‘झरनाजस्तो कलकल बग्नुपर्छ प्रेम’ – Nepal Press
सन्दर्भः प्रणय दिवस

‘झरनाजस्तो कलकल बग्नुपर्छ प्रेम’

सुविन भट्टराईसँग प्रेमका कुरा

आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस । आफ्ना प्रेमी–प्रेमिकासँग घुम्ने, डुल्ने, प्रेमालाप गर्ने दिनको रुपमा आजको दिनलाई बुझ्ने गरिन्छ । भनिन्छ, प्रेम गर्नेहरुका लागि न कुनै पर्वको आवश्यकता छ, न कुनै उत्सवकै । प्रेम गर्नेहरुले सधैं, हरेक दिन, हरेक पल प्रेम गरिरहन्छन् । तैपनि आजको दिन प्रेमी–प्रेमीकाका लागि प्रेमिल, स्वप्नील दिन हो ।

भनिन्छ, प्रेम भन्ने चिज प्रेम गर्नेहरुका लागि मात्रै भव्य होइन, लेख्ने, बोल्ने, कोर्ने, खिच्ने स्रष्टाहरुका लागि झनै ठूलो विषय हो । कतिपय स्रष्टाहरु प्रेम गर्नुभन्दा पर रहेर प्रेमकै विषयमा पेन्टिङ कोरेर, प्रेमकै विषयमा सिनेमा बनाएर पनि स्थापित भएका छन् । आख्यानकार सुविन भट्टराई पनि प्रेमका कथा लेखेरै स्थापित लेखक भए ।

भट्टराई यसरी शब्दहरु बुन्छन् कि पठकहरु यसैयसै मदहोश भइजान्छन् । उनका पुस्तकको पहिलो पाना पल्टाएका पाठक अन्तिम पाना पल्टाएपछि मात्रै किताबलाई बन्द गर्छन् । यसैकारण पनि सुविन पाठकमाझ लोकप्रिय छन् । पाठकका प्रिय छन् ।

भट्टराई लेख्न मात्रै होइन, अफूले लेखेका प्रेमकथाहरुमा जिउन पनि रुचाउँछन् । हरेक अक्षरहरुलाई प्रेमले किबोर्डमा थिच्छन् । जतिजति अक्षर थिच्दै जान्छन्, उतिउति शब्द बन्दै जान्छन् । जतिजति शब्द बन्दै जान्छन्, उतिउति ती शब्दहरु प्रेमिल बन्दै जान्छन् । साहित्यप्रति कुनै रुचि अथवा चासो नभएका पाठकका लागि पनि भट्टराई यस्ता लेखक हुन्, जसको लेखनीको आकर्षणले उनीहरु तानिँदै जान्छन् । सुविनका शब्दजालमा उनिँदै जान्छन् ।

भट्टराई यसरी शब्दहरु बुन्छन् कि पठकहरु यसैयसै मदहोश भइजान्छन् । उनका पुस्तकको पहिलो पाना पल्टाएका पाठक अन्तिम पाना पल्टाएपछि मात्रै किताबलाई बन्द गर्छन् । यसैकारण पनि सुविन पाठकमाझ लोकप्रिय छन् । पाठकका प्रिय छन् ।

अक्षरमा मात्रै नभएर वास्तविक जीवनमा पनि प्रेमिल स्वभाव छ सुविनको । ‘प्रेम’ नामक शब्दको व्याख्या जति गरे पनि थाक्दैनन् । प्रेममाथिका सवालमा उनले एकै जवाफ छ,– ‘प्रेमको जवाफ दिनु मुस्किल काम हो ।’

सुविनलाई सानैदेखि लेखनमा रुचि थियो । कलेज पढ्दाताका धेरै प्रेम पत्रहरु लेखे । कत्ति आफ्ना लागि लेखे, कत्ति अरुका लागि लेखे । प्रेम पत्रहरु लेख्दै जाँदा कथा पनि लेख्न थाले । र अन्ततः उनले लेखेका कथाहरुले पुस्तकको आकार लियो– कथाकी पात्र ।

पहिलो कथा संग्रहबाट राम्रो प्रतिक्रिया पाएका सुविनको दोस्रो पुस्तक आयो, – समर लभ । यो पुस्तक ब्लकबस्टर मात्रै भएन, यसले उनलाई सेलिब्रेटी लेखक पनि बनायो । कुनै सरकारी जागिरमा कोसिस गरिरहेका सुविन यही पुस्तकमार्फत् फुलटाइमर लेखक भए ।
लेख्दै जाँदा उनका अहिलेसम्म त उनका पाँच पुस्तक प्रकाशन भइसकेका छन्, ‘कथाकी पात्र’, ‘समभर लभ’, ‘साया’, ‘मनसुन’, ‘प्रिय सुफी’ । ‘समर लभ’माथि त फिल्म नै बन्यो ।

०००

सुविनका हरेक पुस्तक पढ्दा पाठकलाई लाग्दो हो, ‘यो पात्र चाहिँ म नै हो ।’ सुविनको शब्द बुनोट छ नै यस्तै । तर, उनले लेखेका हरेक अक्षरहरुमा उनै सुविनलाई जहीँतहीँ भेट्न सकिन्छ ।

सुविन स्वीकार्छन्– उनी प्रेमको अभिव्यक्ति दिएरभन्दा पनि कथाको तानाबाना बुनेर पाठकमाझ आफ्ना कथा पस्किन्छन् । कथा, उपन्यास मात्रै होइन, सामाजिक सञ्जालमा उनले लेख्ने गरेका स्टाटसहरु पनि पाठकका लागि उत्तिकै प्रिय बनिदिन्छन् ।

तर, चर्चाभन्दा पर अथवा लोकप्रियताभन्दा पर पाठककोे प्रेम उनीहरुको आँखामा खोज्ने बताउँदै सुविन सुनाउँछन्, ‘‘मेरो नजरमा म चर्चित पनि होइन, लोकप्रिय पनि होइन । सामाजिक सञ्जालमा आउने प्रतिक्रियाभन्दा पनि म कुनै कार्यक्रममा जाँदा पाठकहरुको आँखामा, बोलीमा जुन खालको सद्भाव, आदर प्रेम देखेको बेला चाहिँ लाग्छ, मैले साँच्चिकै पाठकको प्रेम पाएको छु । त्यसकारण पनि खसी छु ।’

लोकप्रियताको मापदण्ड के हो ? यसका सीमा र फैलावट के हो ? के भएमा अथवा कस्तो मापदण्ड पूरा गरे लोकप्रिय भइन्छ ? यस्ता विषयहरुमा अल्झँदैनन् सुविन । बरु उनको बढिजसो समय अध्ययनमै सकिन्छ । उनी आफैं स्वीकार्छन्, ‘म सुपरस्टारजस्तो चर्चित बनेर बाटोमा हिँड्दा भिड जम्मा गरिहाल्ने खालको चर्चित पनि होइन । जे होस्, पाठकहरुको माया र सद्भाव चाहिँ पाएको छु ।’

सुविनलाई पाठकले किन यत्ति धेरै माया गरे ? उनको अनुमान छ, ‘सुन्दर किताब लेखेर, पाठकलाई मन छुने लेखेर नै पाठकले यत्ति धेरै माया दिएका हुन् ।’

लोकप्रियताको मापदण्ड के हो ? यसका सीमा र फैलावट के हो ? के भएमा अथवा कस्तो मापदण्ड पूरा गरे लोकप्रिय भइन्छ ? यस्ता विषयहरुमा अल्झँदैनन् सुविन ।

उनको पुस्तक पढिसकेपछि ‘यो अनुभूति अथवा प्रेम सुविन स्वयंको त होइन ?’ भनेर प्रश्न गर्ने पाठकहरु सयौं छन् । सुविनले सयौंँपटक जवाफ पनि दिएका छन् । तैपनि यो प्रश्न सोध्ने प्रिय पाठकको संख्या अझै पनि उस्तै छ ।

सुविनलाई ‘प्रेम के हो ?’ भनेर प्रश्न गर्ने पाठकहरु पनि उत्तिकै छन् । तर, पुस्तकमा जति प्रेमबारे लेखे पनि सुविन भन्छन्, ‘प्रेम के हो भनेर परिभाषित गर्न म आफैंमा ल्याकत पुग्दैनझैं लाग्छ । प्रेमको परिभाषा आफैंमा बृहत छ ।’

तर पनि सुविनले हरेक कृतिमा प्रेम पस्किएका छन् । उनले युवा युवतीको प्रेमको कथा मात्रै नभइ अन्य विषयमा पनि कथाहरु लेखेका छन् । तर, उनको परिचय भनेको प्रेम कथा लेख्ने अब्बल लेखक नै हो । प्रिय सुफिमै पनि दिदि बहीनीबिचको प्रेम मात्रै होइन अरु सम्बन्धहरुलाई पनि समेटिएको छ ।

नयाँ पुस्तकको तयारीमा रहेका सुविन अहिले भने सामाजिक विषयवस्तुमा आधारित रहेर लेखिरहेका छन् । उनी भन्छन्, ‘समर लभ, मनसुन, सायाले सम्पूर्ण कृतिको विश्लेषण हुन सक्दैन । फरक फरक खालको प्रेम सम्बन्धहरुको आयाममा काम गरिराखेको छु र काम गरिरहने छु ।’

०००

पछिल्लो समय एउटा संस्कृति बनेको छ , भ्यालेन्टाइन डे । युवायुवतीका लागि यो पर्व नै बनेको छ । प्रेमीप्रेमीकाहरु यो दिनका लागि वर्षदिन कुरेर बस्छन् । सुविन भन्छन्, ‘प्रेम गर्नेहरुको लागि भ्यालेन्टाइन डे नै चाहिन्छ भन्ने छैन । प्रेम हरेक दिन गर्नुपर्छ । प्रेम हरेक क्षण गर्नुपर्छ । जुनसुकै बेला पनि हृदयबाट प्रेम बगिरहोस् ।’

सुविनको मान्यता छ, प्रेम एउटा सिमित दिनमा सिमित अवसरमा सिमित चाड बनाउनु, प्रेमदिवसमा मात्र चकलेट, गुलाव दिनु प्रेम होइन । प्रेम सधैभरि दिइराख्ने हुनुपर्छ । अर्कोले प्रेम गरिराखोस् वा नगरोस् तर, आफ्नो हृदयबाट प्रेम झरना जसरी बगिरहनुपर्छ । बगिसकेको झरना फर्कँदैन, अन्त्यमा सागरमा पुग्छ, प्रेम पनि त्यस्तै हुनुपर्छ । आफूबाट प्रेम बगेर जाओस् । आफूमा आउँछ र आउँदैन भन्ने लोभमा बस्नु हुँदैन ।

सुविन भन्छन्, ‘प्रेम हरेक मान्छेभित्र हुन्छ । समाजमा घुलमिल हुन, बोल्नको लागि, बाच्नको लागि प्रेम चाहिन्छ । प्रेमले मान्छेलाई जिवित राख्छ । युवयुवतिको मात्रै प्रेम होइन । यदि लाइब्रेरीबाट एउटा किताब झिकेर त्यसलाई पढेर त्यहीँ राखीन्छ भने त्यो पनि किताबलाई गरिएको प्रेम हो ।’

एकैचोटि एकभन्दा बढीसँग प्रेम सम्बन्ध सम्भव छ ?

तर्क गर्न चाहिँ सकिन्छ, यो सुविनको जवाफ हो । तर, हामी कस्तो समाजमा छौं, कस्तो परिवेश छ, कस्तो संस्कृति छ, यी सबैले सरोकार राख्ने सुविनको बुझाइ छ । तर, प्रेम र यौनबीच प्रगाढ सम्बन्ध हुन्छ भन्छन् उनी । सुविनको तर्क छ, ‘यो भनेको हार्मेनको खेल हो । प्रेम र यौनको अनुभव शरीर मा आउने हार्मोनमा केन्द्रित हुने भएकाले पनि एक आपसमा अन्तरसम्बन्धित भएको हो ।’

तर, प्रेममा यौन हुनका लागि सुविनको एउटा सर्त छ । आकर्षणमा आधरित प्रेम हो भने त्यहाँ स्वभाविक रुपमा यौन हुन्छ । तर, कतिपय प्रेम यौनभन्दा पनि धेरै माथि हुृृुन्छन् । विपरीत लिङ्गी आकर्षण होस् वा समलिङ्गी आकर्षण, यसमा पनि हर्मोनले भूमिका खेलेको हुन्छ । त्यहाँ प्रेम पनि हुन्छ । यौन पनि हुन्छ । सुविन भन्छन्, ‘मान्छे शारिरिक रुपमा बढी आकर्षित हुन्छ कि भावनात्मक रुपमा बढी आकर्षित हुन्छ, कसले कसलाई कति प्राथमिकता दिने, त्यसमा भर पर्छ ।’

तर, केटा र केटीमा हुने प्रेममा धेरै अन्तर हुने बताउँछन् सुविन । केटाले गर्ने र केटीले गर्ने प्रेमको धारणा फरक हुन्छ तर, पनि प्रेम दुवैले बराबर नै गर्नसक्ने तर्कमा विश्वस्थ छन् उनी । हामी पितृसतात्मक समाजबाट प्रभावित भएकाले पनि समाजमा यसको भूमिका रहेको उनको विश्लेषण छ ।

यौनको मामलामा महिलालाई बढी नै संकुचनमा राखिने गरिन्छ । यसमा पुरुषलाई भन्दा महिलालाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । प्रेममा र शारिरिक यौनतर्फ समाजले पुरुषलाई बढी छुट दिएको छ । प्रेम अभिव्यक्त गर्ने कुरामा पनि महिलाहरु संकुचित नै हुन्छन् । सुविन सुनाउँछन्, ‘तर अहिले समाज परिवर्तनको संघारमा छ । महिलाहरु पनि पुरुषभन्दा के कम भनेर अगाडी बढीरहेका छन् । र सधैं समाज उस्तै जमेर बसिरहँदैन, यो परिवर्तनशील छ । मलाई हेर्ने दृष्टिकोण बदलिँदै गइरहेको पनि देख्छु ।’

अन्त्यमा सुविन भन्छन्, ‘प्रेम भनेको लिनुदिनु मात्र होइन, प्रेम भनेको केही समय बिताउनु मात्र होइन, यसको जिम्मेवारी र कर्तव्य पनि हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *