सुवास नेम्वाङको शंकाः जबराविरुद्धको महाभियोग पारित गर्न होइन, चुनाव सार्न – Nepal Press

सुवास नेम्वाङको शंकाः जबराविरुद्धको महाभियोग पारित गर्न होइन, चुनाव सार्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गरेका छन् ।

नेम्वाङले भने, ‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’

संसदमा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरिकन छापामार शैलीमा ल्याइएकाले आशंका बढाएको उनले बताए ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनसँग त्यो मत छैन ।

तर, आफूहरूसँग छलफल नै नगरी ल्याइएको महाभियोग प्रस्ताव स्थानीय तहको चुनाव सार्ने षडयन्त्र हुनसक्ने एमालेको प्रारम्भिक आँकलन छ ।

सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । तर, सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बेखुस छन् ।

यी दुई दलले आगमी कात्तिक वा चैतमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएका थिए । ‘स्थानीय तहको निर्वाचन असंवैधानिक छ, कानुनसम्बत छैन भनेर प्रचण्ड र मावध नेपाल बोलिरहेका थिए । उनीहरूले चुनाव कात्तिक र चैतमा लैजानुपर्छ भनिरहेका थिए,’ नेम्वाङले भने, ‘यही उद्देश्य पूरा गर्न महाभियोग ल्याइएको हामीलाई आशंका छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर