थियो। ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखला र विश्वकप छनोटमा सन्दीपले नेपाललाई कप्तानी गरेका थिए। नेपाली टोली शनिबार श्रीलंका जाने छ।
विश्वकप लिग-२ मा एउटा टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नुपर्नेमा नेपालले हालसम्म २ वटा मात्र खेलेको छ। नेपालले ८ खेल खेल्दै ८ अंक जोडेर सात टोली सहभागी प्रतियोगितामा छैटौँ स्थानमा रहेको छ। विश्वकप लिग-२ का शीर्ष तीन टोलीले एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश पाउने छन्।