आजको संसदमा एमसीसी टेबल होला ? – Nepal Press

आजको संसदमा एमसीसी टेबल होला ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा एमसीसी टेबल हुने कि नहुने भन्ने अन्योल छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसीको विषय राखिएको छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने उल्लेख छ । तर बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताएका छन्।

बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय हुनेछ । संसद बैठक बस्नुअघि आज फेरि सत्तागठबन्धनको बैठक बस्दैछ ।

हिजो बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक राखिएको हाे । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना भने न्यून छ । आजको बैठक १० बजे बालुवाटारमा डाकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता छिटोभन्दा छिटो संसदबाट अनुमोन गराउन चाहे पनि सत्तारुढ माओवादी केन्द्र, नेकपा एस र जसपाले सहमति दिएका छैनन् । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ ।

यद्यपि, नेकपा एसका अध्यक्ष माधव नेपाललाई एमसीसीमा सहमति दिएरै भए पनि गठबन्धन जोगाउन निकटका नेताहरुले दबाब दिएका छन् । र जसपाभित्र पनि एमसीसीबारे नेताहरुको एकमत छैन ।

हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर