‘पार्टी कार्यालय तोडफोड हुनुमा सुर्खेत प्रशासनको गैरजिम्मेवारपन’


सुर्खेत । एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका कार्यालय तोडफोड गर्न थालेपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ ।
वीरेन्द्रनगरको यरिचोक र मंगलगढी चोकमा रहेका प्रहरी विट जलाउने काम प्रदर्शनकर्ताले गरिरहँदा प्रहरी प्रशासन भने निरीह देखिएको सर्वसाधारणले टिप्पणी गरेका छन् ।
यरिचोकमा २१ जना प्रहरीमाथि आक्रमण गर्न गएका प्रदर्शनकारीले हिजो साँझ ढुंगा प्रहार गरेका थिए । सुर्खेतका सीडीओ खगेन्द्रप्रसाद रिजाललाई पत्रकार सुशिल खड्काले प्रहरीको ज्यान जोखिममा रहेको भन्दै खबर गरेका थिए । सीडीओ रिजालले भने आफू प्रहरी प्रमुख पदमबहादुर विष्टसँगै बसिरहेको भन्दै स्थिति सामान्य रहेको जवाफ फर्काए ।
त्यसपछि स्थानीयले नै प्रजिअ रिजाललाई भिडिओ पठाएपछि यरिचोकको प्रहरीलाई सघाउन एक घण्टापछि मात्रै प्रहरी पठाइयो ।
स्थानीयले सोही समयमा नै कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समेत फोनमार्फत जानकारी दिएका थिए । मुख्यमन्त्री शाहीले एसपी विष्टलाई मौखिक जानकारी दिएपनि तत्काल कुनै एक्सन नलिएको बताइएको छ ।
रक्सी खाएका प्रदर्शनकारी समूह उत्तेजित भएर नगर प्रहरी कार्यालय जलाउने भन्दै मंगलगढीतर्फ लाग्यो । मंगलगढीमा रहेको प्रहरी विट जलाएर नगरप्रहरी कार्यालयतर्फ आउँदै गर्दा बाटैमा रहेको उद्योग वाणिज्य संघको डिजिटल बोर्डमा क्षति पुर्याए समेत फूटाए । कांग्रेस पार्टी कार्यालयका झ्यालहरू फूटाइए र एमाले पार्टी कार्यालयमा आगजनीको प्रयास गरियो । राति ८ बजेपछि मात्रै आगो नियन्त्रणमा आयो ।
‘यो घटनालाई प्रहरी प्रशासनले हेल्चेक्रयाइँका रूपमा लिएको पाइयो । नगर प्रहरी कार्यालयको दाँया बाँया तीर रहेका पार्टी कार्यालयहरु फोडिनु र आगजनीमा पर्नु भनेको प्रहरीको निरिहताबाहेक केही होइन ’, सुर्खेत तरुण दलका अध्यक्ष हरि विष्ट भन्छन्, ‘प्रशासनको लापरवाहीका कारण प्रदर्शनकारीको हौसला बढेको र सोही कारणले आक्रमणको निशानामा पार्टी कार्यालय परेका हुन् ।’
स्थानीय लक्ष्मण शाहीले प्रशासनले ढिला कदम उठाएका कारण तोडफोड तथा आगजनी भएको बताए । ‘सायद आज कर्फ्यू लगाउनैपर्ने अवस्था आउने थिएन । बन्दकर्ताहरू भने पाँच बज्नुपूर्व नै कोणसभा गरेर पर्किसकेका थिए । उक्त प्रदर्शनमा सहभागी भएकाहरू अधिकांश बालकहरू थिए । उनीहरू यातायातका क्षेत्रमा काम गर्ने कामदार थिए ’, शाहीले भने ।
यता, मुख्यमन्त्री शाहीले सात बजे नै प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर स्थितिलाई नियन्त्रणमा लिन आवश्यक कदम उठाउन आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रहपछि मात्र कर्फ्यू लगाउने निर्णयमा सीडीओ रिजाल पुगेको स्रोतले बताएको छ ।
कर्फ्यूका बीच आज बिहान प्रदर्शनकारीसँगको झडपमा एक इन्सपेक्टरसहित १० प्रहरी घाइते भएका छन् । वीरेन्द्रनगर क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ ।
हिजोको तोडफोडको क्षति विवरण संकलन गर्न प्रहरी निरीक्षक कनक शाहीको नेतृत्वमा टोली खटाइएको छ । हालसम्म २३ जना प्रदर्शनकारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।