सुर्खेत वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि झण्डै साढे ६ अर्ब बजेट सुनिश्चित


सुर्खेत । कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगरमा खानेपानी आयोजनाका लागि साढे ६ अर्ब बजेट सुनिश्चित भएको छ । खानेपानी वितरण संस्थानका अध्यक्ष कुलमणि देवकोटा र वल्र्ड बैंकका प्रतिनिधि बीच भएको समझदारीपछि बजेट सुनिश्चित हुने पक्का भएको हो ।
आयोजना निर्माणका लागि ६ अर्ब ५६ करोड रुपैयाँ सुनिश्चित भएपछि अबको केही वर्षभित्रमा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयको समस्या समाधान हुनेछ ।
भेरी नदीबाट उपत्यकामा ५६६ लिटर प्रतिसेकेण्ड पानी ल्याउने तयारी भइसकेको छ । सो परिणामको पानीले आगामी पचास वर्षसम्मको जनसंख्या वृद्धिदरलाई थेग्ने बताइएको छ ।
भेरी नदीबाट लिफ्ट गरि वीरेन्द्रनगरको अमृत डाडाँमा पानीलाई उपत्यकाका वितरण हुनेछ । संस्थानका अध्यक्ष देवकोटाले आगामी असार भित्रै तीन अर्व ५६ करोड बराबरको मुख्य काम सम्पन्न गर्न टेण्डरको तयारी अब सुरु हुने बताएका छन् ।
उनले भने, ‘पहिलो चरणमा भेरी नदिमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृत डाँडामा रिजर्वेशन ट्याकीं स्थापना गर्ने, वांगेशिमल देखि अमृत डाडाँसम्मको मुख्य पानी प्रसारण लाईन विस्तार गरिनेछ । फोरलेन सडकको दुवै तर्फ पानी प्रसारणलाईन विस्तार हुनेछ ।’
दोश्रो चरणका लागि हामी वितरणलाईन, रिर्जवेशन ट्याकींको समेत डीपीआर कार्यक्रम अघि बढाउने उनले बताए । दोश्रो चरणका लागि कम्तिमा पनि तीन अर्व लाग्ने प्रारम्भिक अध्ययनले देखाएको उनको भनाई छ ।
बैंकले ६ अर्ब ५६ करोड रुपैंयाको ८० प्रतिशत व्यहोर्नेछ भने बाँकी रकम स्थानीय उपभोक्ता, वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले व्यहोर्ने समझदारी समेत बनेको छ ।
अध्यक्ष देवकोटाले नेपालको सन्दर्भमा यो ठूलो परियोजना भएको दाबी गरे । उनले तीन वर्षमा आयोजना सम्पन्न हुने पनि बताएका छन् ।