नारी: साधन कि समाधान – Nepal Press
ब्लग

नारी: साधन कि समाधान

धर्मका केही सवालमा बाहेक नारीलाई सम्मान नै गरिएको पाइन्छ । कतिपय सवालमा भने नारीलाई शृङ्गार र उपभोगका लागि प्रयोग हुने साधन जस्तो गरी पनि व्याख्या गरेको पाइन्छ । सारमा भन्ने हो भने– सबैजसो धर्मले समग्रमा नारीलाई इज्जत दिएको छ ।

धर्मशास्त्रमा महिलालाई कमजोर ढंगमा प्रस्तुत गरिएका कतिपय मान्यतालाई परिवर्तन वा संशोधन गर्नुपर्ने स्थिति छ । शास्त्रलाई सुधारेर व्याख्या गरिने क्रमलाई ‘धार्मिक क्रान्ति’ भन्न जाति हुन्छ, जुन आधुनिक धर्मका अभियान्ताहरुले गरिरहेका छन् ।

प्राचीनकालीन नियमकानूनका दृष्टिमा पनि महिला पुरुषभन्दा निम्न दर्जामै किटान गरिएको पाइन्छ । आधुनिक नियम कानूनमा भने महिलाको पक्षमा वकालत भएको पाइन्छ ।

नेपालको संविधानले महिला र पुरुषबीच भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । तर व्यवहारमा भने पालना भएको छैन । महिला समानताको सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धिहरुमा नेपालले हस्ताक्षर गरेको छ, प्रतिबद्धता जनाएको छ । तर त्यो कागजमा मात्र सीमित भएजस्तो देखिन्छ । हामी महिला सशक्तीकरणको वकालत त गर्छौं तर समाजमा भइरहेका घटनाहरुले सशक्तीकरणका मुद्दाहरु ‘जगहाँसो’को विषय मात्र भइरहेका छन् ।

यसको उदाहरण हाम्रै टोल छिमेकमा प्रशस्त देखिन्छन् । ‘मै हुँ’ भन्ने पुरुषले महिलामाथि हेर्ने दृष्टिकोणलाई विश्लेषण गरे हुन्छ । उनीहरुको बुझाइ र गर्ने व्यवहार १५ औं शताब्दीको जस्तो दास मानसिकताबाट माथि उठ्न सकेको छैन । विभिन्न सभा–समारोहमा ‘म आर्दश पुरुष हुँ’ भन्नेहरुले ‘महिला भनेर हेंला गर्नु हुँदैन, भेदभाव गर्नु हुँदैन, सधै सकरात्मक सोच्नुपर्छ’ भनेर भाषण गरिरहेका हुन्छन्, तर भाषण सकिन नपाउँदै आफ्नो कुरा आफैंले उलङ्घन गर्दै हिँड्छन्, व्यवहारमा लागू गर्दैनन् ।

प्राचीनकालीन नियम कानूनका दृष्टिमा पनि महिला पुरुषभन्दा निम्न दर्जामै किटान गरिएको पाइन्छ । आधुनिक नियम कानूनमा भने महिलाको पक्षमा वकालत भएको पाइन्छ ।

कोही महिला पुरुषसँग गफ गरिरहेको, हिँडिरहेको, चियाकफी वा खाजा खाइरहेको देख्यो भने ती पुरुषहरुले कुरा काटिरहेका हुन्छन् । महिलाको अस्मितामाथि प्रश्न उठाउँदै चिया पसलमा बसेर उडाइरहेका हुन्छन् । कतिपय महिलाहरु अवैध गर्भधारण गरेपछि बाबुविनाको बच्चा जन्माएर बसेका छन् । महिला र अबोध बालकमाथि अपराध गर्ने पुरुषहरु नै हुन्, तर त्यहाँ महिलाकै कुरा काटिन्छ ।

अझै पनि हाम्रो समाजमा महिला कोही पुरुषसँग बोल्यो भने बात लगाउने, कहींकतै गएर केही कुरा सिकायो भने ‘पोथी बासेको राम्रो हुँदैन’ भन्ने गरिन्छ । पुरुषप्रधान समाजमा जन्मिएको भन्दै घमण्ड गर्ने केही पुरुषसँग मेरो कुराकानी भएको छ । उनीहरुभित्रको दम्भमा पुरुषवादी सामाजिक मनोविज्ञान झल्किरहेको पाइन्छ । उनीहरुलाई एकचोटि गहिरिएर सोच्न आग्रह गर्दछु, ‘तिमीलाई जन्म दिने आमा के हुन्, महिला कि पुरुष भनेर ?’ पक्कै पनि जन्म दिने काम महिलाले गर्छिन् । त्यहीं पुरुष फेरि महिलामाथि नै अपमान गर्छ ।

हो, म पनि एक नारी हुँ । म पनि समाजमा केही योगदान गर्छु संघर्ष गरिरहेकी छु । उमेरसँगै करिअर बनाइरहेकी छु । किशोर अवस्थापछि आउने केही भुलहरुलाई सच्याउँदै आफूलाई सामाजिक कार्यकर्ताझैं सेवाभावपूर्ण जीवन चरित्रमा बदल्न खोजिहरेहेकी छु । मैले जस्तै सबै महिलाले गर्ने यस्तै हो । तर पनि महिलालाई परिपक्व सामाजिक नेतृत्वमा हात हाल्न किन पुरुष नै बाधक भइरहेका छन् ?

के नारी भएकै कारण कुनै पनि पुरुषसँग कुनै पनि खालका सम्बन्ध राख्नु नहुने हो त ? कुनै कार्यक्रममा सहभागी हुन गएको बेला होस् या त कामको सिलसिलामा, कोही पुरुषसँग हाँसेर गफ गरेको देख्यो किन अनेक कुरा काटिन्छ ? महिलालाई पनि मर्यादित जीवन बाँच्न पाउने अधिकार छ भन्ने कुरा सोचेर पुरुषहरुले सोचिदिए कति राम्रो हुने थियो ।

सबै पुरुषले एकचोटि नारीलाई सकारात्म दृष्टिबाट हेर्न आग्रह गर्दछु । महिला र पुरुषमा भिन्नताहरु के–के छन् विचार गरौं । दुवै मानव हुन्, दुवैको उतिकै नैसर्गिक अधिकार छन् । शारीरिक अंगहरुमा केही भिन्नता भएकै कारण साधन ठानिनु पर्दा कति पीडा हुन्छ ? एउटा मानवले अर्को मानवलाई साधन ठाने भेदभाव, अपमान गर्नु पाप हो ।

नारीले यो संसार सञ्चालनको प्रणालीलाई धानेको सत्य प्रष्ट छ । तर आमाले नै जन्माएका केही ‘कुपात्र’ भोलि आमा हुने वा अरु कसैकी आमामाथि हावा बोलेर किन जग हँसाइरहेका छन् ?


प्रतिक्रिया

One thought on “नारी: साधन कि समाधान

  1. यत्र नार्यस्तु पुज्यन्ते:रमन्ते तत्र देवता ।
    यत्रैतास्तु नपुज्यन्ते:सर्वस्त्र त्राफाला क्रिया ।।

Leave a Reply to जयकुमार घिमिरे Cancel reply

Your email address will not be published. Required fields are marked *