केपी ओलीको जन्मदिनमा बुबा भन्छन्- पाँच सयमा हलगोरु बेचेर आउँदा छोरो भेट्न पाइनँ (भिडिओ) – Nepal Press

केपी ओलीको जन्मदिनमा बुबा भन्छन्- पाँच सयमा हलगोरु बेचेर आउँदा छोरो भेट्न पाइनँ (भिडिओ)

सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने प्रेरणाको स्रोत मेरी हजुरआमा : केपी ओली

काठमाडौं । तीन वर्षअघि नेपाल स्काउटले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकासँग भेट गराउँदा एउटी बालिकाले सोधिन्- तपाईंको प्रेरणाको स्रोत को हो ?

त्यो प्रश्नले ओली भावुक भए । कारण उनले आफ्नी आमाको अनुहार नै देख्न पाएका रहेछन् । तीन वर्षको उमेरमै आमा गुमाएका ओलीलाई हजुरआमाले हुर्काएको सुनाएका थिए । आफ्नो जीवनको प्रेरणाको स्रोत हजुरआमा भएको सुनाउँदै उनले भनेका थिए- सत्मार्गमा लाग्ने र शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने प्रेरणाको स्रोत मेरी हजुरआमा हो ।

ओलीले हजुरआमा र आफ्नो बाल्यकालबारे यसरी सुनाएका थिए:-

मेरी आमा बित्दा ३ वर्षको थिएँ । मेरो मुख्य आदर्श हजुरआमा रहनुभयो । मैले साँचो बोल्ने, सदव्यवहार गर्ने, परोपकारी धारणा राख्ने, मान्छेलाई माया गर्ने कसैप्रति भेदभाव नराख्ने गुणहरु हजुरआमाले सिकाउनुभयो ।

श्रमलाई माया गर्ने, मेहनती हुनुपर्छ भन्ने र हामीले केही राम्रो काम गर्नुपर्छ र अरुको नजरमा नगिर्ने खालको ,अरुले नराम्रो नभन्ने खालको काम गर्नुपर्छ भन्ने शिक्षा र प्रेरणा मैले हजुरआमाबाट प्राप्त गरेँ । मेरो प्रेरणा मेरी हजुरआमा हो । हुन त अरु अभिभावक र शिक्षक शिक्षिकाहरूबाट पनि प्रेरणा पाएँ ।

मैले अहिले जुन भन्ने गर्छु, शक्तिसँग डराउनु हुँदैन, शक्ति आवधिक र अस्थायी हुन्छ, सत्य अस्थायी हुँदैन । सत्यको पालना गर्नुपर्छ त्यो कुरा मैले मेरी हजुरआमाबाट सिकेको थिएँ । मेरो जीवनमा सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने आदर्श हजुरआमा हो । मेरो जीवनलाई प्रभावित गर्ने मूल प्रेरणा हजुरआमाबाट प्राप्त गरेको हो ।

मैले सानैमा म हुर्किएको समाजमा अनुचित कुराहरु देखेँ, बेठीक कुराहरू देखेँ । ती बेठीक कुरा आफैं ठीक हुँदैनन्, संघर्ष गर्नुपर्ने रहेछ । जनतामा चेतनता ल्याउनुपर्ने रहेछ । संगठित रूप दिनुपर्ने रहेछ । त्यसपछि म त्यसकाममा लागेँ । निरंकुशतन्त्र भएको व्यवस्थामा प्रधानमन्त्री हुन्छु भन्ने सोच्नु त धेरै परको कुरा थियो । बरु जेल जानुपरे जान्छु भनेर सामाजिक न्याय समानताको लोकतन्त्र ल्याउँछु भन्ने सोचेर हिँड्ने उद्देश्य वैयक्तिक हुँदैनन् ।

मेरो उद्देश्य देशमा सकारात्मक परिवर्ततन ल्याउने, निरंकुशन्त्र ढाल्ने लोकतन्त्र ल्याउने थियो । प्रधानमन्त्री हुने कल्पना पनि थिएन । त्यसक्रममा गिरफ्तार हुने, जेल जाने भयो । जेलमा भएका बेला अहिले मार्छ कि, अहिले मर्छु कि भरे मर्छु जस्तो बेलामा प्रधानमन्त्री हुने सपना देखेको थिइनँ ।

केपी ओलीलाई जन्मदिनको शुभकामना दिन गृहमन्त्री बालकृष्ण खाणदेखि शुभचिन्तकहरुको भीड बालकोटमा बिहानैदेखि लागिरहेका बेला ९३ वर्षीय पिता मोहनप्रसाद पनि बालकोटमै थिए । उनी आगन्तुकहरूसँग ओलीको बाल्यकाल र संघर्षका दिनहरू सुनाएर गफिँदै थिए ।

आज फागुन ११ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन हो । आजबाट उनी ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् । संयोग नै मान्नुपर्छ ठीक एक वर्षअघि आजकै दिन सर्वोच्च अदालतले उनले गरेको संसद विघटनलाई असंवैधानिक भनेर पुनःस्थापना गरेको थियो । एक वर्षपछि जन्मदिन मनाउँदै गर्दा उनी एकपटक पुनः राष्ट्रिय राजनीतिको मियो बन्दैछन् ।

केपी ओलीलाई जन्मदिनको शुभकामना दिन गृहमन्त्री बालकृष्ण खाणदेखि शुभचिन्तकहरुको भीड बालकोटमा बिहानैदेखि लागिरहेका बेला ९३ वर्षीय पिता मोहनप्रसाद पनि बालकोटमै थिए । उनी आगन्तुकहरूसँग ओलीको बाल्यकाल र संघर्षका दिनहरू सुनाएर गफिँदै थिए ।

तेह्रथुमबाट झापा झर्दाका दुःख, झापामा पुगेर दुई छाक टार्न गर्नुपरेका संघर्ष सुनाउने क्रममा उनी केपी ओलीको सबैभन्दा कठिन समयमा फर्किए । झापा क्रान्तिका एक योद्धा केपी ओली रौतहटबाट पक्राउ परेपछि २०२९ सालतिर गोलघरमा राखिएको थियो । गोलघर भनेको सबैभन्दा खतरनाक कैदीलाई राख्ने ठाउँ मानिन्थ्यो ।

छोरो जेल परेको जानकारी पाएपछि मोहनप्रसाद झापाबाट एक हल गोरु ५ सयमा बेचेर काठमाडौं आए पनि नभेटी फर्कनुपरेको कथा यसरी सुनाए ।

पछि यो पक्राउ पर्‍यो भने । मधेस गाको थियो, उतै समातिएछ । सेन्टर जेलमा हालेको छ भने । म तलबाट (झापा) एक हल गोरु ५ सयमा यत्रा जुरो भएका माले गोरु बेचेर ५ सय बोकेर आएँ । त्यो बेला ५ सय भनेको धेरै ठूलो पैसा हो । काठमाडौं आइपुगेपछि लौ तपाईंलाई भेट गर्न दिँदैनन्, यहाँ बाउआमा छैनन् भनेको छ, तपाईंले भेट्नुभयो भने झन् साह्रो हुन्छ भने । भेट्न पनि पाइनँ । ल्याएको पैसा पनि सकिए आउँदा जाँदा । केरा बेच्न ल्याउने गोरुगाडामा काठमाडौं आएको थिएँ । त्यसबेला गाडी चल्दैन थिए । त्यसरी आउँदा पनि भेट गर्न दिएनन् । यसले धेरै दुःख पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर