सन्दीपले आज विकेटको ‘अर्धसतक’ पूरा गर्न सक्ने


काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समयअनुसार पौने ४ बजे सुरू हुने खेलमा कम्तीमा एक विकेट लिन सके सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटको अर्धसतक पूरा गर्नेछन् । नेपाली टोलीका कप्तान समेत रहेका सन्दीपले जारी शृंखलाअन्तर्गत अघिल्ला दुवै खेलमा १/१ विकेट लिएका थिए ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि कुनैपनि बलरले ५० विकेट पूरा गरेका छैनन् । सन्दीपभन्दा पछाडि रहेका करन केसीको नाममा ४४ विकेट छ ।
पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । पहिलो खेलमा ओमानलाई हराएको आयरल्यान्ड दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।