एक वर्षपछि ओली-प्रचण्ड वान टु वान, दुई पार्टी वार्तामा तीन बुँदे शर्त – Nepal Press

एक वर्षपछि ओली-प्रचण्ड वान टु वान, दुई पार्टी वार्तामा तीन बुँदे शर्त

काठमाडौं । नेकपाकालीन तिक्ततापूर्ण विभाजनपछि पहिलोपटक केपी ओली र प्रचण्डबीच खुलेर छलफल भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरुमा दुई नेतामात्र वान टु वान वार्ता गरेका थिए । त्यसपछि वार्तामा अन्य नेता पनि मिसिए ।

२०७७ पुस ४ गते एउटै पार्टीका अध्यक्षको हैसियतमा दुई नेताबीच खुमलटारमा अन्तिम वार्ता भएको थियो । आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गर्दै खुमलटार पुगेका ओलीलाई प्रचण्डले उनको प्रस्ताव अश्वीकार गरेर फर्काएपछि भोलिपल्ट प्रतिनिधिसभा विघटन भएको थियो ।

विघटनपछि नेकपा राजनीतिक रुपमा विभाजित भयो । त्यसयता दुई नेताबीच टेलिफोन र त्रिपक्षीय बैठकमा भेट भएपनि एमाले र माओवादी अध्यक्षका रुपमा औपचारिक तथा विस्तृत छलफल भएको थिएन ।

बिहीबारको वार्तामा एमालेबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए भने माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत थिए । तर दुई अध्यक्षबीच गोप्य छलफलपछिमात्र उनीहरु सहभागी भए ।

दुवै नेताले गरेको व्रिफिङ अनुसार प्रचण्डले विगतमा जे भए पनि अब नयाँ ढंगले मिलेर जाऔं भन्ने प्रस्ताव राखेका थिए । जवाफमा ओलीले सम्बन्ध सुधारका लागि तीनवटा मुख्य शर्त अघि सारे ।

त्यो भनेको हामीलाई संसदको कारवाहीमा भाग लिनका लागि वातावरण चाहियो । त्यसका लागि पहिलो कुरा नेकपा एमालेले अनुशासन उल्लंघनमा कारवाही गरेका माधव नेपालसहित १४ सांसद निष्कासनको सूचना सभामुखले टाँस्नुपर्छ ।

यदि त्यसो नहुने हो भने सभामुख अग्नि सापकोटाले राजिनामा दिएर निकास खोल्नुपर्छ । त्यति भयो भने एमालेले सदनको कारवाहीमा भाग लिएर एमसीसी लगायतका विषयमा छलफल गर्ने ओलीले बताएका थिए ।

प्रचण्डले संवाद र सम्बन्ध सुधारका लागि राखेको प्रस्तावमा ओलीको अर्को शर्त भनेको विगतमा नेकपाको अध्यक्ष हुँदा आफूविरुद्ध प्रचण्डको अगुवाईमा लगाइएको १९ पेज लामो उनकै भाषामा ‘अपराधिक आरोपपत्र’ खारेज गरेको सार्वजनिक घोषणा गर्नुपर्छ ।

यी तीनै विषय लगायत अन्य विषयमा दुई अध्यक्षबीच विस्तृत कुराकानी भएपनि बिहीबारको वार्तालाई संवादको सुरुवातका रुपमा लिइएको वार्तामा सहभागी एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

यी कुनै विषयमा ठोस जवाफ प्रचण्डबाट नआएको नेताहरुले नेपाल प्रेसलाई बताए । माओवादी अध्यक्ष प्रचण्डले एमसीसीमा जे गर्ने हो राष्ट्रिय सहमतिबाट हुनुपर्ने भन्दै आफूहरु आज एमालेका र विशेषगरि केपी ओलीका सबै कुरा सुन्न सक्ने सामर्थ लिएर आएको बताएका थिए ।

विगतमा दुवै पक्षबाट कमिकमजोरी भएका भन्दै प्रचण्डले ती गल्ति र कमजोरी सच्याउँदै,आत्मसमिक्षा गरेर अघि बढ्न तयार रहेको बताएका थिए । ओलीले भने आफूले भनेका तीन कुरामा प्रचण्ड तयार हुँदामात्र नयाँ कोर्षमा जान सकिने बताएका थिए ।

माओवादीले पछिल्लो समय एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने अनौपचारिक प्रस्ताव समेत अघि बढाएको थियो । तर एमालेले भने त्यसमा चासो दिएको छैन । वार्तामा सहभागी माओवादी नेता शक्ति बस्नेतले सबै विषयमा छलफल भए पनि यसलाई संवादको सुरुवातमात्र मानिएको बताए ।

माओवादी र एमालेका शीर्ष नेताहरुको बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै माओवादी नेता शक्ति बस्नेतले आ-आफ्ना कुरा राख्ने काम भए पनि ठोस सहमति नभएको बताए । उनले एमालेले संसद खुलाउन आफ्ना पूरानै अडान दोहोर्याएको जानकारी दिए ।

माओवादी एमाले वार्ता लगत्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रतिक्रान्ति सन्निकट छ भन्दै पार्टी पंक्तिलाई तयार रहन आग्रह गरेर ट्वीट लेखेका छन् । यसले ओलीसँगको वार्ताबाट प्रचण्ड निरास भएको अनुमान लगाउन सकिन्छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले क्रान्ति र प्रतिक्रान्तिको विषयमा वार्ता नभएको बताउँदै दलहरु सबै आ-आफ्ना अडानमा रहेको बताए । उनले आफूहरुको कांग्रेस र माओवादीसँग गोप्य कुनै सम्झौता नहुने र सबै कुरा जनताले थाहा पाउनेगरि हुने भन्दै एमालेले ६ महिनादेखि सदनमा सहभागिताका लागि उठाएको माग सम्बोधन हुनुपर्ने बताए ।

नेकपाकालमा प्रचण्डले पूर्व एमालेभित्र खेलेर माधव नेपाल, झलाथ खनाल र बामदेव गौतमको उक्साहटमा आफूलाई सरकार र पार्टीबाट अपदस्त गर्ने तथा एमाले र सूर्य चिन्ह कब्जा गर्ने षडयन्त्र गरेको ओलीको बुझाइ छ । उनले आफूविरुद्ध कात्तिक अन्तिम साता तत्कालीन नेकपा सचिवालयमा प्रचण्ड माधवहरुले पेश गरेको अभियोगपत्र फौजदारी प्रकारको रहेको र त्यो आरोपपत्र नै नेकपा विभाजन तथा संसद विघटनको मूल कारक रहेको कुरा फेरि पनि दोहोर्‍याएका छन् ।

यद्यपी प्रचण्डले भने विगतमा केही कमजोरी दुवै पक्षबाट भएको तर पार्टी एकता सही थियो भन्दै नयाँ तरिकाबाट अघि बढ्न सकिने बताएका थिए । उनले एमसीसीमा एमाले र माओवादीको एउटै धारणा बनाउन समेत आग्रह गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर