विवादमा मन्त्री आले, सचिवालयले भन्यो- पुरानो भिडिओ तोडमोड गरेर बदनाम गर्न खोजियो


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विवादमा परेका छन् । एक सर्वसाधारणलाई अपशब्दसहित गाली गरेको भिडियो भाइरल भएपछि उनी विवादमा आएका हुन् ।
सामाजिक सञ्जालमा आलाेचना भएपछि आलेकाे सचिवालयले प्रष्टीकरणा दिएकाे छ । मन्त्री आलेलाई तथ्यहीन आरोप लगाएर बदनाम गर्न खोजिएको सचिवालयकाे भनाइ छ ।
मन्त्रीका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले विज्ञप्ति निकालेर मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका छन् ।
नेपालबाहिर बस्दै आएका एक व्यक्तिले पुरानो र अप्रासंगिक भिडिओ तोडमोड गरेर सार्वजनिक गरेको सचिवालयको जिकिर छ । पछिल्लो समय मन्त्री आलेविरुद्ध निरन्तर गालीगलौजसहितका स्टाटस लेख्ने, पैसा माग्नेजस्ता काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको सचिवालयले भनेको छ ।