५२ जना केन्द्रीय सदस्य थप्ने राप्रपाको निर्णय, राजसंस्था फर्काउन आन्दोलन गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समितिको आकार बढाएको छ । आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य संख्या २५१ पुर्याउने निर्णय लिएको हो ।
राप्रपामा १९९ जना केन्द्रीय सदस्य रहने प्रावधान थियो । त्यसमध्ये महाधिवेशनबाट ९ वपदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । यस्तै अध्यक्षले ५० जना मनोनित गर्न सक्ने व्यवस्था थियो । त्यसमध्ये लिङदेनले ४६ जना मनोनित गरिसकेका थिए ।
आज बसेको वैठकले पार्टीको वृहत्तर हितलाई ध्यानमा राख्दै केन्द्रीय सदस्य र आवश्यकताअनुसार विभागहरुको संख्या थप गर्ने निर्णय लिएको छ । पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरुको परामर्शमा अध्यक्षले निर्देशन समिति, कार्य सम्पादन समिति र सल्लाहकार समितिमा मनोनित गर्ने अख्तियारी पनि केन्द्रीय कार्यसमितिले दिएको छ ।
यस्तै राप्रपाले निर्वाचन आयोगले ६ वटा मात्रै दललाई निर्वाचन चिन्ह दिने व्यवस्था सर्वसत्तावादी र विभेदारी रहेको भन्दै विरोध जनाएको छ । स्थानीय तह निर्वाचनमा राप्रपाले चुनाव चिन्ह प्राप्त गर्नका लागि आयोगलाई ध्यानाकर्षण गर्ने र जनसंघर्ष गर्ने निर्णय पनि पार्टीले गरेको छ ।
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुन:स्ठापना, भ्रष्टाचार विरुद्ध र जनजीपिवकाको लागि संघर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय पनि गरेको छ ।