गठबन्धनमा हलचल : देउवा र प्रचण्ड अलग-अलग तयारीमा – Nepal Press

गठबन्धनमा हलचल : देउवा र प्रचण्ड अलग-अलग तयारीमा

काठमाडौं । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसका वर्तमान र पूर्व महामन्त्रीद्वयले आज एउटै आशयका अभिव्यक्ति दिए, जसको अन्तर्य केलाउँदा अब सत्ता गठवन्धन टिकिराख्ने सम्भावनाको अन्त्य भइसकेको बुझिन्छ ।

हालका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले संसद बैठकपछि दिएका अभिव्यक्तिको निचोड हो- अब गठबन्धन अघि बढ्दैन र बढाउन मेहनत पनि गरिदैन ।

‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिँड्न तयार भएर गठबन्धन बनेको हो,’ थापाको भनाइ छ, ‘अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन ।’

त्यस्तै पूर्वमहामन्त्री कोइरालाले भनेका छन्, ‘एमसीसी पारित गर्ने हो भन्ने सत्ता गठवन्धन टुट्ने सम्भावना मैले देखेको छु । प्रधानमन्त्रीजीसँग दुईवटा उपाय छन् । कि एमसीसी पारित गर्ने कि त सत्ता गठबन्धन जोगाउने ।’

साझेदारलाई एमसीसीकै पक्षमा ल्याउन नसकिए पनि टेबुल गर्न सहमत गराएर गठबन्धन जोगाउन लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी संसदीय दलको पछिल्लो निर्णयबाट निकै विचलित भइसकेका छन् ।

एमसीसी जबरजस्ती टेबुल गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णयपछि गठबन्धन निरन्तरताको आश देउवाले मारिसकेका छन् ।

माओवादीले पनि मार्‍यो आश

कांग्रेस मात्रै होइन, गठबन्धनको अर्को प्रमुख साझेरदार माओवादीले पनि आशा मारिसकेको छ । आफूहरु एमसीसीको पक्षमा जानै नसक्ने र देउवा त्यसलाई अघि नबढाइ नछाड्ने भएकाले गठबन्धन रहने सम्भावना सकिएको माओवादी नेताहरुको बुझाइ छ ।

केन्द्रीय सदस्य युवराज दुलाल अब एमसीसी रोकिन वा गठबन्धन टुट्ने बाहेका अर्को विकल्प नभएको बताउँछन् ।

‘कि एमसीसी रोकिन्छ, कि गठबन्धन तोडिन्छ,’ उनको भनाइ छ, ‘दुईटामध्ये एक हुन्छ । त्यसो भयो भने सबै आआफ्नो बाटोतिर लाग्ने हुन्छ ।’

प्रचण्डले पनि प्रष्ट शब्दमा आफुहरु बाबुराम भट्टराईका कारण नैतिकरुपमा फँसेको भन्दै विपक्षमा भोट हाल्ने बताएका छन् । बिहीबार आफूलाई भेट्न आएका कलाकार राजेशपायल राईंसँग उनले बाबुरामले आफूहरुलाई थाहै नदिइ सम्झौता गरेको आरोप लगाएका थिए ।

‘सुरुमा दस्तावेज राम्रोसँग अध्यन नगरी हस्ताक्षर गरियो,’ प्रचण्डले भनेका छन्, ‘यसका साइडइफेक्ट के हुनसक्छन् भन्ने कुरामा छलफल नै नगरिकन त्यति बेलाको सरकार र मन्त्रीले स्याट्ट हस्ताक्षर गरेका थिए । नैतिकरुपले त हामी पनि फँसेका छौं । किनभने बाबुराम प्रधानमन्त्री भएको त हाम्रो पार्टीबाट हो । उनले हामीसँग छलफल नगरिकन गरे । तर, मैले पार्टीको अध्यक्षको नाताले नैतिकरुपले त जिम्मेवारी लिनुपर्‍यो ।’

उहिले विरोध गर्नुका कारण बताउँदै प्रचण्डले भनेका छन्, ‘तर, अहिले हामी कुन ग्राउन्डमा विरोध गरिरहेका छौं भन्दा पहिले सहमति हुँदा यो संसदमा लगेर अनुमोदन गर्ने कुरा थिएन । दुईवटा सरकारबीच सम्झौता भयो, कार्यान्वयन गर्ने भन्ने थियो । यस्ता सयौं आर्थिक सम्झौता गरिन्छ ।’

उनले थपे, ‘तर, पछि केपी ओली नेतृत्वमा सरकार बनेका बेलामा केपी ओली र युवराज खतिवडाले मुख्यरुपमा प्रदीप ज्ञवालीलाई वासिङ्टन पठाएर संसदमा लैजानुपर्ने सहमति गरे । त्यहाँबाट विवाद सुरु भयो ।’

‘पक्ष र विपक्षमा भोट हुन्छ, बहुमतले जे भन्छ, त्यही हुन्छ,’ प्रचण्डको भनाइ छ, ‘कुरा मिलेन भने हाम्रो मत चाहिँ विपक्षमा हुन्छ । कुरा मिल्ने भनेको फेरि रोक्नका लागि मात्रै हो ।’

सकियो मध्यमार्गी विकल्प

गठबन्धन जोगाउने भन्दै यसअघि प्रचण्डले कथित मध्यमार्गी विकल्प देउवासँग प्रस्ताव गरेका थिए । चुनावपछि निर्णय गर्छौं भनेर अमेरिकालाई प्रतिपक्षसहितले आग्रह गर्ने र नयाँ जनमतसहित आएको सरकारले निर्णय गरोस् भन्ने प्रचण्डको प्रस्ताव थियो ।

बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित भएको त्रिपक्षीय बैठकमा राखेको उक्त प्रस्ताव पनि अहिले सफल हुन सकेन । ओलीले बैठकमै त्यसलाई अस्वीकार गरेका थिए भने देउवाले आफूलाई अहिल्यै एमसीसी पास गर्न दवाव आइरहेको भन्दै त्यसमा जान नसकिने बताएका थिए ।

दुलाल एमसीसी रोक्न प्रचण्डले त्यस्तो प्रस्ताव गरेको भए पनि राजनीतिक कोर्ष अब त्यो बाटोमा जाने सम्भावनामा खासै विश्वस्त छैनन् ।

‘म्याद थप माग्ने, छलफल गर्ने, चु्नावपछि लाने, संशोधनका लागि अनुरोध गर्न भन्ने र राजनीतिक दलहरुबीच सहमतिका लागि कोशिष गर्ने भन्ने तर्क गरेर एमसीसी रोक्ने एउटा विकल्प उहाँले पेस गर्नु भएको हो,’ उनी भन्छन्, ‘स्थिति त्यता जाने देखिएन । जबरजस्ती गर्ने हो भने माओवादी लगायत एमसीसी विरोधीले सरकार छोड्ने हुन्छ ।’

आ–आफ्नै तयारी

एमसीसीकै कारण गठवन्धन लगभग टुट्ने निश्चयमा पुगेपछि दुवै पक्षले आ–आफ्नो तयारी थालेका छन् । बिहीबारको बालुवाटार छलफल सकारात्मक नभएपछि देउवा प्रमुख प्रतिक्षी नेता ओलीलाई भेट्न पत्नी आरजु राणासहित बालकोट पुगेका थिए ।

बिहानै नेता मीनेन्द्र रिजाललाई ओली निवास बालकोट पठाएर र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई फोन गर्न लगाएर वातावरण तयार पारेपछि गठबन्धनमा जानकारी दिएर देउवा बालुवाटार पुगेका थिए । देउवा–ओली भेटको विस्तृत विवरण त बाहिर सार्वजनिक भएको छैन । भेटमा ओलीले सहकार्यका लागि गठबन्धन टुट्नुपर्ने पूर्व शर्तअघि सारेको बताइएको छ । छलफललाई थप घनिभूतरुपमा अघि बढाउने वाचासहित देउवा बालकोटबाट फर्किएका थिए ।

शुक्रबार नै एमसीसी संसदमा टेबुल गरेर गठबन्धन ब्रेकको सुरुवात पनि आफैं गर्ने सुरसारमा रहेका देउवा थप दुई दिन रोकिएका छन् । खासगरि सत्ता सहयात्री एकीकृत समाजवादीले हिजो साँझ र आज बिहानको बैठकमा आफूहरुको स्थायी समिति बैठक शनिबार रहेको र त्यतिन्जेलसम्म कुरिदिन आग्रह गरेको थियो । उक्त आग्रहपछि देउवा आइतबारसम्म कुर्न तयार भएका छन् ।

‘गठबन्धनका दलहरुले समय मागेकोले फेरी ८ गतेसम्म लम्बिएको छ,’ कांग्रेस महामन्त्री थापा भन्छन्, ‘अब ८ गतेसम्म निकास दिनेगरी छलफल गर्छौं ।’

यी दुई दिनमा देउवा र ओलीबीचको संवादले परिपक्वता पाउने र सत्ता साझेदारीको ठोस ‘फ्रेम’ समेत बनिसक्ने विश्वास कांग्रेस नेताहरुको छ ।

गठबन्धन टिक्ने सम्भावना सकिएपछि उता प्रचण्डले पनि आफ्नै तयारी अघि बढाएका छन् । विशेषगरी गठबन्धनमा रहेका एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई संगै लिएर गठबन्धनबाट बाहिरिने योजना प्रचण्डको छ ।

त्यही योजनाअनुसार शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा उनी, माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठबीच भावी रणनीतिबारे छलफल भएको थियो ।

स्रोतका अनुसार कांग्रेस नेताहरु चुनावमा गठबन्धन गर्न नकारात्मक रहेकाले गठवन्धनमै रहे पनि खासै फाइदा नरहेकाले एमसीसी विरोधी मोर्चा बनाएर सँगै आन्दोलनमा जाने र सँगै चुनावमा जानुपर्ने प्रस्ताव प्रचण्डले गरेका थिए ।

यसमा सबै सकारात्मक भए पनि अहिले नै अन्तिम निष्कर्ष बनिनसेको स्रोतले बतायो । गठबन्धनबाट बाध्यात्मक बर्हिगमन गर्नु परेमा त्यो विकल्प उचित हुने आजको छलफलमा नेताहरुले प्रचण्डलाई बताएका थिए ।


प्रतिक्रिया

One thought on “गठबन्धनमा हलचल : देउवा र प्रचण्ड अलग-अलग तयारीमा

  1. प्रचण्डकाे एमसिसिकाे विराेध त्यसकाे विषयवस्तुमा हाे कि लागू गर्ने प्रक्रियामा ? सरकारले सिधै लागू गरेकाे भए चाहिँ उनीहरूले भनेजस्ताे राष्ट्रघाती भए पनि ठिक हुन्थ्याे ? अरू कुरामा जस्तै यसमा पनि प्रचण्डकाे चटके पारा देखियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर