गठबन्धनको ‘निर्णायक बैठक’ मा एमसीसी बोक्ने र रोक्नेको यस्तो छ तयारी – Nepal Press

गठबन्धनको ‘निर्णायक बैठक’ मा एमसीसी बोक्ने र रोक्नेको यस्तो छ तयारी

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनमा पेचिलो बन्दै गइरहेको एमसीसीबारे छलफल गर्न बोलाइएको बैठकलाई निर्णायक बैठकका रूपमा बुझिएको छ ।

दिउँसो ३ बजे बस्न लागेको बैठकमा नेपाली कांग्रेसले एमसीसी टेबल गर्न सत्ता घटकका अन्य दलहरूलाई आग्रह गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने गरी तयारी गरेको छ र त्यसमा आजको बैठकमा सहमति जुटाउने प्रयास हुने कांग्रेस प्रवक्ता प्रकाश शरण महतले बताए ।

‘भोलि एमसीसी अगाडि बढ्नु पर्छ भन्ने हाम्रो मान्यता छ । भोलि बाट फेरी त्यो सार्ने कुरा हुँदैन ’ उनले भने ‘उहाँहरूको अन्तिम कुरा सुन्न आज बैठक आह्वान गरिएको हो । ’

महतले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी टेबल गर्ने नदिने भन्ने कुरा गलत रहेको बताए । ‘माओवादी र एकीकृत समाजवादीले आज पनि एमसीसी स्विकार नगरे के हुन्छ ’ नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘उहाँहरूले स्विकार गरे पनि नगरे पनि केही हुँदैन । उहाँहरूले नै अगाडी बढाउँछौ भन्नु भएको । त्यो टेबल हुनुपर्छ । छलफल हुनु पर्छ ।त्यो टुङ्गो लाग्नु पर्छ । ’

अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि काँग्रेसले त्यसलाई अघि बढाउने निर्णय समेत गरिसकेको छ । नेपालको अन्तरदेशीय प्रसारण लाइन र राजमार्ग निर्माणका लागि ५५ करोड अमेरिकी डलर बराबरको सहायता अमेरिकाले दिने गरी सम्झौता भएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी अध्यक्ष पुष्प कमल दाहालसँगको छलफल पछि आजको लागि गठबन्धनको बैठक बोलाएका थिए ।

कांग्रेस प्रवक्ता महतका अनुसार आज एमसीसी पारित गराउन सत्तारुढ घटकका अन्य दलहरूलाई मनाउन अन्तिम प्रयास हुनेछ । अन्य दलहरूले असहमति जनाए पनि कांग्रेसले एमसीसी टेबल गरेरै छोड्ने तयारी गरेको छ । सभामुखले एमसीसी रोकेर राख्न नमिल्ने महत बताउँछन् ।

‘उहाँहरूले स्वीकार गर्ने वा नगर्ने त्यो उहाँहरूको कुरा हो उहाँहरूको विश्वसनीयताको कुरा हो ’ महतले भने, ‘हामी यो कुरामा स्पष्ट छौँ । एमसीसी टेबल हुनुपर्छ भोलि नै हुनुपर्छ । भोलिलाई पर्सि लैजाने कुरा स्वीकार्य छैन ।’

यस्तो छ रोक्ने रणनीति

नेपाली कांग्रेसले भोलि नै एमसीसी टेबल गर्ने गरी छलफल सुरु गरे त्यो मान्य नहुने एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रले बताएका छन् । उनीहरु दुवै दलले अहिलेको अवस्थामा एमसीसी टेबल गर्न नसकिने बताउँदै आइरहेका छन्।

आजको बैठकमा एमसीसीमा संशोधन आवश्यक रहेको हुँदा तत्काल टेबल गर्न नसकिने अडान लिइने एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए ।

‘यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन ’ उनले नेपाल प्रेसलाई भने, ‘आजको बैठकमा पनि हामी यही कुरा स्पष्ट रूपमा राक्छौँ । ’
कांग्रेसले भोलि एमसीसी टेबल गर्ने तयारी गरिरहेको भएपनि हमालले भने भोलि टेबल नहुने दाबी गरेका छन् । ‘उहाँहरूले पटक पटक डेटहरू राख्नु भएको छ । सहमतिमा त्यो डेट पछाडि पनि सर्दै गइरहेको हुन्छ ’ उनले भने, ‘आज त्यो बारे पनि कुरा होला । हामी सहमतिको लागि प्रयत्न गर्छौ ।’

अहिले सम्म एकीकृत समाजवादी दलको बैठकले यस विषयमा कुनै निर्णय गरेको छैन । तर, केही समय भित्रै स्थायी कमिटिको बैठक आह्वान गरेर यस विषयमा निर्णय गरिने हमालले जानकारी दिए ।

यता माओवादी केन्द्रले पनि आजको बैठकमा एमसीसी पारित गर्न नसकिने अडान राख्ने तयारी गरेको छ । माओवादी केन्द्रले बुधबारनै दलको बैठकबाट एमसीसी टेबल गरे सरकारबाट फिर्ता हुने समेत निर्णय गरिसकेको छ ।

आजको बैठकमा पनि त्यही अडान राख्ने माओवादी नेता लिलामणी पोख्रेलले बताए । ‘संशोधन विना कुनै पनि हालतमा एमसीसी टेबल हुँदैन ’ उनले भने, ‘हामी आजको बैठकमा पनि हामी त्यही त्यही कुरामा जोड दिन्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर