धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन – Nepal Press

धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन

कैलाली। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जान इच्छुक नभएको बताएका छन् । पछिल्लो पटक एमसीसीका कारण गठबन्धन कमजोर भइरहेको बताइएका बेला उनले एमाले सरकारमा जान इच्छुक नभएको प्रतिक्रिया दिएका हुन् ।

प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले सरकार जना इच्छुक छैन तर एमाले नभई देश नचल्ने अवस्था सृजना हुन पनि सक्छ। त्यो भएमा त्यहाँ जानु पनि पनि हुन सक्छ ।’

उनले आफूहरू एमसीसीबारे धारणा बनाउन तयार रहेको बताए । तर, त्यो भन्दा पहिले सरकारको तर्फबाट साझा धारणा आउन आवश्यक रहेको टिप्पणी गरे । एमसीसी पास गर्न वा नगर्ने भन्नेमा दुई तिहाइ नभई बहुमतले निर्णय गर्ने हुँदा सरकारलेनै पार लगाउनु पर्नेमा उनले जोड दिए ।

‘सरकार बहुमतमा छ । पास गर्न कर्तव्य सरकारको हो ’उनले भने, ‘यसमा दुई तिहाइ चाहिँदैन । सरकारले आफ्नो धारणा बनाएपछि हामी पनि एमसीसीबारे निर्णय गर्न तयार छौँ । ’ पाण्डेयले यस विषयमा सरकार नै अलमलमा रहेको बताए ।

उनले सरकारका रहेका दलहरूले दोहोरो चरित्र देखाइरहेको समेत आरोप लगाए । उनले भने, ‘सडक पनि मेरो सरकार पनि मेरो मान्न पाइन्छ रु दुई मध्य एउटा हुन्छ । ’

पछिल्लो केही दिन यता प्रधानमन्त्री शेरबहादुर देउवासँग भइरहेको छलफलबाट पनि कुनै निष्कर्ष आउन नसकेको उनले जनाएका छन्। उनले प्रधानमन्त्री अरू विषयमा भन्दा बढी एमसीसीकै बारेमा गम्भीर हरेको हुँदा सहमति हुन नसकेको जनाए ।

‘प्रधानमन्त्री एमसीसी पारित गर्ने कुरामा मात्रै चासो राख्नु हुन्छ हामी संसद्मा हाम्रो मुद्दा लिएर लडिरहेका छौँ ’ उनले भन ‘ रचनात्मक निष्कर्ष निकाल्न हामी तयार छौँ तर,भइरहेको छैन । एमसीसी पारित गर्ने उद्देश्यले मात्रै हामी संग वार्ता गर्न नआनुहोस् भनेका छौँ ।’

पाण्डेले सभामुखका विषयमा प्रस्ट नहुँदा सम्म प्रधानमन्त्रीसँग छलफल उपलब्धि पूर्ण हुन नसक्ने सङ्केत गरेका थिए ‘एमालेले केही सदस्यहरूलाई कारबाही गरेको थियो । त्यो बेला सभामुखले गलत गर्नु भयो । एमाले विभाजन गर्ने उद्देश्यले सभामुखले काम गर्नुभयो । त्यो गलत थियो ’ उनले भने, ‘त्यो मुद्दामा सरकारले के भन्छ । त्यसपछि हाम्रो विषयमा आउँछ ।’

पाण्डेले अहिलेको गठबन्धनबाट देश अघि बढ्न नसक्ने समेत बताएका थिए । उनले भने ‘यो गठबन्धनले मुलुकलाई अगाडी लैजान सक्दैन । चुनौती समाधान गर्न सक्दैन ।’उनले संकल्प प्रस्ताव पारित गर्ने कुराले पनि खासै अर्थ नराख्ने टिप्पणी गरेका थिए । त्यो गठबन्धन जोगाउने चलखेल भएको उनको बुझाइ छ।

‘संकल्प प्रस्ताव गरेर भएर पनि गठबन्धन जोगाउने काम सुरु भइरहेको छ । अमेरिकाले कुनै संशोधन गर्न चाहँदैन ’ उनले भने ‘त्यो भएर संकल्प प्रस्ताव गर्नुको पनि अर्थ छैन ।’ निर्वाचन समयमा हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘एमसीसीलाई गिजोलेर मुलुकलाई अँध्यारोमा तर्फ धकेल्नु हुँदैन , समाधान खोज्नु पर्छ । निर्वाचन समयमा हुनुपर्छ।’

देश आर्थिक सङ्कट तर्फ धकेलिँदै गएको समेत बताए । ‘बजारमा पैसाको अभाव सुरु भइसकेको छ । भएका रोजगारी पनि गुम्ने अवस्था सृजना भएको छ ’ उनले भने, स्वार्थमा गठबन्धन गरेर देशलाई सङ्कटमा धकेल्नु हुँदैन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर