विदेशी र नेपाली नागरिकबीच भएको विवाह अब सिधै स्थानीय तहमा दर्ता हुने
कुटनीतिक नियोगबाट भने प्रमाणीकरण गर्नुपर्ने


काठमाडौं । विदेशी र नेपाली नागरिकबीच भएको विवाह अब सिधै स्थानीय तहमा दर्ता गर्न मिल्ने भएको छ । यसअघि विदेशी र नेपाली नागरिकबीच विवाह गर्दा जिल्ला अदालतमा विवाह दर्ता गरेर मात्र स्थानीय तहमा दर्ता गर्न मिल्ने व्यवस्था रहेकोको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ लाई संशोधन गर्दै सरकारले यस अघिको व्यवस्था परिमार्जन गरेको हो । तर त्यसका लागि कूटनीतिक नियोगबाट भने प्रमाणीकरण गर्नुपर्ने छ ।
नियमावलीको नियम १६ को उपनियम ६ संशोधन गर्दै यस अघिको व्यवस्था परिवर्तन गरेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक ललित बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।
‘विदेशी र नेपाली नागरिकबीच विदेशमा भएको विवाह दर्ता गर्नु परेमा विवाह भएको मुलुकको प्रचलित कानून बमोजिम भएको दर्ता प्रमाणपत्र र कन्सुलर सेवा विभाग वा नेपालस्थित सम्बन्धित मुलुकको कुटनीतिक नियोग वा सम्बन्धित मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाट भएको प्रमाणीकरणसहित नियम बमोजिम सूचना दिनुपर्नेछ ।’ संशोधित नियमावलीमा भनिएको छ ।
नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको एकिन हुने प्रमाण मात्र राखे पनि स्थानीय तहमा विवाह दर्ता हुनेछ । यसरी सूचना दिइएको सम्बन्धित स्थानीय पञ्जीकाधिकारीले विवाह भएको एकिन गरी विवाह दर्ता गरिदिन सक्नेछ । यसबाट भारतीय नागरिकसँग नेपालीले विवाह गरेमा उतै विवाह गरेको प्रमाणित भए स्थानीय तहमा दर्ता गर्नसक्नेछ ।