लगातार जित्दै नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने


काठमाडौं । नेपालले आसन्न टी-२० विश्वकपमा स्थान बनाउन यूएईलाई हराउनुपर्ने भएको छ ।
ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।
अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टाेली विश्वकपका लागि छनाेट हुनेछन् ।
पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको हो ।
नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो ।
क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो । सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र अविनाश बोहराले समान २र२ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।
३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । पछिल्लोक्रमका डिलियन हेलिगरले दुई छक्का प्रहार गरेका थिए । क्यानडाले १० औँ विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।
सन्दीपले चार ओभरमा १२ रन खर्चिए । उनले व्यक्तिगत पहिलो ओभरमा ८ रन दिएका थिए । कमलले ३ ओभरमा १६ रन दिए । अविनाशले ३ ओभरमा ७ रन मात्र दिए ।
नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। अविजित रहँदै नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । नेपालले यूएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ ।
यसअघि नेपालले एकपटक मात्र टीऔ२० विश्वकप खेलेको छ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।