द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका ५७६ शिक्षकको व्यवस्थापन


काठमाडौं । द्वन्द्व तथा आन्दोलनको कारणबाट हटाइएका ५सय ७६ जना शिक्षक तथा कर्मचारीको व्यवस्थापन गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्व र आन्दोलनका कारण हटाइएका शिक्षकहरुको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार २ सय ३३ जना शिक्षकको पुर्नवहाली हुने छ । जसमा १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको हकमा सेवा सुविधा र दुई सय ८४ जना शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका हुन् ।
पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा गठित तत्कालिन कार्यदलले २०७३ मंसिर २६ गते दिएको प्रतिवेदन अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
जसमा २ सय ३३ जना शिक्षकको पुर्नवहाली गर्ने, प्रचलित कानुन बमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुर्नबहाली गर्ने, पुनर्बहाली हुने शिक्षकलाई विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्ता लगायतका सुविधा दिने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब, भत्ता, विदा, पोशाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने रहेका छन् ।
यस्तै पुर्नबहालीको लागि सिफारिस गरिएका शिक्षकमध्ये हाल उमेर हद पूरा गरेकाको हकमा ६० वर्ष उमेर पुगेको मितिसम्मलाई आधार मानि निजको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतम निवृत्तभरणका लागि बढीमा सात वर्ष अवधि जोड्ने र यसरी अवधिको थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने निर्णय भएको छ ।
विस्थापित भएपछि सार्वजनिक लाभको पदधारण गरेका व्यक्तिलाई पुनर्वहाली नगर्ने, त्यस्ता व्यक्तिको हकमा पहिलो पटक लाभको पदधारण गरेको मितिसम्मलाई आधार मानि निजको विस्थापित भएको अवधिमा ननाघ्ने गरी न्यूनतमका लागि बढीमा सात वर्ष अवधि जोड्ने रहेको छ ।
१८ जनाको हकमा स्थायी नियुत्ति पत्र लिएका तर हाजिर भइ कामकाज गर्न नपाएका शिक्षकलाई रिक्त दरबन्दीमा नियुक्ति गरी काममा लगाउने र विद्यालयमा हाजिर भएको मिति देखिको सेवा अवधि गणना गर्ने निर्णय गरेको छ ।
४१ जना शिक्षकको हकमा उमेरहदबाट अनिवार्य अवकास भएको वा मूत्यु भएको मितिसम्मलाई आधार मानि न्यूनतम निवृत्तभरण प्रयोजनका लागि बढीमा पाँच वर्ष अवधि जोड्ने, यसरी थप गर्दा पनि निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजका लागि एकमुष्ट पाँच वर्ष अवधि थप गर्ने, अवधि थप गर्दा निवृत्तभत्तरण पाउने व्यक्तिले यस अघि उपदान लिइसकेका भए सो रकम फिर्ता गरेपछि मात्र निवृत्तभरण पाउने निर्णय भएको छ ।
सेवाबाट हटाइएका दुइ सय ८४ जना अस्थायी शिक्षकका सम्बन्धमा निजले पाउने सञ्चित विरामी विदाको अलावा देहाय बमोजिमको एकमुष्ट आर्थिक सहयाता पाउने, तीन वर्षभन्दा कम सेवा अवधिका शिक्षकलाई एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै तीन वर्षदेखि पाँच वर्ष भन्दा कम सेवा अवधिका शिक्षकलाई एक लाख ७५ हजार, दुई लाख र दुई लाख ५० हजार, पाँच वर्षदेखि १० वर्षभन्दा कम सेवा अवधि भएका दुई लाख ५० हजार, दुई लाख ७५ हजार र तीन लाख, १० वर्षदेखि १५ वर्षभन्दा कम सेवा अवधिका शिक्षकलाई तीन लाख ५० हजार, चार लाख र चार लाख ५० हजार र १५ वर्ष र सो भन्दा सेवा अवधि बढी भएकालाई पाँच लाख, ६ लाख र ७ लाख उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।