विवेकशील साझाले भन्यो- एमसीसीमा थप राजनीति नहोस् – Nepal Press

विवेकशील साझाले भन्यो- एमसीसीमा थप राजनीति नहोस्

काठमाडौं । विवेकशील साझा पार्टीले निहित राजनीतिक स्वार्थका कारण एमसीसी पारित गरिएको टिप्पणी गरेको छ । एमसीसीमाथि अब थप राजनीति गर्नु नहुनेमा पनि पार्टीले जोड दिएको छ ।

साझा विवेकशीलका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको उल्लेख छ ।

‘सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदशृत उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ ।

एमसीसी कम्प्याक्ट सम्झौतालाई अन्त्यत्न गिजालेर चरम सत्ता दाउपेचको विषय बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

‘अन्तत: कुनै संवैधानिक र कानूनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अबका दिनमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको नेपालको भूराजनीतिक जटिलतालाई अझै बल्झाउनु हुने भन्दै पार्टीले त्यस्तो काम कसैबाट पनि हुनु नहुनेमा जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर