विश्वभरका लिगमा ‘डिमान्डेड’ सन्दीप आईपीएलमा किन बिकेनन् ? – Nepal Press

विश्वभरका लिगमा ‘डिमान्डेड’ सन्दीप आईपीएलमा किन बिकेनन् ?

काठमाडौं । सन् २०२० सम्म सन्दीप लामिछानेको करियरमा सबै कुरा ठिकठाक चलिरहेको थियो । प्लेइङ सेटमा नियमित नपरेपनि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा उनी आबद्ध नै थिए ।

विश्वभरका अन्य व्यवसायीक लिग प्रतियोगिताहरु खेलिरहकै थिए । विग वास लिग (बिबिएल) देखि क्यारेवियन प्रिमियर लिगसम्ममा ‘फ्रेन्चाइज’ को नजर उनीमाथि थियो । गत वर्ष आइपीएलमा ‘मेगा अक्सन’ को पालो थियो । तर त्यसपटक मेगा अक्सन नभएर मिनी अक्सनमै सिमित भयो ।

दिल्ली क्यापिटल्सले तीन वर्षको आबद्धतापछि सन्दीपलाई रिलिज गर्‍यो । तर मिनी अक्सनमा उनलाई कुनैपनि फ्रेन्चाइजले लिन चाहेनन् ।

शनिबार र आइतबार सम्पन्न मेगा अक्सनमा सन्दीपलाई विक्री हुन सक्ने खेलाडीका रुपमा हेरिएको थियो । तर केवल ४० लाख भारतीय रुपैयाँ ‘बेस प्राइस’ राखिएका सन्दीपलाई कुनै पनि फ्रेन्चाइजले इच्छा देखाएनन् ।

पहिलो चरणमा विक्री नभएका सन्दीपको आईपीएल खेल्ने सम्भावना, आईतबार साँझ भएको एक्सिलेरेटेड अक्सनमा कुनैपनि टोलीले उनको नाम नलिएपछि सकिएको हो ।

पहिलो चरणमा नविकेका खेलाडीलाई खरिद गर्न चाहने टोलीलाई नाम बुझाउन फ्रेन्चाइज क्लबलाई दुईपटक अवसर दिइएको थियो । तर नाम दिएका खेलाडीलाई ती टोलीले खरिद गर्नु नै पर्छ भन्ने बाध्यता थिएन । कुनैपनि टोलीले सन्दीपको नाम लिएनन् ।

यसलाई लिएर अनेक विश्लेषण सुरु भएको छ । सन्दीपलाई आवद्ध नगरेर नेपाली क्रिकेटलाई के सन्देश दिन चाहन्छन् आईपीएल फ्रेन्चाइजहरु ? विश्वका अन्य व्यवसायिक प्रतियोगिताका नियमित प्लेइङ सेटको खेलाडीमा परिरहेका सन्दीपलाई आईपीएल फ्रेन्चाइजले किन ‘अन्डर एस्टिमेट’ गरिरहेका हुन् ? कि सन्दिप नै ‘ओभर रेटेड’ खेलाडी हुन् ?

सन्दीपलाई सन् २०१८ मा आयोजित मेगा अक्सनमा तत्कालीन दिल्ली क्यापिटल्सले २० लाख भारुको ‘बेस प्राइस’ मा लिएको थियो । उनी आइपीएलमा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला सन्दीपको नामै लिएर आइपीएल खेलेको भन्दै प्रशंसा गरेका थिए । संविधानमा मधेशको विषयलाई नसमेटिएको भन्दै भारतले नेपालमाथि लगाएको नाकाबन्दीपछि आईपीएलमा सन्दीपको आबद्धता र मोदीको उक्त अभिव्यक्तिलाई निरपेक्ष रुपमा हेर्न सकिने अवस्था थिएन ।

त्यो सिजन सन्दीपले सुरुका ११ खेलसम्म अवसर पाएनन् । दिल्ली क्यापिटल्स अगाडि नबढ्ने निश्चित भएपछि १२ औँ खेलमा दिल्लीले सन्दीपलाई ओपनिङ बलरका रुपमा उतारेको थियो । सन्दीपले तीन खेलमा ५ विकेट लिएर आईपीएलको आफ्नो पहिलो सिजनलाई स्मरणीय बनाएका थिए । पहिलो सिजन उनको बलिङ इकोनोमी ६.८३ रहेको थियो ।

आईपीएलमा हरेक तीन वर्षमा मेगा अक्सन हुन्छ । फ्रेन्चाइजले रिलिज नगर्दासम्म खेलाडीहरुले त्यही मुल्यमा तीन वर्षसम्म खेल्नुपर्छ । सैद्धान्तिकरुपमा अर्को मेगा अक्सन नहुँदासम्म । सन्दीपको हकमा पनि त्यही भयो । तर आईपीएलका लागि आबद्ध भएपछि सन्दीपका लागि विश्वका अन्य ठुला व्यवसायीक लिगका ढोकाहरु खुला भए ।

ती प्रतियोगिताहरुका प्राय खेलमा सन्दीप पहिलो रोजाई बने । आईपीएलको दोस्रो सिजन सन्दीपले दिल्लीका लागि ६ खेल खेल्दै ८ विकेट लिए । उनको बलिङ इकोनोमी ९.१३ रह्यो । सुरुमा सन्दीपमाथी विश्वास गरिए पनि पछिल्ला खेलहरुमा स्थान बनाउन छाडेका थिए । सन् २०२० को सिजन भने सन्दीपले एकै खेल पनि खेल्ने मौका पाएनन् । २२ वर्षीय यी स्पीनरका लागि त्यो सिजन दुर्भाग्यपूर्ण रह्यो । यद्यपि दोस्रो ठुलो ब्यवसायिक क्रिकेट लिग मानिने बिग बासमा भने उनले स्थान बनाइनै रहे ।

सन्दीपको तुलनामा अफगानिस्तानका लेग स्पीनर रसिद खानसँग हुने गरेको छ । एसोसिएटका सबैभन्दा अब्बल स्पीनर भनेर उनको चर्चा हुने गर्छ । रसिदलाई लिन आईपिएल फ्रेन्चाइजहरु तँछाडमछाड गर्छन् । कराेडौँको बोली लगाउँछन् ।
अफगानिस्तानकै अर्का स्पीनर मुजिब उल रहमानले पनि करोडौँको मुल्य पाइरहेका छन् । तर ४ वर्षदेखि शीर्षस्तरको व्यवसायीक क्रिकेट लिग खेलिरहेका सन्दीप ४० लाख भारतीय रुपैयाँमा पनि विक्री नहुनु स्वभाविक देखिँदैन ।

सन्दीपले १६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४१ र २६ टि-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ४९ विकेट लिएका छन् । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपको बलिङ इकोनोमी ६.६७ रहेको छ । सन्दीपले बिग बासमा ४३ खेल खेल्दै ४८ विकेट लिएका छन् । बिग बासमा उनको बलिङ इकोनोमी ७.४२ रहेको छ । बिबिएलको पछिल्लो सिजनमा पनि उनको प्रदर्शन सन्तोषजक थियो ।

हाल सन्दीप नेपाली टोलीको कप्तान हुन् । उनको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय श्रृंखला र त्यसपछि टी-२० विश्वकपको विश्वस्तरको छनोट खेल्दै छ । आइपीएललाई जवाफ दिने उनका लागि यो राम्रो मौका हुन सक्छ ।


प्रतिक्रिया

One thought on “विश्वभरका लिगमा ‘डिमान्डेड’ सन्दीप आईपीएलमा किन बिकेनन् ?

  1. भारतीयले नेपाली अगाडि बढेकाे देख्नै सक्दैन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *