विभिन्न जिल्लाका पाँच स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा (सूचीसहित)


काठमाडौं । सरकारले विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह र प्रदेश एकको एक स्थानीय तह गरेर पाँच स्थानीय तहलाई २०७९ वैशाख मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा डोटीको शिखर गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
विपद् जोखिन न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै सरकारले पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
बाढी, पहिरोलगायतका विपद्बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । ती स्थानीय तहमा पुगेको क्षतीको पुनस्निर्माण तथा पुनस्स्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने उनले बताए ।
सरकारले यस अघि मुलुकभरमा विभिन्न १० जिल्लाका ३३ स्थानीय तहलाई माघ मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसअघि सिन्धुपाल्चोक, मनाङ र बागलुङलाई यस अघि २०७८ असोज मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।