पूर्वमन्त्री दिपक खड्काको नेतृत्वमा स्काउटमा आक्रमण र लुटपाट (तस्बिर र भिडिओसहित) – Nepal Press

पूर्वमन्त्री दिपक खड्काको नेतृत्वमा स्काउटमा आक्रमण र लुटपाट (तस्बिर र भिडिओसहित)

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको नेतृत्व र निर्देशनमा नेपाल स्काउटको लैनचौरस्थित प्रधान कार्यालयमा तोडफोड र लुटपाट भएको छ ।

नेपाल स्काउटको जग्गा भाडामा लिएर बसेको खड्का ल्याण्ड डेपलभमेट प्रालि सञ्चालकको समूहले स्काउटको कार्यालयमा लगातार दुई दिन आक्रमण गरेर केही सामान लुटपाट समेत गरेका छन् ।

खड्काल्याण्ड प्रालि संखुवासभाका पूर्व सांसद तथा कांग्रेस नेता दिपक खड्काको कम्पनी हो । उक्त कम्पनीले स्काउटको जग्गा जबर्जस्ति कब्जा गरेर अवैध संरचना निर्माण गर्न थालेपछि त्यसलाई रोक्न खोज्दा कर्मचारीमाथि आक्रमण भएको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

नेपाल स्काउटको जग्गा तथा सटर भाडामा लिएकार सो प्रालिले साढे ३ करोड रुपैयाभन्दा बढी भाडा रकम नतिरेको समेत स्काउटले जनाएको छ ।

भाडा नतिर्ने र उल्टो स्काउटको पार्किङ एरियामा संरचना बनाएर भाडा लगाउन थालेको बताइएको छ । खड्काल्याण्ड प्रालिले स्काउटका सटर तथा भवनहरु मासिक लाखौं रुपैया भाडामा लगाएर स्काउटलाई पैसा दिएको छैन ।

सोमबार साँझ खड्काकै नेतृत्वमा बाहुवलीहरुको समूह गएर स्काउटका कर्मचारीलाई आक्रमण गरेको भिडियो खिच्दा केही व्यक्तिले रोकेका थिए । मंगलबार दिउँसो खाजा खाने समयमा २५ जना अपरिचित व्यक्तिहरु छिरेर कार्यालयको प्रिन्टर, कम्युटर, नेम प्लेट लगायतका सामानहरु तोडफोड गरी एक थान ल्यापटप चोरेको कार्यालयमा रहेको सीसीटिभीमा देखिएको छ ।

स्काउटको जग्गा कब्जा गरेको खड्काल्याण्ड डेपलभमेट प्रालिका सञ्चालक दिपक खड्कासँग सोमबार भाडाको विषयमा विवाद भएको थियो । सोही विवादको कारण मंगलबार कार्यालयमा गुन्डा ल्याएर सांघातिक आक्रमण गरेको नेपाल स्काउटको कार्यालय प्रमुख रामप्रसाद भट्टराईले बताए ।

उनले नेपालप्रेससँग भने, ‘स्टाफ खाजा खान गएको बेला यहाँ छिरेर तोडफोड गर्ने काम भएको छ । हिजो हाम्रो भाडामा बस्ने खड्काल्याण्ड डेपलभमेन्ट प्रालिका सञ्चालक खड्कासँग सामान्य विवाद भएको थियो । आज यही भाडाको विषयमा हामीमाथि आक्रमण भएको हो ।’

उनले दिउँसो आफू कार्यालयमा नभएकाले आक्रमणबाट जोगिएको बताए । प्रालिले स्काउटसँग भएको सम्झौता विपरित जग्गा कब्जा गर्ने र अरु संरचनाहरु अवैधानिक रुपमा बनाएको छ । स्काउटले यसअघि पटकपटक अवैधानिक संरचना हटाउन आग्रह गरेको थियो ।

सोमबार पनि अबैध संरचना हटाउने विषयमा छलफल गर्न जाँदा स्टाफमाथि आक्रमण गर्ने प्रयास भएको थियो । आक्रमणको प्रयास गरेपछि प्रहरीले विवाद मिलाएको थियो ।

कार्यालय प्रमुख भट्टराईले आज भएको आक्रमण सबै सीसीटीभीमा कैद भएको बताए । हिजो विवादमा संलग्न भएकै व्यक्तिहरुकै सहभागीतामा अरु पनि व्यक्तिहरु आएर तोडफोड गरेको उनले बताए ।

उनले भने, ‘एकदमै अराजक ढंगबाट सार्वजनिक संस्थाको राष्ट्रिय प्रधान कार्यालयमा आक्रमण भएको छ यो एकदमै निन्दनिय कार्य हो ।’
प्रहरीलाई उजुरी गर्ने तयारी भइरहेकाले अब कानुनी हिसाबले अगाडि बढ्ने उनले बताए । यसको सबै योजनाकार खड्का ल्याण्डडेभलभमेन्ट प्रालि रहेको उनले दाबी गरे ।

भट्टराई भन्छन्, ‘यहाँ भाडामा बसेर सार्वजनिक सम्पति कब्जा गरेर भाडा नदिइकन वर्षौंदेखि करोडौं पैसा नदिई यसरी गुन्डा परिचालन गरेर कर्मचारीहरुको मनोबल गिराउने काम भएको छ । यसविरुद्धमा कानुनी उपचारमा जान्छौं । ’ यो जग्गा सम्बन्धी विवाद लामो समयदेखिको विवाद हो ।

भट्टराईले जग्गा स्काउटको भएपनि सधै खड्का प्रालिबाट पीडित भएको गुनासो गरे ।

खड्काल्याण्डले सम्झौता भन्दा विपरित स्काउटको ७ रोपनी पार्किङको जग्गा उल्टै कब्जा जमाएर बसेको छ । त्यो सँगै भवनहरु तोडफोड गर्न मोडिफाइ गर्न स्काटउटसँग सहमति लिनुपर्छ । सहमति नलिई भवनहरु तोडफोड गरेर आफनो अनुकुलको प्रयोग गर्दै आइरहेको छ ।

भट्टराईले भने, ‘पार्किङको खाली जग्गा उहाँहरुलाई दिएको होइन । त्यो नदिएको जग्गामा पनि संरचना बनाएको छ । हामीले नबनाउनुस भनेर आग्रह गर्दा यो विवाद उत्पन्न भएको हो ।’


प्रतिक्रिया

2 thoughts on “पूर्वमन्त्री दिपक खड्काको नेतृत्वमा स्काउटमा आक्रमण र लुटपाट (तस्बिर र भिडिओसहित)

  1. काँग्रेसी गुण्डाहरूकाे दादागिरी । त्याहाबाट काँग्रेस हटाउनुपर्छ । त्यसकाे लागि देशबाटै काँग्रेस निमिट्यान्न पार्नुपर्छ । काँग्रेस निमिट्यान्न पार्नुपूर्व उसकाे पुच्छर माओवादी र एसलाई निमिट्यान्न पार्नुपर्छ । त्यसकाे लागि सबैले एमालेलाई साथ दिउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर