आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। प्रतिनिधिसभामा अनुमोदनका लागि पेश भएको अमेरिकी सहयोग (एमसीसी)को विरोध प्रदर्शनमा  प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग भएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ ।

आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन आयोगले सरकार एवम् सम्बद्ध निकायलाई आग्रह गरेको हो ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीबाट समेत आवश्यकताभन्दा बढी बल प्रयोग भएको आयोगको अनुगमनबाट पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

गत ८ गते काठमाडौँको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले सडक छेउमा ओच्छ्याइएको ढुङ्गा, इट्टालगायतले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २१ जना सुरक्षाकर्मी तथा केही प्रदर्शनकारीहरु घाइते भएको र उक्त क्षेत्रमा रहेका सर्वसाधारणका पसल तथा भौतिक संरचनाहरुमा समेत क्षति पुगेको पाइएको आयोगले जनाएको छ ।

विरोध प्रदर्शनको आयोगले स्थलगत तथा विभिन्न माध्यममार्फत नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।आयोगले बिहीबार विज्ञप्ती जारी गर्दैै प्रर्दशनमा विरोध र असहमतिको नाममा हिंसात्मक कार्य हुनु अत्यन्त दुःखद र खेदजनक भएको बताएकाे छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘शान्तिपूर्ण रुपमा भेला हुने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने संवैधानिक तथा मौलिक हक भए तापनिविरोध र असहमतिको नाममा हिंसात्मक कार्य हुनु अत्यन्त दुःखद र खेदजनक छ । यस्ता कार्य मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र २०, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ र नेपालको संविधानको धारा १७ को समेत विपरीत भएको छ ।’

साथै, आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपुर्याउन आयोगले विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन तथा सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *