पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर – Nepal Press

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयले गृहमन्त्री स्तरीय निर्णय गर्दै दुई सहसचिव र पाँच उपसचिवसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

धनकुटा, नुवाकोट, रुकुम पूर्व, हुम्ला, तथा जाजरकोटका प्रमुख जिल्ला अधिकारी तथा भक्तपुर र बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीसँगै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख पनि हेरफेर गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव नारायणप्रसाद रिसाललाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । रिसालको केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री स्तरीय निर्णयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय सरुवा भएको थियो ।

यस्तै गृह मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सहसचिव युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । कट्टेल भर्खरै मात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । उपसचिव हुँदा कट्टेल गृह मन्त्रालय मातहत रहेर काम गर्दै आएका थिए ।

रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव कृष्ण खड्कालाई दिइएको छ भने जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव रामबहादुर शाहीलाई दिइएको छ ।

यस्तै भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकी उपसचिव सीता परियारलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा सरुवा भएको छ ।

यस्तै रिक्त रहेको भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा भने बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको सरुवा भएको छ । यस्तै रिक्त रहेको बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको सरुवा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *