प्रशासनको धम्कीपछि ‘सुरक्षित ट्रान्सफर’ खोज्दै नोबेल कलेजका पीडित विद्यार्थी – Nepal Press

प्रशासनको धम्कीपछि ‘सुरक्षित ट्रान्सफर’ खोज्दै नोबेल कलेजका पीडित विद्यार्थी

काठमाडौं । अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस स्नातक तहमा भर्ना भएका विद्यार्थी आतंकित छन् । कारण हो, कलेज प्रशासनको धम्कीपूर्ण फोन र म्यासेज ।

डाक्टर बन्ने सपनासहित १४ लाख रुपैयाँ तिरेर कलेज भर्ना भएका विद्यार्थीलाई जबरजस्त अतिरिक्त शुल्क तिर्न धम्कीपूर्ण फोन तथा म्यासेज आउन थालेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीसँगै अभिभावकलाई पनि रकम तिर्न धम्की आइरहेको विद्यार्थीहरुको भनाइ छ । कलेजले निरन्तर अतिरिक्त शुल्क तिर्न धम्की दिन थालेपछि पीडित विद्यार्थीले सुरक्षित ट्रान्सफर खोजिरहेका छन् ।

कलेजले एमबीबीएस स्नातक तहको प्रथम वर्षको विद्यार्थीलाई अतिरिक्त शुल्क तिर्न दबाब दिँदै आएको थियो । तर चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी रकम नतिर्ने अडान राख्दै विद्यार्थीहरु तीन महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।

नोेबेलले एमबीबीएस प्रथम वर्षको फिबाहेक होस्टललगायतका शुल्क गरेर २४ लाख रुपैयाँ दिएमात्रै पढ्न दिने धम्की दिएपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

अतिरिक्त शुल्कको विषयबाट सुरु भएको आन्दोलन अहिले शैक्षिक सुरक्षा, भौतिक तथा शान्ति सुरक्षासँग गाँसिएको छ ।

अहिले कलेजबाट फेक अकाउन्ट बनाएर दिनहुँ धम्की आइरहेको कलेजका पीडित विद्यार्थी आयसा पराजुलीले बताइन् । उनले भनिन्, ‘फेक आइडी, फेक नम्बरबाट म्यासेज गर्नुहुन्छ उहाँहरुले । यहाँ भर्ना नगराएर कहाँ गराउँछस् भनेर धम्याउनु हुन्छ । जसकारण कलेज जानसक्ने अवस्था छैन ।’

आन्दोलनको अग्रपंक्तिमा रहेका विद्यार्थीले सुरक्षा चुनौतीको महसुस गरेका छन् । ‘यसै पनि पहिला पैसा तिर्न ल्याएको ऋणको तनाव छ’, आयसाले भनिन्, ‘अब हामीलाई छिटोभन्दा छिटो सुरक्षितरुपमा स्थानान्तरण गर्नु पर्छ, नत्र धेरै गाह्रो हुने भयो ।’

स्थानान्तरणका लागि चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयदेखि सबै नियामक निकाय धाउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

आन्दोलनले निकास पाएन

विगत दुई महिनाभन्दा बढी समयदेखि चलिआएको नोबल मेडिकल कलेजविरुद्ध विद्यार्थीले गरेको आन्दोलनले अझै निकास पाएको छैन । जिल्ला प्रशासन कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म यस विषयमा जानकार छन् । तर पनि आन्दोलनले निकास पाउन सकेको छैन ।

प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा निवदेन दिएपनि माग सुनुवाइ नभएको पीडित विद्यार्थी अमृत खड्काले बताए ।

‘नियमसंगत पढ्न पाउने र कक्षा लिन पाउने अधिकारबाट बञ्चित भएका छौं’, उनले भने, ‘स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका सम्बन्धित कुनै पनि नियामक निकायमा धाउँदा पनि सबैले आश्वासन मात्र दिने तर टुंगो कसैले लगाएको छैन । हामी अलपत्र परिसकेका छौं ।’

कक्षा सञ्चालन भएको दुई महिना बढी भइसक्यो तर अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीले भने पढ्न पाएका छैनन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले अतिरिक्त शुल्क माग्ने नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालकहरुलाई कारबाही गर्न गृहमन्त्रीलाई गुहारेका थिए । तर गृहमन्त्रीले दोषी ठहरिए कारबाही गर्ने भन्दै पन्छिए ।

कलेजका सञ्चालक सुनिल शर्मा नेपाली कांग्रेसनिकट भएकाले गृहमन्त्री बालकृष्ण खाण पन्छन खोजेको आरोप छ ।

कार्यान्वय भएन आयोगको निर्देशन

गत पुस ५ गते चिकित्सा शिक्षा आयोगबाट प्रकाशन गरिएको सूचनाले शिक्षण शुल्क ४४ लाख ३६ हजार २५० रुपैयाँ लिन निर्देशन दिएको थियो । तर पनि आजसम्म अतिरिक्त शुल्क नलिइ नोबेलले भर्ना नलिएको, कक्षा संचालन नगरेको आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीसँग विद्यार्थीले गुनासो गरेका छन् । आयोगले विद्यार्थीलाई ‘बढी शुल्क नतिर्नुहोस्, अनिवार्य छैन’ भनेको छ । तर कलेज प्रशासनले आफूलाई ऐन र कानूनभन्दा माथि ठानेको उनीहरुको गुनासो छ ।

ट्रान्सफरका लागि झन्झट छः विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयले नोबेल कलेजका विद्यार्थीको स्थान्तरण गर्न ‘झन्झट हुने’ बताएको छ । केयूकी प्रवक्ता इकुमाया पुनले विद्यार्थीले उजुरी गरे माथिल्लो निकायले नै निर्णय लिने बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘हामीले अहिलेसम्म कलेज ट्रान्सफर गराएका छैनौं । विद्यार्थीले पठाएको पत्र केयूमा आइपुगेको जानकारी छैन । अहिले कलेज ट्रान्सफर गर्दा के के समस्या हुन्छ, त्यो पनि बुझनुपर्छ, सबै मिलाउनुपर्ने हुन्छ । अब ट्रान्सफरको लागि निवेदन आयो भने पनि माथिल्लो निकायबाट नै त्यसको टुंगो लाग्छ ।’

शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई नोबेलका पीडित विद्यार्थीले सुरक्षित कलेज स्थानतरणका लागि पत्र लेखेको गत माघ १७ गते नै हो । तर स्थान्तरणको माग राख्दै निवेदन दिएको एक महिना हुन लाग्दासमेत सरोकारवाला निकाय मौन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *