एमसीसी अनुमोदनमा कांग्रेसले लिखित निर्णय मागेपछि गठबन्धन जोगाउन प्रचण्डको अन्तिम कसरत – Nepal Press

एमसीसी अनुमोदनमा कांग्रेसले लिखित निर्णय मागेपछि गठबन्धन जोगाउन प्रचण्डको अन्तिम कसरत

गठबन्धन भत्काएर एमालेका माग सम्बोधन गर्न प्रधानमन्त्री सहमत

काठमाडौं । एमसीसी अनुमोदन पनि गर्ने र सत्ता गठबन्धन पनि जोगाउने उपायको खोजीमा रहेका माओवादी अध्यक्ष प्रचण्डसँग नेपाली कांग्रेसले संस्थागत निर्णय मागेको छ ।

शुक्रबार पटक पटक भएका छलफलमा प्रचण्डले माओवादी र नेकपा एसका मन्त्रीहरुले एमसीसी अनुमोदनका पक्षमा मत दिने र सांसदहरुले सदनको कारवाही बहिस्कार गरेर उपस्थित संख्याको बहुमतले पास गर्ने उपाय सुझाएपछि कांग्रेसले माओवादीको संस्थागत निर्णय मागेको हो ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि शुक्रबार राति प्रधानमन्त्री शेरवहादुर देउवा कांग्रेसका अरु नेतासहित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

सो भेटमा ओलीले माओवादीले एमसीसी अनुमोदन गर्छ भने गठबन्धनमा वहुमत भएकाले कुनै समस्या नरहने भन्दै एमालेको सहयोगका लागि भने आफूहरुलाई संसदको कारवाहीमा भाग लिने वातावरण बनाइनुपर्ने बताएका थिए ।

भेटमा कांग्रेस नेताहरुले माओवादीको भर नभएको र अन्तर्राष्ट्रिय समुदायका नेपालको प्रतिष्ठा जोगाउन तथा मुलुकलाई सही दिशामा लैजान पनि कांग्रेस र एमालेजस्ता प्रमुख लोकतान्त्रिक शक्ति यस्ता मुद्दामा एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री देउवा गठबन्धन भत्काएर एमालेसँग सम्झौता गर्ने तयारीमा अघि बढेपछि माओवादी र नेकपा एसभित्र संसदबाट संकल्प प्रस्ताव वा कुनै नामको एकतर्फी घोषणा गरेर भने पनि एमसीसी अनुमोदन गर्नुपर्ने र गठबन्धन जोगाउनुपर्ने दबाब बढेको छ ।

आज विहानको कार्यक्रममा पनि प्रचण्डले एमसीसीको समस्या समाधान हुने र गठबन्धन पनि जोगाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । तर कांग्रेसले एमसीसी अनुमोदन गर्ने लिखित र संस्थागत निर्णय प्रचण्डसँग मागेका कारण उनी पार्टीभित्र सके सर्वसम्मत नभए वहुमतको निर्णय भने पनि देखाएर लिखत बुझाउनेसम्मको मनस्थितिमा पुगेका छन् ।

माओवादीले निर्णय गरेमा नेकपा एसमा समस्या हुन्न । माओवादीमा नारायणकाजी श्रेष्ठ,वर्षमान पुन,कृष्णवहादुर महरा,मात्रिका यादव,लिलामणी पौडेल,देव गुरुङ लगायतका नेताहरु एमसीसीको विपक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् । तर मन्त्रीहरु र अन्य नेताले मध्यमार्ग खोज्न प्रचण्डलाई सुझाएका छन् ।

स्रोतले भन्यो–एमसीसी अनुमोदन नगर्दा गठबन्धन भत्किने,केपी ओली शक्तिमा फर्किने,आउने चुनावहरुमा माओवादीलाई सिध्याउने र जनयुद्धका उपलब्धी नै गुम्ने खतरा देखाएर प्रचण्डले एकल निर्णय लिने सम्भावना छ । त्यसो हुँदा आजै एमालेसँग देउवाले निर्णायक वार्ता गर्नुअघि कुनै लिखित प्रतिबद्धता दिने सम्भावना छ ।

एमाले र कांग्रेसबीचका चरणबद्ध वार्ताहरुपछि सहमतिको अनौपचारिक मस्यौदा समेत बनिसकेको र सुक्रवार राति देउवा बालकोटबाट फर्किएपछि वार्तामा सहभागी शंकर पोखरेल र प्रदिप ज्ञवालीबाहेकका ईश्वर पोखरेल,विष्णु पौडेल लगायतका नेताहरु पनि बालकोट गएकाले दुई दल सहमतिमा पुगिसकेको आँकलन प्रचण्ड र माधवले गरेका छन् ।

कुनै पनि हालतमा गठबन्धन जोगाउने मूल्यमा आज निर्णायक पहल हुने माओवादी नेताहरुले बताएका छन् । कांग्रेसले मन्त्रीले मत दिने तर सांसदहरुले वहिस्कार गर्ने विकल्प स्वीकार गरेको छैन । यसअघि सांसदको बहिस्कारकाबीच एमसीसी अनुमोदन गरेर गठबन्धन जोगाउने प्रस्ताव माओवादीले नै अश्वीकार गरेकाले अब त्यो च्याप्टर क्लोज भएको कांग्रेस नेताहरु बताउँछन् ।

देउवासँगै वार्तामा सहभागी हुने गरेका एक नेताले भने–अस्ति नै सैद्धान्तिक छलफलमै मत विभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने खेल बुझिसकेपछि हामी प्रचण्डको कुरा मान्ने अवस्थामा रहेनौं । त्यसपछि एमालेसँग एक खालको सहमति भइसकेकाले यो केटाकेटी खेल होइन । प्रचण्डले संस्थागत निर्णय गरेर एमसीसी अनुमोदन गर्ने लिखित प्रतिबद्धता ल्याए भने एउटा कुरा हो नत्र हाम्रो कुरा एमालेसँग अघि बढिसकेको छ । एमालेको माग सम्बोधन गर्न बाध्य हुने अवस्थामा पुगेका छौं ।

एमाले नेताहरु भने अन्तिम अवस्थामा माओवादीबाट प्रचण्डले एमसीसी अनुमोदनको निर्णय नै गरेर कांग्रेसलाई माइन्युट बुझाउने बुझाइमा छन् । त्यसैले एमालेले कांग्रेसलाई प्रष्ट भएरमात्र वार्तामा आउन भनेको छ । जनयुद्धका उपलब्धी नै गुम्ने खतरा देखाएर प्रचण्डले माओवादीको संस्थागत निर्णय प्रधानमन्त्रीलाई बुझाए भने आश्चर्य नहुने वार्तामा सहभागी भइरहेका नेताहरु बताउँछन् ।


प्रतिक्रिया

One thought on “एमसीसी अनुमोदनमा कांग्रेसले लिखित निर्णय मागेपछि गठबन्धन जोगाउन प्रचण्डको अन्तिम कसरत

  1. प्रचण्ड सत्ता र पैसाकाे भाेकाे हाे । उनी राजसी जीवनशैली विना बाँच्नै नसक्ने भैसके । एमसिसि, राष्ट्रघात कुनै पनि उनका लागि ठूला कुरा हाेईनन् । त्यसकारण एमसिसि अनुमाेदन गर्ने निर्णय गराए भने अहिलेसम्म बखेडा झिकेकाे चाहि अमेरिकासँग दाम झार्न हाे भन्ने कुरा बुझे हुन्छ । उनी जत्तिकाे लुटेरा, प्रतिगमनकारी, झुठ, छेपारे र दलाली गर्ने नेता अरू काेहि पनि देखिएका छैनन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर