संसद बैठक आज बस्दै, अर्थमन्त्री शर्माले एमसीसीबारे प्रस्ताव गर्ने कार्यसूची – Nepal Press

संसद बैठक आज बस्दै, अर्थमन्त्री शर्माले एमसीसीबारे प्रस्ताव गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार दिउँसाे बस्दैछ । दिउँसाे १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । साेही अनुसार आजकाे सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएकाे छ ।

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक(एक सांसद छन् ।

सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।

तर नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर