सीडीओ परियारको पहिलो निर्णय- जिल्ला छाड्दा कार्यालय प्रमुखले अनिवार्य अनुमति लिनू – Nepal Press

सीडीओ परियारको पहिलो निर्णय- जिल्ला छाड्दा कार्यालय प्रमुखले अनिवार्य अनुमति लिनू

काठमाडौं । भर्खरै मात्र जिम्मेवारी सम्हालेकी हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वाय रूपमा अनुमति लिनुपर्ने निर्णय गरेकी छन् ।

सोमबार मात्र हुम्ला पुगेर कार्यभार सम्हालेकी प्रजिअ परियारले जिल्लामा उपलब्ध कार्यालय प्रमुखसँग छलफल गरेलगत्तै कार्यालय प्रमुख धेरै जनाले जिल्ला छाड्दा आफूखुसी जाने र गयलसमेत देखिएपछि उनले पहिलो निर्णयका रुपमा यस्तो निर्णय गरेकी हुन् ।

हुम्लामा सरुवा भएर जिल्ला पुगेको पहिलो दिन नै कार्यालय प्रमुखसँगको छलफलका क्रममा प्रजिअ परियारले लिखित रूपमा कार्यालय प्रमुखले जिल्ला छाड्दा अनिवार्य रूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्णय गरेके जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी परियारले नेपाल प्रेससँग बताईन् । जिल्लास्थित अधिकांश कार्यालय प्रमुख मनलाग्दी विदा बस्ने गरेकाले यसलाई नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र र सबै कार्यालयले अनिवार्य रूपमा त्रैमासिक रूपमा तयार गरिएका गतिविधि एक साता भित्र जिल्ला प्रशासन कार्यालयमा पेश गर्न प्रजिअ परियारले निर्देशन दिएकी छन् ।

सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्य रूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्न पनि उनले निर्देशन दिएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *