नियुक्ति दिइएको २ महिनापछि भूमि आयोगका जिल्ला अध्यक्षको नाम सार्वजनिक (सूचीसहित)


काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगमा गुपचुप नियुक्त गरिएका २८ जिल्ला समितिका अध्यक्षको नामावली करिब दुई महिनापछि सार्वजनिक गरेको छ ।
भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले तीन दिनअघि राजपत्रमा सूचना निकालेर अध्यक्षहरूको नामावली सार्वजनिक गरेको हो ।
सूचीअनुसार सबैभन्दा बढी प्रदेश १ मा १० जिल्ला अध्यक्ष नियुक्त भएका छन् । वागमतीमा ६, गण्डकी र लुम्बिनीमा ४-४, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २-२ जिल्ला अध्यक्ष नियुक्त गरिएको छ ।
सरकारले आयोगको नियुक्तिमा भने समावेशितालाई ध्यान दिएको छैन । २८ जिल्ला अध्यक्षमध्ये एकजनामात्र महिला छन् । दलित भने शून्य छन् ।
पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लामा अध्यक्ष नियुक्त गरेको थियो । गुपचुपमा नियुक्त अध्यक्षहरूको विवरणसहितको समाचार नेपाल प्रेसले सार्वजनिक गरेको थियो ।
सोही दिन आयोगको रिक्त दुई सदस्यमा महाकाली नगरपालिका-७ दार्चुलाका गोबर्द्धन कोली र काठमाडौं महानगरपालिका-१५ की सरिता महर्जनलाई पनि नियुक्त गरिएको खुलेको छ ।
हेर्नुस् आयोगका नवनियुक्त सदस्य र २८ जिल्ला अध्यक्षको नामावली